Comments Add Comment

बाहुनको छोराले बंगुर पाल्यो भनेर हेपिएका बराल यसरी बने करोडपति

chandra-kanta-baralपोखराका व्यवसायी चन्द्रकान्त बरालले जीवनमा धेरै चुनौती खेपे । अन्तत: चुनौतीलाई सामना गरेरै उनले आफूलाई सफल व्यवसायी साबित गरे ।

पोखरा नजिकैको गाउँ पुम्दीभुम्दीमा उनीसहित सात जना दाजुभाइले बाँडीचुँडी खाने दुई सय रोपनी जग्गा थियो । ३६ वर्षअघि सो जग्गा कृषि विकास बैंकमा धितो राखेर बरालले एक लाख ५० हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेका थिए । उनले हात हालेको व्यवसाय थियो, बंगुर पालन ।

केही गर्छु भन्ने सोचले बंगुर पाल्न थालेका बराललाई त्यो समयमा कम्ता आपत परेन ! बाहुनको छोराले बंगुर पालेको भनेर समाजबाट आलोचना मात्र खेपेनन्, कामदार पाउन समेत मुश्किल पर्‍यो । उता बंगुर पनि भटाभट मरेपछि व्यवसाय नै डुब्यो । एक लाख रुपैयाँ चोखै गुम्यो । त्यति रकम ०३७ साल ताका ठूलै थियो । उनले लाख रुपैयाँ डुबाएपछि धितो राखेको जग्गा फर्कनेमा दाजुभाइले समेत आस गुमाएका थिए । तर, बरालले हिम्मत नहारी समस्याको डटेर सामना गरे ।

भ्याक्सिन नपाउँदा बंगुर सखाप

पशु सेवा कार्यालयमा तालिम लिएर ग्रामीण कार्यकर्ताको अनुभव बटुलेका बरालले बंगुरको एउटा पाठा बेचेर दुई सय ५० रुपैयाँसम्म कमाउने सपना बोकेका थिए । वर्षमा दुई पटकसम्म बंगुर उत्पादन हुने र एक पटकमा १८ देखि २२ वटासम्म पाठा जन्मने हुँदा परिवारमा पनि ठूलै आशा थियो । तर, जन्मेका पाठा भकाभक मर्न थालेपछि सबै आशा खरानी भयो ।

भ्याक्सिन नहुँदा स्वाइन फिभर रोगले बंगुर सखाप बनाएको बराल बताउँछन् । ‘त्यतिबेला बंगुरमा लगाउने भ्याक्सिन नहुँदा मेरो सपना मात्र तुहिएन, परिवारको भविष्य नै संकटमा पर्‍यो’, उनले भने ।

तर, उनीभित्र आशाको झिल्को बाँकी नै थियो ।

एकातिर बैंकको ऋण र अर्कोतिर बंगुर पालेर धर्म गुमाएको भन्दै समाजको आलोचना खेपिरहेकै थिए, दोहोरो तनावका कारण उनले घर जान समेत बिस्तारै कम गरेका थिए ।

पोखरामै खोलिएको सानो फिड इन्डष्ट्रिज र पछि मिलन फिडमा बरालले जागिर खाए ।

सफलताको सूत्र निरन्तर मिहिनेत

व्यवसाय चुर्लुम्म डुबेपछि ऋण तिर्न नसक्दा बैंकले कालोसूचीमा राख्ने तयारी गर्दै थियो । त्यसमाथि घर परिवारले समेत विश्वास कम गर्दै गरेको बेला पनि बरालले हिम्मत हारेनन् । घर भाडामा लिएर कुखुरा पाल्न सुरु गरेको उनी स्मरण गर्छन् ।

तर, उनलाई समस्याले पिछा गर्न छाडेन । ‘सुरुमा कुखुरा पनि रोगाएर मरे, तर मैले मिहिनेत गर्न छाडिनँ,’ बराल बताउँछन् । कुखुराका लागि आवश्यक दानाको बजार देखेपछि उनको ध्यान त्यतातिर पनि गयो । यस्तै, कुखुरा हुर्काएर बेच्दै गर्दा मासु पनि बेच्नुपर्छ भन्ने सोच आयो । त्यसले उनको आर्थिक पाटो झनै बलियो बन्दै गयो ।

polti-farm-picहाल आएर पशुपंक्षीको दानाका लागि पोखरा बिरौटामा ‘बराल फिड इन्डष्ट्रिज’ निकै चर्चित छ । पोखरा २५ पुम्दीभुम्दी सिरवानी स्थायी घर भएका बरालले पुर्ख्यौली जग्गामै ‘हिल प्वाइन्ट पोल्ट्री फार्म’ खोल्दै १६ हजार कुखुरा पाल्दै आएका छन् । चिनियाँ सेमिअटोमेटिक प्रविधिबाट बोइलर कुखुरा पालन गरिरहेका छन् । सात महिनाको अवधिमा ८० हजारभन्दा बढी कुखुरा उत्पादन गरेका बरालले मनग्य नाफा समेत लिइसकेका छन् ।

आगामी तीन महिनामा तीन करोड रुपैयाँ लगानी गर्दै थप १६ हजार कुखुरा थप्ने बरालको लक्ष्य छ । उनले अमेरिका र युरोपका साथै एसियाका केही मुलुकमा अवलोकन गरी बोइलर कुखुरा पालनमा फुल्ली अटोमेटिक सिस्टम भित्र्याउन लागेको र यो नेपालमा नयाँ प्रयोग हुने दाबी गरे ।

बरालको पोशाक दाना उत्पादन उद्योगमा पनि लगानी छ । यस्तै, फेवा मिट प्रोडक्ट लगायत विभिन्न क्षेत्रमा उनले सफलता हासिल गरेका छन् । निरन्तरको मिहिनेतले यस्तो सफलता हात परेको उनको अनुभव छ ।

हिजो हेपिए, आज बने करोडपति

हिजोका दिनमा बाहुनको छोराले बंगुर पाल्यो भनेर हेपिएका बराल आज भने करोडपति बनेका छन् । कतिपय ठाउँमा सुनपानीले चोख्याएर मात्र घरभित्र पस्न दिने गरेको घटना उनी सम्झिन्छन् । अहिले विभिन्न व्यवसायबाट गरी वर्षमा दुई करोड रुपैयाँसम्म कमाउने गरेको उनी बताउँछन् ।

‘काम गर्दै जाँदा सुरुमा अवरोध र आलोचना आइलाग्न सक्छ, तर जीवनमा मिहिनेत गर्न नछोडेमा सफलता अवश्य पाइने रै’छ’, बराल अनुभव सुनाउँछन् । कामलाई सम्मान गर्ने हो भने नेपालमै करोड कमाउन सकिने उनले उदाहरण देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment