Comments Add Comment

‘पातलो ज्यान मेरो मोटाको बिहे गरेर होइन !’

त्यो करिअर, जुन मोटोपनले खाइदियो

sirjana_8101‘सम्झनाको डान्स कति राम्रो !’, ‘ज्यान पनि कपासको हो कि क्या हो, कति फूर्तिलो !’

कुनै समय नृत्यांगना सम्झना बुढाथोकीले दर्शक र शुभेच्छुकहरुबाट प्रशंसाका यस्तै शब्द सुन्न पाउँथिन् । जसले उनलाई फुरुंग पार्थ्यो। साढे दुई वर्षयता भने उनका लागि धेरै कुरा फेरिएका छन् । सबभन्दा पनि शुभेच्छुकहरुबाट आउने शब्दहरू अर्कै भएका छन् ।

नाच्न त उनी अहिले पनि पहिले जस्तै सकेसम्म ज्यान कपास झैं हल्का बनाएर नाच्छिन् । तर, दर्शकले उनको नाचलाई भन्दा बदलिएको शरीरमा प्रतिक्रिया जनाउँछन् ।

पहिले नृत्यको ‘स्टेप’ र तौरतरिकाहरू ख्याल गर्ने सम्झना अहिले आफ्नो वजनप्रति बढ्ता सजग छिन् । एक समय ९५ किलो थियो तौल, अहिले ८० मा झारेकी छिन्

उनी अचेल जहाँ पनि सुन्छिन्, ‘कस्तो मोटाएको सम्झना ! के भयो सम्झना ?’ पछिल्लो समय म्युजिक भिडियोहरूमा खेल्दा पनि ‘मोटी भयौ’ भन्ने रेस्पोन्स बढी पाउँछिन् । तर, ‘सुपारी चाम्रो’, ‘लालुपाते नुघ्यो भुइँतिर’ जस्ता चर्चित लोक दोहोरीकी यी ‘डान्स क्विन’को आफ्नै खालको पीडा छ । त्यो पीडालाई भित्रभित्रै पचाउँदै त्यस्ता रेस्पोन्सहरुमा पनि खुसी मनाउँछिन् उनी ।

पहिले नृत्यको ‘स्टेप’ र तौरतरिकाहरू ख्याल गर्ने सम्झना अहिले आफ्नो वजनप्रति बढ्ता सजग छिन् । एक समय ९५ किलो थियो तौल, अहिले ८० मा झारेकी छिन् । भन्छिन्, ‘पहिला ४९/५० भन्दा माथि जादिनँ थिएँ । ५३ भयो भने पनि मन एकदम आत्तिन्थ्यो, ला ! म बेस्सरी मोटाएछु भन्ने फिल हुन्थ्यो ।’

मोटाएपछि दैनिकीमा फेरबदल आएको छ उनको । म्युजिक भिडियोहरूमा कम देखिन थालेकी छिन् । एक समय लोक दोहोरीका भिडियोमा एकछत्र राज गरेकी उनको ठाउँ अहिले नयाँ–नयाँ नृत्यांगनाहरुले लिएका छन् ।

तर, उनी भने मोटाएपछि करिअरमा अप्ठेरो परेको र आफ्नो क्रेज घटेको स्विकार्दिनन् । ‘अझै पनि म म्युजिक भिडियोहरुमा काम गरिरहेकै त छु नि । आफूले दिनुपर्ने चिज दिइ नै रहेकी छु । करिअरमा अप्ठेरोभन्दा पनि सबैले मोटी–मोटी भन्ने हो,’ उनले सुनाइन् ।

नृत्यमा पहिले जसरी नै काम गरिरहेको दाबी गरे पनि मनै त हो, एक्लै हुँदा उनी करिअरको उकालो र ओरालोको लेखाजोखा गर्छिन् । कहिलेकाहीँ सोच आउँछ रे, ‘फिट नभएर आफूलाई म्युजिक भिडियोमा कम लिन थालेका हुन् ।’
अहिले दिनरातको आफ्नो सपना सुनाइन् उनले, ‘ल, अब त स्लिम हुनुभएछ भन्ने कुरा सुन्न पाइयोस् भन्ने छ मलाई ।’
मोटाएँ भन्ने चिन्ता भए पनि खानेकुरा देखेपछि मन थामिँदैन उनको । मासु–भातको सौखिन छिन् । ‘घरमा आमाले तिमी त सेलिब्रेटी हौं, मेन्टेन गर्नुपर्छ भनेर खानामा कन्ट्रोल गर्न सम्झाए पनि मासु बिना बरु भातै खान्नँ म ।’

उनको आमा पनि मोटोघाटो छिन् । सानोमा उनी आमालाई भोलि–पर्सि तपाईँ जस्तै हुन्छु होला है भनेर डराउँथिन् रे । नभन्दै त्यस्तै भएको छ, अहिले आफू आमा जत्तिकै भएको उनले सुनाइन् ।

त्यो छरितो ज्यान, त्यो व्यस्तता

०६० सालपछिको समय सम्झनाको करिअरको व्यस्त समय भएर आयोे । उनले दिनमै चार वटासम्म म्युजिक भिडियोमा काम गरिन् । छरितो ज्यानले नृत्य देखाउन देश–विदेश चहारिन् । भन्छिन्, ‘नेपालीहरु भएको र बढी चलेको ४–५ वटा देश मात्र होला जान बाँकी ।’ कतिपय देश त दोहोर्‍याई–तेहेर्‍याई ५–१० चोटिसम्म पुगिन् ।

व्यस्तता कतिसम्म हुन्थ्यो भने, उनको खुट्टा नेपालमा कमै टिक्थ्यो । त्यति धेरै टुर गर्थिन् कार्यक्रमको लागि । उदाहरणका लागि, दिउँसो लोक दोहोरीको सुटिङ सकेर बेलुका पोखरा लाग्थिन् । त्यहाँ कार्यक्रम सिध्याएर भोलिपल्ट काठमाडौं आउनासाथै विदेश उड्थिन् ।

यस्तो व्यस्तताको फल लगातार करिब चार वर्षसम्म चाख्न पाइन् उनले । ‘त्यो बेलामा कार्यक्रमका लागि बोलाएका कतिपय ठाउँमा जान नभ्याएर कतिको मन पनि दुखाएँ होला’, उनले व्यस्तताका दिनहरु सम्झिइन्, ‘एउटा कार्यक्रममा ओके गरिसकेको हुन्थेँ, अर्को अफर आउँदा त्यसलाई क्यान्सिल गर्नुपथ्र्यो । त्यस्तो धेरै चोटि गरेँ ।’

sirjana-budhathoki-2दिनरात नृत्यभन्दा अर्को संसार थिएन उनको लागि । घरपरिवारले एक झल्को देख्न पनि कुनै बेला त लामै समय कुर्नुपथ्र्यो । आजित भएर परिवारका सदस्यहरु उनीसँग भन्थे, ‘कहिलेकाहीँ त छुट्टी लिन मिल्दैन ?’

उनको लागि दशैं–तिहार जस्ता चाडपर्व परिवारसँग बसेर मनाउने रुपमा आउँदैनथ्यो । किनकि विदेशमा बढीजसो कार्यक्रम त्यस्तै अवसरमा हुन्थे । दशैं–तिहार अक्सर छुटेकै हुन्थ्यो ।

‘क्रेज घटेको कसरी भन्नु’

पहिले दैनिकजसो म्युजिक भिडियोको सुटिङमा कम्मर मर्काउने सम्झनाको व्यस्तता पछिल्लो समय घटेको छ । कारण, भिडियोमा खेल्नका लागि आउने प्रस्तावहरु नै घटेका छन् ।

पहिलेको दाँजोमा आफू नखस्किए पनि आफ्नो बजार खस्केको उनले महसुस गरेकी छिन् । भन्छिन्, ‘म्युजिक भिडियोमा लिने मान्छेहरुले पनि सबै कुरा हेर्नुपर्ने भएर होला । फेरि, मान्छेले सकेसम्म फ्रेस नै हेर्छ । उहाँहरुलाई मात्र दोष दिन पनि मिल्दैन । आफूमा पनि कमजोरी भएरै होला, उहाँहरुले बेवास्ता गर्नुभएको ।’

व्यस्तता केही कम भए पनि आफ्नो क्रेज ज्यूँका त्यूँ रहेकोमा उनी ढुक्क छिन् । यसको प्रमाण उनले पछिल्लो समय कतिपय गीतहरु आफूलाई हेरेर बनाइएको भन्दै उदाहरण अघि सारिन् । प्रतिप्रश्न गर्छिन्, ‘सबै जनाले मेरै नाममा, मलाई नै हेरेर गीत बनाउनुहुन्छ । क्रेज घट्या कसरी भन्नु ?’  सम्झनाले पछिल्लो पटक मोडलिङ गरेको एउटा गीत हो, ‘पातलो ज्यान मेरो मोटाको बिहे गरेर हो ।’

उनले खसखस लागेर यो गीत बनाउने राजु ढकालसँग सोधिन् ।
ढकालले बताए, ‘बहिनी, तपाईंलाई नै सम्झेर बनाएको है यो गीत ।’

गीतमा उठाइएको मोटोपनको सन्दर्भ उनीसँग मिले पनि बिहेको सन्दर्भ भने मिल्दैन । उनी अझैसम्म सिंगल नै छिन् । तर, धेरै दर्शकलाई लाग्छ, सम्झना बिहेर गरेर मोटाइन् । यो कुरामा उनी अभिनीत म्युजिक भिडियोमा उठाइएको बिहेबारी र बच्चाबच्चीको प्रसंगले पनि बल पुर्याइदिन्छ ।

दुई महिना अगाडि काठमाडौंकै बालाजुमा सुटिङका क्रममा जाँदा त्यस्तै धारणा राख्ने दर्शकमध्येका एक जनासँग उनको भेट भयो । एउटी बूढी आमैले गफको मेलो सुरु गर्दै भनिन्– ‘छोरी, म तिम्रो नाच यति हेर्छु, निकै राम्रो लाग्छ ।’

‘म पहिलेदेखि नै मोटो भएको भए अलि फरक पर्थ्यो होला, पहिला स्लिम थिएँ । अहिले मोटो देख्दा यो बिहे गरेर मोटाई, बच्चा भयो, अब घरगृहस्थीमा लागी भन्ने सोचाइ भयो मान्छेहरुको ।’

खुसी हुँदै उनले जवाफमा धन्यवाद भनिन् ।

त्यसपछि बूढी आमैले अझ नजिकिँदै आफ्नै छोरी–नातिनीलाई झैं सोधिन्, ‘अनि नानी चाहिँ कतिवटा रे ?’
सम्झना चकित परिन्, ‘कसको नानी ? मेरो त बिहे नै भएको छैन त आमै ।’
आमैले जिब्रो टोक्दै सुनाइन्, ‘लौ, सप्पैले दुइटा नानी छ भन्छ त †’
हुन पनि उनले त्यस्तै गीतमा अभिनय गरेकी छिन्, ‘यो साल मैले छोरा पाएँ, अब छोरी पाउने ।’ त्यसैबाट गीतको कथालाई सर्वसाधारणले वास्तविकतामा हेरिदिए ।

उनले भनिन्, ‘म पहिलेदेखि नै मोटो भएको भए अलि फरक पर्थ्यो होला, पहिला स्लिम थिएँ । अहिले मोटो देख्दा यो बिहे गरेर मोटाई, बच्चा भयो, अब घरगृहस्थीमा लागी भन्ने सोचाइ भयो मान्छेहरुको ।’

गीतमा मात्र त्यस्तो भनेको बताएपछि ती बूढी आमैले बल्ल कुरो बुझिछन् । जाँदाजाँदै आमैले भनिन्, ‘त्यो गीतमा भनेको जस्तो त होइन रै’छ । मान्छेहरु यत्तिकै कुरा बनाउने रैछन् । नानी, ल अब तिमीलाई केटा खोजिदिन्छु है ।’
यस्ता प्रसंगहरुले कहिलेकाहीँ रमाइलो दिन्छ उनलाई ।

आफैंलाई सोध्छन्, सम्झनाजी खै ?

स्टेज शो र म्युजिक भिडियोमा नाच्ने सम्झना पछिल्लो समय त्यतातिर घटेको  व्यस्तता आफ्नै बुटिक र डान्स ट्रेनिङ सेन्टरमा समय दिएर पूरा गरिरहेकी छिन् । बागबजारमा त्रिवेणी कला केन्द्रसँगै उनले बुटिक चलाएकी छिन् ।

sirjana-budhathoki-1

डान्स सेन्टर चलाउन थालेको ६ वर्ष भयो भने बुटिक सुरु गरेको तीन वर्ष भयो । अर्को बुटिक छ, नक्साल नागपोखरीमा । पछिल्लो समय ‘बिजनेस वुमेन’का रुपमा चिनिएकी छिन् ।

बागबजारको बुटिक चाहिँ बुटिकभन्दा ज्यादा सांस्कृतिक कार्यक्रम तथा लोकगीतको म्युजिक भिडियोका लागि चाहिने विभिन्न आइटमका ड्रेसहरु भाडामा पाउने ठाउँ हो । म्युजिक भिडियो बनाउने मान्छेहरु ड्रेस लिन आइरहन्छन् । काम गर्न राखेको मान्छेलाई ड्रेसको सेटबारे थाहा नहुने भएकाले उनी आफैं बस्छिन् बागबजारमा ।

त्यसै क्रममा त्यहाँ आउने कतिपय मान्छेले सम्झनाको सोधखोज गर्छन् । उहिलेको स्लिम सम्झना अहिले मोटाएकोले चिन्दैनन् ।

‘म आफैं बुटिकमा बसिरहँदा सम्झनाजी खै भनेर सोध्छन् । धेरैले मैंलाई त्यसरी सोध्छन्’, उनले हाँस्दै सुनाइन् ।
‘ल, मैं त हो नि सम्झना’ भनेर उनी जवाफ दिन्छिन् ।

त्यो विषयलाई एकछिन त उनी हाँसोमा उडाउँछिन् । पछि चाहिँ साह्रै नमज्जा लाग्छ । त्यो बेला उनलाई अति रिस उठ्छ ।
‘अगाडि भएदेखि भगवानसँग कुश्ती नै खेल्थेँ होला जस्तो हुन्छ’, आफ्नो मोटोपनबारे उनी झोंक पोख्छिन् । फेसबुकमा मोटोपनमाथि टिप्पणी गर्दै दर्शकहरुको म्यासेज आउँदा हीनताबोधसँगै छटपटी खेप्छिन् । सोच्छिन्, भएदेखि अहिलेको अहिल्यै घटुम् !

खासमा दायाँ खुट्टाको लिगामेन्टमा समस्या आएपछि सम्झनालाई मोटोपनले दुःख दिएको हो । साढे दुई वर्षअघि लिगामेन्टको समस्याका कारण डाक्टरले ६ महिना पूर्णरुपमा रेस्ट गर्न भने । ‘तर, रेस्ट भन्दाभन्दै अलि धेरै नै रेस्ट भएछ, यस्तो मोटाएँ’, खित्का छाड्दै सुनाइन् ।

डान्सको एक्सरसाइजले नै उनलाई खुट्टाको समस्या भएको हो । अहिले त्यही एक्सरसाइज गर्न नपाउँदा शरीरमा बोसोले ‘गति छाडेको’ उनलाई लाग्छ । अलिकति एक्सरसाइज गर्ने बित्तिकै लिगामेन्ट खुस्किन्छ । दुःखाइ असह्य भएपछि त्यत्तिकै थाती राख्छिन् ।

तर, उनले हार भने खाएकी छैनन् । भन्छिन्, ‘कोसिस गर्यो भने नहुने केही छैन । किनभने कुनै समय ९५ किलोको थिएँ म । अहिले त घटेर ८० मा आएँ नि !’

०५८ सालमा मोटरसाइकल दुर्घटनामा उनी घाइते भइन्, जुन बेला नामी डान्सरको पहिचान बनाइसकेकी थिइन् । आइटम डान्सहरु गर्दैगर्दा नै ६–७ वटा फिल्म खेल्ने कुरा भएको थियो, हिरोइनको मुख्य रोलमै । तर, दुर्घटनामा परेपछि सबै अवसर छुट्यो, उनी तंग्रिनलाई एक–डेढ वर्षै लाग्यो ।

दुर्घटना भएपछि एक महिनासम्म उनी कोमामा गइन् । डाक्टरले चान्स छैन भने पनि अन्ततः होश आयो । लामो समय बेड रेस्टमा रहँदा त्यतिबेला एकदम मोटाएकी थिइन् ।

लय संग्रौलाले बनाएको टेलिसिरियल ‘चेतना’ मा रेजिना उप्रेतीसँगै अभिनय गरेकी उनको चाहना थियो, हिरोइन बन्ने । रेजिनाले बाटो समातिन् । उनी भने नृत्यको संसारमै रमाइन्

‘अहिले सम्झिँदा एकदम दुःख लाग्छ । केही गर्छु भनेर नामकै लागि दौडिरहँदा त्यस्तो घटना भयो । पछि त नाम कमाएँ । तर, कमाउँछु भनेर हिँडेको बेलामा भएन,’ उनले पीडा पोखिन् ।

सौन्दर्यको परिभाषामा महिलाको शरीर छरितो हुनुपर्छ, छिनेको कम्मर हुनुपर्छ भन्ने मान्यता उनलाई बजारु लाग्छ, पटक्कै मन पर्दैन । मोटो मान्छेमा पनि ब्यूटीनेस देख्छिन् ।

उनी भन्छिन्, ‘मोटो मान्छेको पनि मन हुन्छ । उनीहरुलाई पनि लगाएको नसुहाउने होइन । मान्छेहरु मोटो मान्छेले नाच्नै सक्दैन, केही गर्नै सक्दैन भन्छन् । दौडमा अलिकति पछि पर्ला, तर दौडिन त दौडिन्छ नि । मैले अहिलेसम्म गरिरहेको छु त ! नृत्य त मेरो रगतमै भएको कुरा हो, कसैले र केही कुराले छेकेर छेकिँदैन ।’

चाम्रो सुपारी, राम्रो चिनारी

सम्झनाले ०५४ सालदेखि डान्स करिअर सुरु गरेकी हुन् । सुरुवाती समयमा मोडर्न डान्सबाटै स्टेज तताइन् । विदेशका कार्यक्रममा पनि मोडर्नकै माग हुन्थ्यो । ६० सालपछि लोक दोहोरीको म्युजिक भिडियोमा जमेपछि मात्रै लोकगीतको ‘डान्स क्विन’ बनिन् ।

लय संग्रौलाले बनाएको टेलिसिरियल ‘चेतना’ मा रेजिना उप्रेतीसँगै अभिनय गरेकी उनको चाहना थियो, हिरोइन बन्ने । रेजिनाले बाटो समातिन् । उनी भने नृत्यको संसारमै रमाइन् ।

हुन पनि सानैदेखि नाच्न भनेपछि मरिहत्ते गर्थिन् उनी । स्कूलमा डान्सरका रुपमा निकै कहलिएकी थिइन् । हिन्दी फिल्महरु हेर्थिन्, गोविन्दाको डान्स र माधुरी दीक्षितको हाउभाउले भुतुक्कै बनाउँथ्यो ।

धुम्बाराहीको युनिभर्सल इंग्लिस बोर्डिङ हाइस्कूलमा पढ्दा नृत्य प्रतियोगिताहरुमा उनी नै रोजाइको छात्रा थिइन् । कतिसम्म भने, नाच्ने क्रममा कोही केटा पुगेन भने केटाको भेषमा समेत नाच्थिन् ।

‘चेतना’ पछि केही सेल्युलाइड फिल्महरुमा खेलिन् । हिरोइन हुने रहर भने लोकगीतको म्युजिक भिडियोबाटै चित्त बुझाउन थालिन् । लोकदोहोरीमा नृत्यांगना भएर चम्किएपछि ३÷४ वटा फिल्ममा समेत अभिनय गरिन् । फिल्ममा हिरोसँग रोमान्स गर्ने हिरोइन नभए पनि डान्सर भनेर चिनिँदा पनि उनी खुसी नै मान्छिन् ।

sirjana-budhathoki-3नाच्ने मोह र जागिरको खोजीका क्रममा सम्झनाले ०५९ सालमा सशस्त्र प्रहरीमा जागिरे भइन् । काम थियो, राजाको जन्मोत्सव र अन्य विशेष समारोहमा नाच्ने । अरु बेला डान्सकै ट्रेनिङ ।

कार्यक्रमहरुमै नाच्ने क्रममा राम्रो खुबी देखेपछि शंकर बिसीको नजर उनीमाथि पर्यो । कृष्ण फिल्म्सबाट म्युजिक भिडियो बनाउने उनी ‘सँगै काम गरौं’ भनेर बोलाइराख्थे । तर, फलानो दिन मिलाऔं न त भनेर भाका राखे पनि प्रहरीको जागिरबाट उनलाई हत्तपत्त समय मिल्थेन ।

पछि एउटा शनिबार संयोग जुर्यो र ‘सुपारी चाम्रो’ बोलको लोक दोहोरीमा शंकरसँगै जोडी बाँधेर म्युजिक भिडियोमा नाचिन् । मोडर्न डान्स गर्दै आएकी युवतीलाई त्यतिबेला यस्तो सुपारी चाम्रो भन्या के होला भन्ने लागेछ । तर, त्यही चाम्रो सुपारीले कमालको स्वाद दिलायो उनको डान्स करिअरमा । त्यो गीत उत्पातै चल्यो । उनको माग पनि राम्रै हुन थाल्यो । त्यो एउटा गीतले हजारौं गीतमा मोडलिङ गर्न पाउँदा त्यसमा शंकरलाई धन्य भन्छिन् उनी ।

पारिश्रमिक दुई हजार रुपैयाँबाट बढ्दै गएर पाँच हजारसम्म पुग्यो । त्यो बेलामा हाइ रेट नै मानिन्थ्यो त्यो रकम । विदेशको कार्यक्रममा ५० हजारसम्म लिन्थिन् । तिनै कामको कमाइले बालाजुमा घर बनाएकी छिन्

त्यसपछि एकपछि अर्को म्युजिक भिडियोको कामले घेर्यो । जागिरभन्दा बाहिरको काममै बढी व्यस्त हुने अवस्था आएपछि उनले ०६५ सालमा सशस्त्र प्रहरीबाट राजीनामा दिइन् । त्यसपछि नामी नृत्यांगनाको यात्रा अझ व्यस्त भयो । पारिश्रमिक दुई हजार रुपैयाँबाट बढ्दै गएर पाँच हजारसम्म पुग्यो । त्यो बेलामा हाइ रेट नै मानिन्थ्यो त्यो रकम । विदेशको कार्यक्रममा ५० हजारसम्म लिन्थिन् । तिनै कामको कमाइले बालाजुमा घर बनाएकी छिन् ।

‘सुपारी चाम्रो’ बाट यात्रा थालेको शंकर–सम्झनाको जोडीलाई दर्शकले निकै रुचाए । सम्झनाले अहिलेसम्म करिब १४ सय वटा म्युजिक भिडियोमा मोडलिङ गरिसकिन्, त्यसमध्ये आफूले सबभन्दा बढी भिडियोमा खेलेको शंकरसँगै होला भन्ने उनको ठम्याइ छ ।

अझै पनि धेरै जनाले फेसबुकमा उनलाई भन्छन् रे, ‘शंकर दाइसँग फेरि खेल्नु न । दाइसँग अरु मोडलहरु खेलिराखेका हुन्छन्, किन–किन त्यो जोडी राम्रो नै लाग्दैन । तपाईंहरुको जोडी पो बबाल लाग्छ ।’

यो जोडी दर्शकमाझ कति प्रिय भयो भने, धेरैले सोच्थे यिनीहरु त साँच्चैका बुढाबुढी हुन् । ठाउँठाउँमा यस्तो कुरा सुनेर दुवै जना रमाइलो मान्थे । तर, उनीहरुबीच पहिलो चोटि भेट हुँदा नै शंकर पहिल्यै विवाहित थिए । उनी शंकर दाइ भनेर सम्बोधन गर्छिन् ।

sirjana-budhathoki-4

पहिले र अहिले

अहिले बनिरहेका म्युजिक भिडियोदेखि सम्झनालाई त्यति चित्त बुझ्दैन । छिटो काम सक्ने हतारोले स्तर खस्किएको देख्छिन् । पहिले आफ्नो व्यस्त करिअरमा जतिसुकै व्यस्तता भए पनि दिनमा एउटा मात्र गीतको सुटिङ हुने उनी सम्झिन्छिन् ।

‘त्यो समयमा कुनै कुनै म्युजिक भिडियो त तीन दिन लगाएर पनि पूरा गरिन्थ्यो, तर अहिले दिनमै तीन–चार वटासम्म सिध्याउने टे«न्ड छ’, उनले खल्लोपन व्यक्त गरिन् ।

पहिले र अहिलेको कुरा गर्दा त्यो बेला एक हदसम्म चर्चाको स्वाद चाखे पनि उनलाई आफू अलिकता छिटो जन्मेँ कि भन्ने लाग्छ । अहिले फेसबुक, ट्विटर, युट्युब जस्ता इन्टरनेटका अनेक माध्यमबाट सेलिब्रेटीहरु चम्किएको देखेर उनी लोभिन्छिन् ।

‘त्यत्तिका म्युजिक भिडियोमा खेले पनि मैले युट्युबमा पपुलारिटीको अनुभव गर्न पाइनँ । आफूले गरेको काममा युट्युब, फेसबुकबाट दर्शकको प्रतिक्रिया चाख्न पाइएन’, थकथक मान्छिन् ।

त्यस्तो तत्कालै प्रतिक्रिया आउने प्रविधिको मिठास चाख्न मन छ उनलाई । पछिल्लो समय युट्युबमा उनले खेलेको म्युजिक भिडियोमा रेस्पोन्सहरु त आउँछन्, तर उही ‘मोटी भयौ’ टाइपका ।

उनी ती दर्शकलाई भन्छिन्, ‘पर्खिनुस्, आइ नै राखेको छु । तर, अझ राम्रो र छरितो भएर आउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment