७ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले कांग्रेससहित तीन दलीय सहमति गर्न लागेको भए महाअभियोग प्रस्ताव आउनै नपाउने भएकाले छापामार शैलीमा पेश गर्नु परेको बताएका छन् ।
सिंहदरबारमा संसदीय मामिला पत्रकारहरुसँग कुरा गर्दै महाअभियोग प्रस्तावका प्रस्तावक शाहीले कुरा चुहिएर महाअभियोग दर्ता हुनुअघि नै लोकमानले प्रतिशोध साँध्ने तयारी गरेकाले आफ्नै सांसदलाई पनि झुक्याउनुपरेको बताए ।
शाहीले भने, ‘महाअभियोग लगाउनुपर्छ भन्नेमा सबै सांसदहरु अहिले पनि सहमत हुनुहुन्छ । उहाँहरुको गुनासो जानकारी दिइएन भन्ने हो, जानकारी दिएको भए प्रस्ताव दर्ता हुनै पाउने थिएन, खेल अर्कै भइसक्ने थियो ।’
उनले कांग्रेसलाई पर्खिएको भए महाअभियोग प्रस्ताव दर्ता हुन नसक्ने देखेरै एमालेसँग मिलेर रातारात गर्नुपरेको बताए । उनले अघि भने, ‘गुण्डाले टेण्डर कब्जा गरेजस्तै यो प्रस्ताव कब्जा हुन सक्थ्यो ।’
कांग्रेस अझै पनि अलमलमा पर्नु र त्यस पार्टीका नेताहरुले अनेकथरी कुरा गर्नुले पनि त्यो आशंका पुष्टि उनको दाबी छ ।
‘अहिले पनि देखिरहनुभएको छ, उहाँहरुलाई गाह्रो भइरहेको छ, यदि पर्खिएको भए खेल उल्टिन सक्थ्यो,’ उनले भने ।
शाहीले लोकमानको पक्षबाट आफूलाई दबाब र धम्की आएको दाबी गरे । तर, अब माओवादी पछि हट्न नसक्ने उनले बताए ।
प्रतिक्रिया 4