Comments Add Comment

जोखिममा लिम्बू जातिका सांस्कृतिक सम्पदा

3-1-hangsemlung-bodhe-5

लिम्बू गाउँघरमा अग्ला र लामा ढुंगाहरू गाडिएको पाइन्छ, जुन जनश्रुति अनुसार सुत्केरी महिलाले नाघेको भन्ने गरेको सुनिन्छ । तर, त्यस्तो होइन । यस्ता ढुंगाहरूसँग याक्थुङ्बा लिम्बू जातिका परम्परागत संस्कृति गाँसिएको छ । लिम्बूहरूको मुन्धुममा यस्ता ढुंगाहरूको विशेष चर्चा गरिएको पाइन्छ ।

मुन्धुमलाई लिम्बू जातिको सामाजिक इतिहास भने पनि हुन्छ । लिम्बूू भाषामा ढुंगालाई ‘लुङ’ भनिन्छ । उनीहरूले आफ्नो उत्पत्ति स्थललाई थामालुङ/माङ्गेना लुङधुङ भन्छन् । परिवार, कुल, वंश संरक्षणको लागि पितृहरूका नाममा थान-थपना राख्दा गाडिने ढुंगाहरूलाई काम्याङलुङ भन्छन् ।

5-nenduri-pasanga-lelep-1यस्तै, झैझगडा मिलाएर गाडिने ढुंगालाई चुम्लुङ भन्छन् । जग्गाका साँध-सिमाना मिलाएर गाडिने ढुंगालाई इन्दोलुङ भन्छन् । हाडनाता बिग्रिएर छुट्याई गाडिएको ढुंगालाई लुङधुङ काइलुङ भन्छन् । दुबोढुंगो छुवाएर सत्यवाचा गराउनेदेखि चोख्याउनेसम्मका कर्मकाण्डलाई पिच्छा साम्बोकलुङ (सामयोक लुङयोक) भन्छन् ।

माया-पिरती बसेपछि बैनाबट्टा गरिने ढुंगालाई लुङयाङ (याङलुङ) भन्छन् । आफ्नो पितृहरूलाई पुकारेर चिताएको पूरा गर्न गाडिने ढुंगालाई चोङलुङ भन्छन् । यस्तै, मरेपछि चिहानमाथि गाडिने ढुंगालाई सुङलुङ भन्छन् ।

आफ्ना पितृहरूको पुकार गरेर मात्र कुल, वंशको संरक्षण हुने र प्राकृतिक विपत्तिबाट बच्न सकिने मान्यता बोकेका लिम्बूहरूले वास्तवमा ढुंगालाई आफ्ना पितृहरूको पवित्र प्रतीक मानेको देखिन्छ । ढुंगामा उनीहरूको पितृको आत्माको बास हुन्छ र त्यही ढुंगासँग आत्मा र अलौकिक शक्तिको स्वामित्व हुन्छ । लिम्बू जातिमा गाडिने यस्ता ढुंगाहरूले नै आफ्नो कुल, वंशको संरक्षण गर्नुका साथै नैतिक व्यवहारको समेत रक्षा गर्ने समेत लिम्बू जातिमा विश्वास छ ।

तर, राज्यले आज भौतिक पूर्वाधारहरूको निर्माण गरिरहँदा सडक, पहिरोका कारण लिम्बू जातिका यस्ता सांस्कृतिक सम्पदासँग जोडिएका ढुंगाहरू बढी जोखिममा परेका छन् ।

उत्तर-दक्षिण लोकमार्ग ओलाङचुङ जाने सडकले ताप्लेजुङको ताप्पेथोक-५ छिरुवानीमा अवस्थित तमोर खोलाको किनारमा तेर्सिएर बसेको विशाल ढुंगा खोङ्सोलुङजङ बाटैमा परेकाले कुनै पनि बेला भत्काइँदै छ । मुन्धुम अनुसार, खोङसोलुङजङमाथि पहिले लिम्बू जातिका पहिलो पुर्खा मुजिङना खेेयङनाका छोरा सुसुवेङ लालावेङले आफ्नो काँण उध्याउँथे ।

ताप्लेजुङकै लेलेप-६, लुङधुङमा पर्ने गाउँघरमा हल्लिने ढुंगा भनेर चिनिने लुङधुङ (हिरिलुङ हाक्कापलुङ/इमि लुङधुङ) लाई पनि ओलाङचुङ सडकले नै भत्काउन लागेको देखिन्छ । उक्त ढुंगामा सुसुवेङ लालावेङका छोराछोरीहरू छुच्छुरु सुहाम्बा र तेत्लारा लाहादङनालाई हाडनाता बिगि्रएपछि छुट्याइएको थियो ।

सुसुवेङ लालावेङलाई आमा मुजिना खेयङनाले जन्माएर हुर्काएको ठाउँ एखाबु-६ मा पर्ने सावान पाङभे दिनानुदिन तमोरको धारले काट्दै छ । छुच्छुरु सुहाम्बा र तेत्लारा लाहादङनाबीच प्रेम प्रस्ताव भएको ठाउँ ताप्पेथोक-६ मा पर्ने सिङवातेन पाङवातेनलाई एकातिर तमोर र अर्कोतिर सिसाङवा खोलाले करिब भत्काइसकेको छ । लेलेप-१ मै पर्ने साँगो (साँगोरक्मा कोपिरक्मा) नेन्दुरि पासाङगालुङ (बेहुला बेहुलीको आयु जोखिने ढुंगा) तीन वटामध्ये एउटा तमोरले बगाइसकेको छ ।

4-yuma-thakkelung-bodhe-7

उहिले लिम्बूका कुल पितृ युमाले आफ्ना सन्ततिहरूलाई तान बुन्न सिकाउँदै हिँडिन् । उनले लिङखिमको थाकथाक्सिबोमा (तान बुन्न बस्ने ढुंगा) बसेर फुरुम्बुको मुयुम स्थित ताङ्गेलुङ (तानको धागो बाँध्न गाडिएको ठाडो ढुंगा) सम्म तान लगाएका ढुंगाहरूलाई पनि पहिरोले लैजान आँटेको छ । युमाले नै तान लगाएको धनकुटा चौबिसको बोधे-७ मुर्कुटेको युमा थाक्केलुङलाई पनि रगुवाखोलाले काट्दै छ । खुवाफुकको कुसेटारमा अवस्थित युमा ताङ्गेलुङलाई रगुवा खोलाले काटेर बगरमा झारिसकेको छ । बोधे-५ मा पर्ने पहिले थेगिमलिम्बुका पुर्खाहरू छुुट्टिँदा गाडिएको ठाडो ढुंगो हाङसेमलुङ तमोरले बगाउन आँटेको छ ।

तमोर खोला क्षेत्रभित्र एखाबु र लेलेपको सिर मुरिङला खारिङला डाँडाको आसपास लिम्बू जातिको उद्गम स्थल भएको मुन्धुमले बताउँछ । उक्त डाँडाको शिरमा नुगो लिम्बूका पुर्खा झरेको ढुंगाको अवशेष (नुगो थामादेन) नै छ । आज ती नुगोलिम्बूहरू नै मुन्धममा भेटिएका सावा येहाङका मूल नश्ल देखिन आउँछन् ।

तमोर वारिपारिका फुरुम्बु, लिङखिम, ताप्पेथोक, लेलेप, एखाबु, सावादेन लगायत गाउँहरू आजसम्म पनि मुन्धुममा जस्ताको त्यस्तै वणिर्त छन् । ती ठाउँहरूमा लिम्बू जातिको सभ्यताको सुरुवात भएको पाइन्छ । इखाबु-६ मा पर्ने लोक्फातेन हाङफातेन गाउँमा दाजुभाइ पेबु र लाप्सा र उनीहरूका चेली खाप्पुरा मेल्लङनामाले सृष्टिको पहिलो बिहानीमा घरको मूल खाँबो रोपे ।

लेलेप-१, मा पर्ने साँगो रक्मा कोपिरक्मामा साम्बा सुङलुमफुम्बा र आङगोरा शसिकहाङमाले नेन्दुरि पासाङगा (ढुंगाको तराजु) रोपेर आ-आफ्नो आयु तौलिएर विवाह गर्ने संकारको सुरुवात गरे । ताप्लेजुङ जिल्लाको तमोरखोला क्षेत्रदेखि बाहेक पाँचथरको कुम्मायक कुस्सायक, सेहोनाम्लाङ (छालासुकुवा डाँडा), इलामको नामसेलिङ र तेह्रथुमको इवा हडाको पनि मुन्धुममा चर्चा गरिएको छ । यी ठाउँहरू ऐतिहासिक र सांस्कृतिक भएकाले सांस्कृतिक पर्यटनको आधार बन्न सक्छन् ।

2

राज्यले राजश्व असुल्न मौजुदा विभिन्न जातजातिका सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसार गरे पुग्छ । हामी अक्सर मिश्र र मेसापोटामियाको मानव सभ्यताको मात्र चर्चा गर्ने गर्छाैं । लिम्बू जातिको यत्रो चर्चा भएको तमोर सभ्यताको अध्ययन-अनुसन्धान किन नगर्ने ?

लिम्बू जातिका यस्ता सांस्कृतिक र संस्कार सम्बन्धी ठाउँहरूको महत्व बढी लिम्बू देवारीहरू फेदाङमा, साम्बा र येबा/येमाहरू र तुम्याङ (जानिफकार) हरूले मात्र जान्ने हुन् । तर, यस्ता देवारीहरू र जानिफकारहरू सत्यहाङमा (लिम्बू संस्कृति, संस्कारमा हिन्दू मूल्य मान्यता मिसाउने) हुंदै क्रिश्चियन बन्दै गइरहेका छन् । आज यस्ता ठाउँहरूको संरक्षण गर्नु त छँदै छ, सँगसँगै यस्ता जानिफकार र देवारीहरूको पनि राज्य र जाति दुवैले ख्याल राख्नुपर्ने दिन आएको छ । आज जातिहरूमा आफ्नो सम्पदा बचाउन सचेत हुँदाहुँदै पनि ज्ञान र सीपको अभावमा विकासको अतिक्रमण र प्राकृतिक प्रकोपबाट आफ्ना सम्पदा बचाउँदा मौलिकता कसरी बचाइराख्ने, अर्को ठूलो चुनौती बनेको छ ।

लिम्बूहरूको जातीय संस्था चुम्लुङलाई आज राज्यको विकासको अतिक्रमण र प्राकृतिक प्रकोपमा आफ्नो सांस्कृतिक सम्पदा परेको थाहा भए पनि चासो देखाएको पाइँदैन । जातीय संघसंस्थाहरूलाई विदेशी संस्थाहरूले अधिकारको नाममा अर्बौं रुपैयाँ लगानी गरिरहेका छन् । तर, जातीय संघसंस्थाहरूले सबै कुरा राजनीति मात्र हो भनेर बुझ्न खोज्नुले पहिचान जातिले कि राजनीतिमध्ये कसले बचाउने हो भन्ने अवस्था आएको छ । यस्तो अवस्थामा पुख्र्यौली पदचाप नै मेटिएपछि कहाँ टेक्नु ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment