Comments Add Comment

सांसदहरुलाई खबरदारी गर्न विद्यार्थीहरुले जुलश निकाल्दै

students-against-lokman-1
शुक्रबार शान्तिबाटीकामा विद्यार्थीहरुले गरेको प्रदर्शन

७ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पारित गर्न दबाव दिने उद्देश्यले विद्यार्थीहरुले संसद भवन अगाडि प्रदर्शन गर्दैछन् ।

आइतबारको संसद बैठकमा महाअभियोग प्रस्ताव पेश हुँदै गर्दा विद्यार्थीहरुले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्न लागेका हुन् ।

बिभिन्न राजनीतिक दलका सांसदहरुलाई खुट्टा नकमाउन र महाअभियोगको पक्षमा उँभिन दबाव दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

कांग्रेस, एमाले, माओवादी लगायत दल निकट १३ विद्यार्थी संघ-संगठनहरुले दिउँसो दुई बजे माइतीघर मण्डलामा भेला भएर खबरदारी जुलुश निकाल्न लागेका हुन् । जुलुश माइतीघरबाट नयाँबानेश्वरस्थित संसद भवन तर्फ अघि बढ्ने छ ।

विद्यार्थीहरुले शुक्रबार शान्तिबाटीका खबरदारी सभा पनि गरेका थिए । उनीहरुले दलका शीर्ष नेताहरुलाई भेटेर ज्ञापनपत्र पनि बुझाउँदै आएका छन् ।

आइतबार विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाइएको नेविसंघ उपाध्यक्ष डिल्लीराम सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार देउवाले जनमत बुझेर पार्टी केन्द्रीय समिति र संसदीय दलबाट संस्थागत निर्णय गर्ने बताएका छन् ।

कांग्रेसले महाअभियोगबारे निर्णय गरिनसकेपनि नेविसंघ भने लोकमानविरुद्धको प्रदर्शनमा सक्रिय सहभागी हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment