
१८ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण नराम्रोसँग प्रभावित भएको छ । विमान समयमै नउड्ने र अवतरण नहुने गर्दा सर्वसाधारण तथा यात्रुहरु समस्यामा परेका छन् ।
कतिपय यात्रुहरुले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा र जनकपुर भ्रमणको पूर्वतयारीका कारण विमानस्थलमा उडान अवतरण प्रभावित भएको आरोप लगाएका छन् ।
तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने बुधबार बेलुकीदेखि राडारमा समस्या आएकाले उडान-अवतरण प्रभावित भएको दाबी गरे । उनकाअनुसार राडार बिग्रिएपछि एयर ट्राफिक कन्ट्रोलरहरुलाई निकै समस्या भएको छ । यसैका कारण बिमानको ‘डिस्ट्यान्स मेन्टेन’ गर्नुपर्ने भएका कारण उडान अवतरण ‘डिले’ भएको उनले बताए ।
‘राडार बिग्रिएपछि सेप्रेसनका लागि लगातार छिटो-छिटो विमानहरु उडान तथा अवतरण गराउन सकिँदैन,’ प्रवक्ता ठाकुरले भने, ‘यसैकारण विमानस्थलमा यात्रुहरुले तालिकाबमोजिम सेवा पाउन सक्नुभएको छैन । तर, फ्लाइट क्यान्सिल तथा डाइभर्ट भने गरिएको छैन ।’
राडारमा समस्या आएपछि झण्डै ५ घण्टासम्म बिमानको उडान अवतरण ‘डिले’ भएको छ । बिमानहरु तालिकाबमोजिम उड्न नसक्दा विमानस्थलमा यात्रुको चाप उच्च भएको छ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको कारण सडक जाम छल्न छिट्टै विमानस्थल पुगेकाहरुले विमान ‘डिले’ भएपछि झनै आक्रोश पोखेका छन् । आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएको छ ।
विमानस्थलमा आफन्त लिन पुगेकाहरु विमान ‘डिले’ भएपछि घण्टौंदेखि कुर्नुपर्ने बाध्यतामा परेका छन् । राडार मर्मतको काम चलिरहेको विमानस्थलका प्रवक्ता ठाकुरले बताए ।
उनले आजै बेलुकासम्म राडारको मर्मत सकिने बताए । यात्रुले ठूलो सास्ती भने खेप्नु नपरेको उनको दावी छ ।
राष्ट्रपति मुखर्जी बुधबार नेपाल भ्रमणमा आउँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल करिब ५० मिनेटसम्म बन्द गरिएको थियो । त्यस बेला पनि यात्रुहरु मर्कामा परेका थिए ।
प्रतिक्रिया 4