Comments Add Comment

संकट टार्न सिंगापुरबाट कात्तिकभित्रै आउने भयो एक करोड डलर

Nrb-810

७ असोज, काठमाडौं । बजारमा देखिएको नगद डलर अभाव कम गर्न नेपाल राष्ट्र बैंकले यसै महिना सिंगापुरबाट १ करोड अमेरिकी डलर ल्याउने भएको छ ।

सिंगापुरस्थित सीआइएम बैंकमा आफ्नै खातामा रहेको अमेरिकी डलर राष्ट्र बैंकले ल्याउने भएको हो ।

डलर ल्याउने सम्झौता गर्न सिंगापुर गएको राष्ट्र बैंकको टोली आइतबार स्वदेश फर्किएको छ । राष्ट्र बैंकको बैंकिङ कार्यालयका कार्यकारी निर्देशक जनक अधिकारी नेतृत्वको टोली डर ल्याउने सम्झौता गर्न सिंगापुर गएको थियो ।

दुई बैंकका अधिकारीहरुबीच यही कात्तिक ३० गतेसम्ममा १ करोड डलर नेपाल भित्र्याइसक्ने गरी सम्झौता भएको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले अनलाइनखबरलाई जानकारी दिए ।

‘कात्तिकभरमा डलर ल्यासक्नेगरी सम्झौता भएको छ,’ पण्डितले भने, ‘अहिले पनि राष्ट्र बैंकसँग करिब ५ महिना पुग्ने डलर मौज्दात छ । १ करोड ल्याएपछि करिब ८/९ महिनाका लागि पुग्छ ।’

डलर ल्याउँदा २३ हजार डलर अर्थात २३ लाख नेपाली रुपैयाँ खर्च लाग्ने र सो खर्च राष्ट्र बैंक स्वयंले व्यहोर्ने पण्डितले जानकारी दिए ।

रेमिट्यान्स र पर्यटक नबढ््दा देशमा नगद लडरको हाहाकार नै भएको थियो । तर, कार्डमार्फत भने सर्वसाधारणले तोकिएको सीमाभित्र रहेर डलर उपलब्ध गराएको पण्डित बताउँछन् ।

‘पर्यटकीय सिजन पनि सुरु भइसकेकाले पर्यटक आगमन पनि बढ्छ र हामीले पनि डलर ल्याउने सम्झौता भइसकेको छ,’ उनले भने, ‘अब नगद डलरको पनि अभाव हुँदैन ।’

बजारमा अमेरिकी डलरको चरम अभाव भएपछि केही निजी बैंकले सिंगापुरबाटै डलर ल्याउने प्रस्ताव गरेका थिए । तर, उनीहरुले डलर ल्याउँदा लागेको ढुवानी खर्च जोडेर सटही दर निर्धारण गर्न पाउनुपर्ने माग गरेका थिए ।

निजी बैंकलाई डलर ल्याउन दिँदा बजारमा डलरको भाउ दुई थरी हुने भएकाले राष्ट्र बैंक आफैं डलर ल्याउन तयार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment