Comments Add Comment

हिन्दुधर्मबारे केही भ्रम र आदिवासी-जनजाति

नेपालमा आदिवासी-जनजाति लगायत समुदायले माग गरेको धेरै समयपछि धर्मनिरपेक्षता स्वीकार गरियो । अन्तरिम संविधान ०६३ को भाग १, धारा ४ को १ मा ‘नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी र संघीय लोकतान्त्रिक राज्य हो,’ भन्ने उल्लेख छ ।

ninam-lobatti-kulungअन्तरिम संविधान घोषणा भएदेखि नै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेपाल पुनः हिन्दु धर्म सापेक्ष र राजतन्त्रात्मक देश हुनु पर्ने भनी वकालत गर्दै आएको छ ।

विभिन्न हिन्दु धर्मालम्बीहरुको संघ-संस्था र व्यक्तिगत रुपमा केही अतिवादी हिन्दुहरुले पनि नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग चर्को रुपमा उठाएका छन् । नामै तोकेर भन्नु पर्दा विगतमा नेपाली कांग्रेसको एकमना सरकार र विभिन्न समयमा बनेको संयुक्त सरकारमा सँधै मालदार मन्त्रालय सम्हालेका, भ्रष्टाचारको आरोपमा जेल सजाय काटेका र पछिल्लोपटक भएको नेपाली कांग्रेसको महाधिवेशनमा अत्यधिक बहुमत ल्याएर केन्द्रीय सदस्य जितेका ‘प्रभावशाली नेता’ खुमबहादुर खड्का हिन्दु राज्यको पक्षमा खुलेर लविङ गरिरहेका छन् ।

खड्का पछाडि शेखर/शशांक कोइराला लगायत कांग्रेसको केन्द्रीय तहमा रहेका अन्य नेताहरु पनि नेपाललाई हिन्दु राज्य बनाउन कन्दनी कसेर लागेको देखिन्छ । यस मामलामा नेपाली कांग्रेस मात्र नभएर नेकपा एमाले र एमाओवादी केन्द्रभित्रका अनुदारवादी बाहुन-क्षेत्री नेताहरु पनि ‘तैँ चुप मै चुप’ छन् । त्यसैले त नेपालको संविधान २०७२ मा धर्मनिरपेक्ष भनी लेखिए तापनि व्याख्या थपियो ।

हिन्दु धर्मबारे फैलाइएको भ्रम

त्यसो त नेपालका हिन्दु, बौद्ध र किरातहरु धार्मिक रुपमा एकै हुन्, बौद्ध र किरात धर्म मान्नेहरु पनि हिन्दु नै हुन् र उनीहरु ॐ कार परिवारभित्रका हुन् भन्नेहरु पनि कम छैनन् । यो अनौठो तर्कलाई विस्तृतमा व्याख्या गरेको भने देखिँदैन । ॐ कार परिवार के हो ? किन एकै भनिएका ॐ कार परिवारभित्रका हिन्दु धर्मालम्बीहरुले बडा दसैं मनाउने क्रममा हिन्दुहरुको शक्ति पीठ र मठ-मन्दिरमा बली दिइने असख्ंय पशु-पंक्षीको आत्माको शान्तिका लागि त्यही समयमा बौद्धधर्मालम्बीहरु पूजा-पाठ गर्छन् ? हिन्दु धर्मालम्बीहरुले माता-पिता मान्ने गरेको गाई-गोरु किरातहरुले किन भक्षण गर्छन् ? किन हिन्दु धर्मालम्बीले जसरी बौद्ध र किरातहरुले गाईलाई माता मान्दैनन् ? किन किरात बौद्धहरुले गाईलाई हिन्दुले जसरी धनको देवी/लक्ष्मी मान्दैनन् ? यस्ता प्रश्नहरुमाथि पटक्कै चर्चा गरेको पाइँदैन । हुन त ‘सत्य तीतो’ हुन्छ ।

नेपाल धार्मिक रुपमा हिन्दु अधिराज्य हुनुपर्छ भन्नेहरुले दिने गरेको अर्को अनौठो उदाहरण भनेको, ०६८ को राष्ट्रिय जनगणनाको परिणाम पनि हो । ०६८ को जनगणनामा धार्मिक रुपमा ८१.३ प्रतिशत हिन्दुहरुको तथ्यांक आएको थियो ।

नेपालमा हिन्दु धर्मालम्बीहरुको जनसंख्या बढेको देखाउनु भनेको शंकास्पद हो

अचम्म के छ भने, नेपालका आदिवासी जनजातिको जनसंख्या ३५ प्रतिशत र इस्लाम धर्म मान्नेहरु ४.४ प्रतिशत, क्रिश्चियन धर्म १.४ प्रतिशत, प्रकृति धर्म ०.४ प्रतिशत र अन्य धर्मालम्बीहरुलाई जोड्ने हो भने नेपालमा हिन्दु धर्म मान्नेहरुको जनसंख्या लगभग ५८/५९ प्रतिशत हुनु पर्ने हो ।

उता विगत लामो समयदेखि हिन्दू धर्म मान्दै आएका दलित, मधेसी, बाहुन, क्षेत्री, ठकुरी, सन्यासी लगायत जात समूहका व्यक्तिहरु पनि लोभ-लालचमा परेर नै किन नहोस्, ठूलो संख्यामा क्रिश्चियन धर्मतर्फ लागेको प्रष्टैसँग देखिन्छ । यथार्थ यस्तो हुँदाहुँदै पनि नेपालमा हिन्दु धर्मालम्बीहरुको जनसंख्या बढेको देखाउनु भनेको शंकास्पद नै हो । यस्तो नहोस् भनेरै विगत लामो समयदेखि आदिवासी जनजाति, दलित, मधेसी आदि समुदायले केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना गर्दा खपत हुने गणकमा (जनशक्ति) आफ्नै समुदायका अगुवालाई तालिम दिएर खटाइयोस् भन्ने माग राख्दै आएका छन् । तर यस विषयमा सम्बन्धित पक्षले (खासगरी उपल्लो तहका सरकारी कर्मचारी र राजनैतिक पार्टीका नेताहरुले) कहिल्यै पनि गम्भीर रुपमा सोचेनन् । किनभने उनीहरु सबै एकै जात/वर्ग/क्षेत्रबाट आएकाहरु छन् । उनीहरुलाई राम्रोसँग थाहा छ कि यो मागलाई सम्बोधन गर्ने बित्तिकै हरेक १०/१० वर्षमा गरिने राष्ट्रिय जनगणनामा जसरी नेपाली भाषीको जनसंख्या घट्दै गएको छ त्यसैगरी हिन्दु धर्म मान्नेहरुको संख्या पनि निश्चित रुपमा घट्ने छ ।

यसरी लादियो हिन्दु धर्म

वास्तविकता के हो भने पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण सुरु गरेपछि उनले र उनका सन्तान/दरसन्तानले ती भूगोलमा शाह वंशको विजयसँगै हिन्दु धर्म, गोर्खा भाषा (त्यो बेला न त खस भाषा नै भनिन्थ्यो न त नेपाली भाषा नै) नेपालका आदिवासी-जनजाति लगायतलाई जबरजस्ती हिन्दु संस्कृति लादे । यसरी नेपालको भगौलिक एकीकरणपछिको २४० वर्षे शासनकालमा विभिन्न भगौलिक क्षेत्रमा विभिन्न जातजातिका अगुवालाई स्थानीय स्तरको छोटेराजा/शासक नियुक्त गरियो ।

यसै क्रममा राई, चौधराई, सुब्बा, मुखिया, ‘देवान, थरी, कारबारी, बैदार, गुरुङ, द्वारे, तोहले, माथा, करता आदि पदहरुको सिर्जना गरियो । माथि उल्लेखित पदहरुमध्ये राई, चौधराई, सुब्बा, मुखिया, देवानलाई ‘जिम्मावाल’ पनि भन्ने गरिन्थ्यो ।

युगौं-युगदेखि आफ्नै प्रकारको अलग धर्म-संस्कृति मान्दै आएका नेपालका आदिवासी जनजातिमाथि भौगोलिक एकीकरणपछि हिन्दु धर्म लादिएको हो भन्ने प्रष्टैसँग देखिन्छ

अझै पनि गाउँघरमा विगतमा यस्तो पद पाएका वा तिनका सन्तानलाई फलानो ‘जिम्मावाल’ वा ‘जिम्मावाल्नी’ भनी बोलाउने प्रचलन हटिसकेको छैन । जे होस्, यी जिम्मावालरुले ‘पञ्चखत’ बाहेकको सबै कानुनी कामकारबाही स्थानीय स्तरमा आफै फत्ते गर्थे । त्यसबाहेक उनीहरुको मुख्य काम भनेको हिन्दुहरुको महान चाड ‘बडा दसैं’ मा (महाअष्टमीको दिन) पद अनुसार मौलोमा राँगो र बोकोको मार हान्ने -हुन्थ्यो ।

सानो पद पाएकाहरुले बोकाको मार हान्ने र ठूलो पद पाएकाहरुले चाहिँ राँगोको मार हान्ने तथा मार हानेको राँगो/बोकोलाई ढुङ्गो/काठको मौलोको वरिपरि तीनफन्को घुमाएर आफ्नो दुबै हात  रगतमा चोपलेर आफ्नो घरको मूल ढोकाको दाँयातर्फ ‘पञ्जाछाप’ लगाउने गर्नु पर्दथ्यो। राई, चौधराई, सुब्बा, मुखिया, देवान आदिले हिन्दु धर्म अनुसार बडा दसैं माने कि मानेनन् ? भनेर हिउँदे याममा जोगीको भेषमा ‘जय गोरख नाथ’ भन्दै सरकारी जासुसहरु गाउँ-गाउँ घुम्थे ।

यसरी हेर्दा युगौं-युगदेखि आफ्नै प्रकारको अलग धर्म-संस्कृति मान्दै आएका नेपालका आदिवासी जनजातिमाथि भौगोलिक एकीकरणपछि हिन्दु धर्म लादिएको हो भन्ने प्रष्टैसँग देखिन्छ । इस्वी संवत् १८६७ मा दसैं बहिस्कार गर्दा धनकुटाका ‘राई’ रामलीहाङ र ‘राई’ रिदामालाई राज्यले हत्या गरेकोले पनि यहि पुष्टि हुन्छ (स्रोतः स्वर्गीय डाक्टर हर्क गुरुङको जनजाती सेरोफेरो नामक किताब) ।

स्मरणीय छ, हाल उनीहरु धनकुटाका आदिवासी आठपहरिया किरात भएको पुष्टि भएको छ ।

राप्रपा नेपालले चढेको घोडा

दोस्रो संविधानसभाको निर्वाचनमा धर्म निरपेक्षताको विरोध गर्ने राप्रपा नेपालले प्रत्यक्षमा एक सिट नजिते पनि समानुपातिकमा २५ सिट जित्यो । त्यो जित राप्रपा नेपालको आफ्नै बलबुताले भन्दा पनि नेपाली कांग्रेस, नेकपा एमाले लगायतका अनुदारवादी पार्टीकै केन्द्रीय तहदेखि स्थानीय तहसम्मका नेताहरुको लबिङले गर्दा सम्भव भएको हो भन्नेमा कुनै शंका छैन ।

हुन पनि उनीहरुले खुलेरै पहाड र काठमाडौमा ‘एक भोट दाईलाई (नेपाली कांग्रेस/नेकपा एमाले)लाई एक भोट गाईलाई र मधेसमा एक भोट गाछीलाई एक भोट बाछीलाई भन्ने नारा नै लगाएका थिए । धन्न राप्रपा नेपालले संविधानसभाको बैठकमै नेपाल पुनः हिन्दु अधिराज्य हुनु पर्छ भनेर सार्वजनिक महत्वको विषय ल्याएन । यदि ल्याएको भए संभवतः नेपाली कांग्रेस, नेकपा एमाले, मधेसवादी दलहरु लगायत हिन्दुवादी राजनैतिक पार्टी र तिनका नेताहरुले टेबल ठोकेर पारित गर्ने थिए ।

तर, त्यसो गर्दा राप्रपा नेपालले सँधै हिन्दु धर्म र राजतन्त्रलाई भजाएर राजनीति गर्ने बाटोमा पनि विराम लाग्न सक्थ्यो । यो जोखिम उठाउनका लागि लोकेन्द्रबहादुर चन्दको भाषा सापटी लिएर भन्नु पर्दा कमल थापा जस्ता मुसो प्रवृत्ति भएका र राजनीतिमा माहिर मानिएका नेताले किन त्यसो गर्थे ? किनकि ‘एक माघले जाडो जाँदैन’ भन्ने त उखानै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment