Comments Add Comment

मुखर्जीलाई दिएको ‘एकदिने छुट्टी’ले छठसम्म हान्यो

दुई दिनसम्म सरकारको काम, कहिले जाला घाम !

simhadarbar-23१८ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रवण मुखर्जी नेपाल आउने दिन बुधबार सरकारले सार्वजनिक विदा दियो । तर, यो एकदिने विदाले छठसम्म असर पार्ने देखिएको छ । एक दिनको विदाले तीन दिनसम्म सरकारी कार्यालयहरु नचल्ने अवस्था सिर्जना भएको छ ।

आज बिहीबारदेखि सरकारी विदा सकियो भनेर तपाई ढुक्क नहुनोस् । यदि तपाई सार्वजनिक विदा छैन भनेर सेवाका लागि राजधानीका कुनै सरकारी कार्यालयमा जाँदै हुनुहुन्छ भने विचार गर्नुहोला, कार्यालय त खुल्छ, तर त्यहाँसम्म पुग्नका लागि तपाईलाई सकस पर्न सक्छ । एकदिने विदासँगै कर्मचारीहरु पनि आ…. छठपछि आइन्छ भन्दै घरतिर लागेका पनि हुन सक्छन् ।

सरकारले तिहारका लागि कात्तिक १४ देखि १६ गतेसम्म विदा दिएको थियो । भाइटीकाको भोलिपल्ट कात्तिक १७ गते भारतीय राष्ट्रपतिको भ्रमणमा सुरक्षा व्यवस्थापनका लागि भन्दै सरकारले थप विदा घोषणा गर्‍यो ।

त्यसपश्चात बिहीबार र शुक्रबार पनि मुखर्जीको सवारी हुने हुँदा राजधानी प्रभावित हुँदैछ । र, त्यसपछि आउने आइतबार पनि सरकारी कार्यालय बन्द हुनेछन् । आइतबार सरकारले छठ पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।

यसरी तिहारका लागि कात्तिक १४ गतेबाट शुरु भएको विदा कात्तिक २१ गतेसम्म जर्वजस्त तानिएको छ । सरकारले मुखर्जी आउँदा एक दिन विदा नदिएको भए सेवाग्राहीहरुले कात्तिक १७ देखि १९ गतेसम्म आफ्नो सेवा लिन पाउने थिए ।  योवीचमा मुखर्जीको भ्रमणका लागि सरकारी विदा नदिएको भए तीन दिन कार्यालय सञ्चालन हुने थिए । तर, सरकारले एक दिन विदा दिँदा बाँकी दुई दिनमा समेत त्यसको प्रभाव पर्‍यो ।

यसले गर्दा आम नागरिकले कात्तिक २२ गतेअघि सरकारी कार्यालयबाट सेवा लिन लगभग कठिन देखिएको हो ।

राष्ट्रपति मुखर्जीको सुरक्षाका नाममा बिहीबार पनि राजधानीका मुख्य सडकहरुमा अधिकांश समय अघोषित कर्फ्यू लाग्नेछ । यो स्थितिमा विदेश यात्राका लागि विमानस्थलसम्म पुग्नुपर्ने वा श्रम स्वीकतिका लागि वैदेशिक रोजगार विभागसम्म पुग्नुपर्ने युवाहरु सबैभन्दा बढी मारमा पर्नेछन् ।

त्यस्तै दुई दिनभित्र सरकारी डकुमेन्ट बनाइसक्नुपर्ने बाध्यतामा रहेका सेवाग्राहीहरु बढी मारमा पर्नुपर्ने अवस्था छ । राजधानीमा सबैभन्दा बढी गाडीको चाप हुने सडकहरु खाली गरिँदा स्वभाविकरुपमा त्यसको मार अन्य साना सडकहरुमा पनि पर्न जान्छ । यसले गर्दा दिनभरि नै राजधानीको जनजीवन प्रभावित हुने पक्कापक्की छ ।

बाटो जामका कारण अधिकांश कार्यालयमा कर्मचारीहरु पुग्नै गाह्रो हुन्छ । यदि कर्मचारी पुगिहाले भने पनि सेवाग्राहीको अभावमा काम हुने सम्भावना कमै हुन्छ । यसवीचमा मधेसी समुदायका कर्मचारीहरु यही मौकामा कार्यालय छाडेर छठ मनाउन घरतिर लाग्ने भएकाले विहीबार र शुक्रबार सरकारी कार्यालयमा तपाईले सोचेको काम नहुन सक्छ । यो दुई दिनमा काम भएन भने तपाईले सोमबारसम्म पर्खनुपर्ने हुन्छ ।

मुखर्जी शुक्रबार जनकपुर र पोखरा जाने भएकाले राजधानीमा जस्तै त्यहाँको सवारी आवत-जावतमा पनि प्रत्यक्ष प्रभाव पर्नेछ । र, त्यसको प्रभाव सरकारी कार्यालयको नियमित काममा पनि पर्न सक्छ ।

शुक्रबार मुखर्जी दिल्ली र्फकने कार्यतालिका छ । त्यो दिन पनि राजधानीमा ट्राफिक व्यवस्थापन भद्रगोल हुने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment