Comments Add Comment

जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरका लागि इ-हाजिरी सेवा

Fake-Doctor

२२ कात्तिक, काठमाडौं । देशभरका जिल्ला अस्पतालहरुमा विशेषज्ञ चिकित्सक अनिवार्य उपस्थित गराउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले इ-हाजिरी सेवा सुुरु गर्ने भएको छ ।

आउँदो दुई महिनाभित्र देशका प्रत्येक अस्पतालहरुमा इ-हाजिरी सेवा सुरु गर्ने लक्ष्यसहित आवश्यक गृहकार्य सुरु गरिसकेको मन्त्रालयले जनाएको छ । त्यसका लागि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभाग, निजी सचिवालय तथा केही स्वंयसेवकहरु मिलेर काम अघि बढाइएको छ ।

‘स्वास्थ्य निर्देशिकाले अनिवार्यरुपमा प्रत्येक अस्पतालमा चिकित्सकहरु पठाउने भने पनि धेरैजसो चिकित्सकहरु तोकिएको ठाउँमा गएको पाइएन,’ मन्त्रालय स्रोतले भन्यो, ‘यसैलाई कडाइका साथ लागू गर्न अहिले मन्त्रालयले इ-हाजिरीको तयारी सुरु गरेको हो ।’

रजिस्टरमा हाजिर गर्ने व्यवस्था हुँदा चिकित्सकहरु लामो समयसम्म गयल भए पनि धेरै दिनपछि उपस्थित भएर गयल भएको दिनमा हाजिरी जनाउने गरेको पाइएको छ । कम्प्युटराइज्ड सिस्टमबाट हाजिरीको व्यवस्था भएमा गयल भएको दिनमा गयल नै जनाइन्छ ।

इ-हाजिरी सेवा अन्तर्गत सिधै कम्प्युटरमा हाजिर गर्ने व्यवस्था गर्ने कि प्रत्येक अस्पतालहरुमा इलेक्ट्रोनिक हाजिरी मेसिनको व्यवस्था गर्ने भन्ने विषयमा हालसम्म पनि छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

‘निर्देशनका बाबजुद पनि कयौं चिकित्सकहरु अझै पनि तोकिएको अस्पतालमा नपुगेको भन्ने गुनासो आइरहेका छन् भने कति ठाउँमा रिक्त दरवन्दीका कारण चिकित्सक नभएको अवस्था छ’, मन्त्रालय स्रोतले भन्यो, ‘त्यसैलाई व्यवस्थित गर्न इ-हाजिरीको अवधारणा अघि सारेका हौं ।’

यो अवधारणा लागू हुनासाथ जिल्लामा रहने प्रत्येक चिकित्सक तोकिएको अस्पतालमा कार्यरत भए, नभएकोे तुरुन्तै हेर्न सकिने मन्त्रालयको दावी छ ।

मन्त्रालयका अनुसार हाल देशभरका अस्पतालहरुमा मेडिकल अफिसरको रिक्त दरवन्दी संख्या ३३५ छ । जसमध्य २१९ जनालाई लोकसेवामार्फत पदपूर्ति गर्ने तयारी भैरहेको छ । लोकसेवा आयोगले पनि यही महिना मौखिक अन्तर्वार्ता लिँदैछ ।

यसैगरी, बाँकी १०५ जनाको हकमा अर्को वर्षकालागि समेत मन्त्रालयले चिकित्सक दरवन्दीका लागि सूचना जारी गरिसकेको छ । त्यस बाहेकका चिकित्सकहरुलाई भने करारमार्फत देशभरका अस्पतालहरुमा पठाउने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment