१८ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले विहीबार विहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनले त्यहाँ लाखवत्ती बालेर विशेष पूजा गरेका छन् ।
उनले खाममा राखेर भेटी चढाएका थिए । पूजा गरिसकेपछि उनले पश्चिम गेट अगाडि पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुसँग तस्वीर पनि खिचाएका थिए ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार मित्रराष्ट्र भारतका राष्ट्राध्यक्षको विशेष पूजालाई अविस्मरणीय बनाउने गरी तयारी गरिएको थियो ।
राष्ट्रपति मुखर्जीको आगमनलाई मध्यनजर गर्दै पाशुपत क्षेत्र र त्यस वरपरका स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । पशुपतिनाथ मन्दिर वरपर उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।
पशुपति क्षेत्र विकास कोषका कर्मचारी र सदस्यहरु नेपाली पोशाक दौरा सुरुवालमा सजिएर मुखर्जीको स्वागतमा लामबद्ध भएका थिए । उनीहरुले नेपाल र भारतको राष्ट्रिय झण्डा समेत बोकेका थिए ।
पशुपतिनाथ मन्दिरमा राष्ट्रपति मुखर्जीका थप तस्वीरहरु हेर्नुहोस्
प्रतिक्रिया 4