Comments Add Comment

सारीका पीडितको प्रश्न-सरकारको सहयोग पाउन हामी मर्नुपर्यो ?

कोलडाँडाको कथाः भगवानले हात थापे, अरुको साथ पाइएन

pahiro-sarika-2१४ कात्तिक, ठिन्केपु (रामेछाप) । तिहारको मुखैमा भुजीको कोलडाँडामा भेटिएका रुद्रमणि श्रेष्ठले मनको पीडा लुकाउन सकेनन् । घरखेत सबै पहिरोले बगाएपछि रातारात करोडबाट रोडमा झरेका स्थानीय व्यवसायी श्रेष्ठले विपत्तिमा परी नमरेसम्म कसैले वास्ता नगर्ने रहेछन् भन्ने  पीडादायी निष्कर्ष निकालेका छन् ।

अनलाइनखबरकर्मीसँग एकै सासमा उनले भने- त्यस दिनको पहिरोमा हामी सबै मरेका भए सायद सरकार र मिडियाको नजर यतातिर पथ्र्यो होला । पहिरोमा पुरिएर हामी नमरेसम्म हामीलाई कसैले वास्ता गर्दैनन् भन्ने पुष्टि भयो ।
गत साउन १० गते भुजी गाविसको ठिन्केपुमाथिको रामजीस्थानको भीर खस्दा त्यहाँका ५७ घर परिवार विस्थापित भए । गाउँलेकै शब्दमा भन्नुपर्दा त्यस दिन उनीहरुलाई भगवानले हात थापिदिए, जसका कारण त्यति भिषण पहिरोमा पर्दा पनि कुनै मानवीय क्षति भएन ।

साँझ साढे ५ बजे भुजी गाविस वडा नम्बर ६ मा अवस्थित रामजीथानको भीरबाट खस्दा वडा नम्बर २ सारी गाउँका बासिन्दा खेतिपातीको कामबाट भर्खरै घरतिर फर्किदै थिए । भाग्ने ठाउँ र समयले साथ दिएका कारण मान्छेको ज्यान गएन ।

paguribewsघर भत्किएर रुद्रमणीकी आमा लिलामती नेवार घाइते भए पनि बेलैमा भाग्न सफल भएकाले ज्यान भने जोगियो । बस्ने घर र कमाइ खाने खेतवारी सबै पहिरोले बगाएपछि नजिकै कोलडाँडा हाट लाग्ने ठाउँमा शरण लिएकाहरु न मरी जाने,न गरि खाने अवस्थामा पुगेका छन् ।

‘पहिरो खस्नुअघि पहाड फुटेको आवाजसँगै घरभित्र रहेकाहरु भाग्न सफल भए, बाहिर भएकाहरु पनि जोगिए’ त्यो दिन सम्झिदै नन्दमायाले भनिन् ‘बरु त्यही पहिरोमा मरेको भए यो दुःख झेल्नुपर्ने थिएन’ ।

भोलि उठी कहाँ जाने ?

छिमेकी सैंपु दुरागाउँ र ओखलढुंगाका खिजी,रगनी लगायतका गाउँ बस्तिलाईसमेत हल्लाउँदै खसेको भीषण पहिरोले करीव एक किलोमिटर तलसम्म पुगेर लिखु नदीको धार समेत परिवर्तन गराएको थियो । जहाँ पहिरोले ताल नै बनाएको छ ।

१० गतेको पहिरोपछि १४ गते पुनः पहरो खसेको थियो । जुन पहिरो अहिले पनि निरन्तर चलिरहेको छ । ०७२ बैशाख १२ गतेको पहिरोले चर्काएको भीर मुनि पिपलडाँडा, सारी र ठिन्केपुलगायतका बस्ति छन् ।

pahironews2

पहिरोले धेरै पशु चौपाया पुर्‍यो । स्थानीयको जीवनधारा बनेका घरखेतको कुनै नामोनिशान रहेन । पहिरोले विस्थापित भएकाहरु कोही कोलडाँडा हाट लाग्ने ठाउँमा टहरा बनाएर बसेका छन् भने कोही आफन्तकोमा शरण लिइरहेका छन् ।

अब उठेर कहाँ जाने केही थाहा छैन । गरी खाने खेतबारी अब पहिरोमा परिणत भएको छ । कोलडाँडा बाहेक भुजीमा अन्यत्र सार्वजनिक जग्गा पनि छैन । विस्थापितहरुलाई कहाँ पुनस्पर्थापना गर्ने भन्ने समस्या यथावत रहेको गाविस सचिव केशरवहादुर खत्रीले बताए ।

राहतका नाममा ५ हजार

पहिरो गएलगत्तै प्रमुख जिल्ला अधिकारी, पूर्व सांसद देवशंकर पौडेल सहित सुरक्षा निकायका प्रमुखहरु पीडितलाई भेट्न पुगेका थिए । त्यसबेला पीडितहरुलाई दिइएको जनही ५ हजार रुपैयाँ बाहेक उनीहरुले थप राहत र पुनस्र्थापनाको कुनै योजना पाएका छैनन् ।

pahiro3विस्थापितहरुलाई स्थापित गर्ने ठाउँको टुंगो लगाएर जिल्लामा सिफारिस गर्न भनिएको दोस्रो पटक पहिरो पीडितलाई भेट्न भुजी पुगेका पूर्व सांसद तथा एमाले केन्द्रीय सदस्य पौडेलले बताए । खेतबारी सबै बगाएकाहरुको हकमा वैकल्पिक व्यवस्था हुने गरी राहतको पहल हुनुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसका नेता झपटराज भण्डारीले गाविस सचिवका कारण भुजीका पहिरो पीडितको पुनस्र्थापनामा ढिला भएको आरोप लगाए । उनले भने-विस्थापितहरुलाई कहाँ राख्ने हो भन्ने टुंगो लगाएर जिल्लामा ल्याउनु भनेको हो तर उनले काम गरेकै छैनन् ।

पीडितलाई गोविन्द खड्काको सहयोग

यसैबीच पहिरोबाट घरबास र खेतिपाती सबै गुमाएर विस्थापित भएका ७ घरपरिवारलाई एमालेका रामेछाप जिल्ला कमिटी सचिवालय सदस्य गोविन्द खड्काले आर्थिक सहयोग गरेका छन् ।

pahiro-sahayogभुजी लिग फुटबलको उद्घाटन समारोहमा खड्काले सहयोग गरेका हुन् । उनले एमाले गाउँ कमिटी अध्यक्ष रुद्रमणि श्रेष्ठलाई जनही ३ हजारको दरले एकमुष्ठ रकम हस्तान्तरण गरेका थिए ।

पहिरो पीडितको पक्षमा सरकारको पक्षबाट कुनै पहल नभएकोमा आक्रोश व्यक्त गर्दै खड्काले आफ्नो तर्फबाट थप सहयोग जुटाउने आश्वासन समेत दिए । उनले सोही समारोहमा फुटबल लिगका लागि पनि ५१ हजार रुपैयाँ हस्तान्तरण गरे ।

तस्वीरः देवशंकर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment