२५ कात्तिक, काठमाडौ । सार्वजनिक प्रशासनको नाम सुन्दैमा आम सर्वसाधारणले नाक खुम्च्याउने स्थिति छ । कुनै समय नेपाल सरकारको कर्मचारीभन्दा समाजमा जुन सान र प्रतिष्ठा थियो, अहिले त्यसको ठ्याक्कै विपरीतको बुझाइ बनेको छ ।
हरेक दिन सार्वजनिक प्रशासन कमजोर र विकृत बन्दै जानुका कारण खोतल्न हामीले ३७ बर्ष निजामती सेवामा विताएर अवकासको पर्खाइमा रहेका एक सचिवलाई भेटेका छौँ । प्रशासकहरुको भिडमा अलि भिन्न अनुहार हुन्- सचिव शारदाप्रसाद त्रिताल ।
वि.स. ०३७ सालमा कृषि विकास बैंकबाट सार्वजनिक सेवा प्रवेश गरेका त्रितालले एक बर्षमै पढाइ विग्रन्छ भन्दै जागिर छोडेर पढ्न थाले । आफ्नो पढाइ र लोकसेवाको पढाइलाई सँगै अगाडी बढाएका उनको २ बर्षपछि फेरि सुब्बामा नाम निस्कियो । उनी काठमाडौमा बसेर केही बर्ष पढाइ र जागिरे जीवनलाई सँगै अगाडि बढाउन चाहन्थे । तर, त्यसो भएन । उनलाई खोटाङ सरुवा गरियो ।
त्रितालले फेरि पनि पढाइ बिग्रने भयो भन्दै जागिरै छाडिदिए । त्यसपछि स्नातकोत्तरको पढाइ सकेर ०४३ सालमा पुनः अफिसरमा नाम निकाले । त्रितालको सार्वजनिक प्रशासनमा नियमित यात्रा यहीँबाट सुरु भयो ।
अहिलेभन्दा पञ्चालयकालकै ठीक ?
त्रितालले जतिखरे सार्वजनिक प्रशासन वा निजामति सेवामा प्रवेश गरे, त्यतिखेरको प्रशासन पञ्चायतबाट नियन्त्रित भए पनि अनुशासित र जनताप्रति उत्तरदायी थियो । कर्मचारी पञ्चायतप्रति बफादार हुनुपर्थ्यो । पञ्चायतका पक्षमा नरहेका कर्मचारीलाई पर्चा खडा गरेर तत्कालै जागिरबाट निकाल्थ्यो । तर, योग्य कर्मचारीहरुलाई उपयुक्त ठाउँमा पठाएर प्रशासनलाई मजवुत बनाउने काम पनि हुन्थ्यो ।
अहिले सार्वजनिक प्रशासन भ्रष्ट, विकृत भएको सन्दर्भमा कुरा गर्नुअघि उनले जागिरे जीवनका सुरुका दिनहरु स्मरण गर्दै भने, ‘ त्यसबेला कम्तिमा अनुशासित तरिकाले काम गर्ने वातावरण थियो ।’
०४६ पछि बिग्रियो, ०६२ पछि खत्तमै भयो
सचिव त्रितालको बुझाइमा ०४६ सालको आन्दोलनमा कर्मचारीको संलग्नतापछि सार्वजनिक प्रशासनमा नेताजस्तै खालको कर्मचारीको हालीमुहाली बढ्न थालेको हो । त्यही बेलादेखि काम गर्ने कर्मचारीहरु ओझेलमा पर्दै गए र विकृति भित्रियो ।
त्यतिबेलासम्म पनि प्रशासन सुधार्ने सम्भावनाहरु बाँकी थिए, त्रिताल भन्छन्-सबैभन्दा बढी प्रशासन बिग्रिन थालेको ०६२/०६३ को आन्दोलनपश्चात हो । ०६२/०६३ को जनआन्दोलन पश्चात कर्मचारी प्रशासन यस्तोसँग बिग्रिएको प्रशासन अन्त कतै देखेका छैनन् ।
अहिले सार्वजनिक प्रशासनभित्र कसैले कसैको योग्यताको मूल्यांकन गर्न छोडेको त्रिताल बताउँछन् । कर्मचारीहरुको बढुवा र भनेका ठाउँको सरुवाका योग्यताहरु खुट्याउँदै उनी भन्छन्, ‘केही निश्चित योग्यता चाहिन्छ, तर, कुनै पार्टीको सदस्यता, त्यो पार्टीको सक्रिय प्रवक्ता वा विभिन्न तरिकाले नेताहरुको चित्त बुझाउने मार्ग अंगाल्न थालिएको छ ।’
यति गरेपछि कुनै पनि कर्मचारीले अन्याय सहनु नपर्ने उनको ब्यांगात्मक टिप्पणी छ ।
पछिल्लो समय प्रशासन सुधारतर्फ उन्मुख भएको हो ? यो प्रश्नमा सचिव त्रिताल भन्छन्, सुधार होइन, थप विकृत र सम्हाल्नै नसकिने बाटोतर्फ लम्किरहेको छ ।
प्रशासनलाई सुधारौं भन्ने सोच भन्दा पनि मैले भनेको काम मान्यो भने अरु काम गर्नुपर्दैन भन्ने सोच नेताहरुमा हाबी भएको उनी बताउँछन् । मन्त्रीहरुले पनि प्रशासन सुधारेर देशलाई जोगाऔँ भन्ने सोचबाट काम नगरेको सचिव त्रितालको आरोप छ ।
अपवाद बाहेक सचिवहरुलाई मन्त्रीहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने पदाधिकारीको रुपमा हेर्ने गरेको त्रितालको दावी छ । प्रशासन सुधारबारे प्रश्न गर्दा उनको सटिक जवाफ छ, ‘प्रशासन सुधार र नियन्त्रणको कुरा अब योजना र ऐनभित्र मात्र साँघुरिएको छ । गजब के छ भने कर्मचारीले काम गर्नुपर्दैन, बर्षको अन्त्यमा सबैले सतप्रतिशत अंक हासिल गरेका हुन्छन् । उनी भन्छन्, ‘हामीसँग यति निरीह प्रशासन छ ।’
त्रितालले आफ्नो सार्वजनिक प्रशासनको अधिकांश समय प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालयमा विताए । सार्वजनिक प्रशासन कसरी चलेको छ भन्ने सन्दर्भमा आफ्नो अनुभव सुनाउँदै उनले भने-‘झिनो संख्यामा रहेका इमान्दार कर्मचारीका भरमा देशले आफ्नो अस्तित्व धानिरहेको छ । सामूहिक प्रयत्न नै प्रशासन हो, तर सामूहिक प्रयत्नबाट देश विकास गर्नेगरि कोशिस भएको छैन ।’
जिम्मेवार को छ ? भ्रष्टाचार किन हुन्छ ?
प्रशासन निरीह छ भन्दा त्यसको नेतृत्व को हो भन्ने पनि हेर्नुपर्छ । निरीह प्रशासनको नायक को त ? त्रिताल भन्छन्, ‘प्रशासनको प्रमुख मुख्यसचिव हुन् । आफ्नो मातहतका कर्मचारीलाई कुन मन्त्रालय र काममा लगाउँदा परिणाम दिन सक्छ भन्ने निर्णय गर्ने अधिकार मुख्यसचिवमा हुनुपर्छ । मुख्य सचिवको सुझाव अनुसार सचिव र विभागको प्रमुखहरु सरुवा भए प्रशासनमा धेरै सुधार हुनसक्ने उनको बुझाइ छ ।
कर्मचारी कसरी भ्रष्टचारी भए ? त्यसका कारणहरु के हुन् ? त्रितालको बुझाइमा कर्मचारीहरुलाई तलबले मात्रै परिवार चलाउन निकै कठिन छ । अफिसको एक पैसा नखाई जीवन चलाउने कर्मचारीहरु पनि छन्, उनी भन्छन्- तर त्यसरी निकै थोरै मात्र बाँच्छन् र टिक्छन् ।
आर्थिक स्रोतका विकल्पहरु खोज्दा अधिकांश कर्मचारीले गलत बाटो रोज्ने गरेको उनको बुझाइ छ । उनी भन्छन्- ‘तलबले पुग्दैन भने विकल्प खोज्नुपर्छ । तर, विकल्प खोज्ने भनेर भ्रष्टाचार गर्ने होइन । सरकारसँग अनुमति लिएर विहान/बेलुका पढाउने, सानातिना उद्योग व्यापार सञ्चालन गरेर विकल्प खोज्नुपर्ने उनको सुझाव छ । नत्र कुनै पनि कर्मचारीले अहिलेको तलबले खान पुर्याउन सक्दैन । विकल्प खोज्ने क्रममा कोहीले राम्रो बाटो हिँडे, कोही नराम्रो ।’
प्रशासन के हो त ? जागिर गरेर कमाउने थलो वा सेवा गर्ने ? यो प्रश्नमा त्रितालको जवाफ छ- निजामति सेवा कमाउने थलो होइन ।’
सचिव त्रितालको एउटा अनुरोध पनि छ, तपाईको नजिक कुनै निजामतिले घर बनाउँदैछ भने सचेत भएर बुझ्नुस्, उसले तलबमात्रै जोगाड गरेर घर बनाउन सक्दैन । पुख्र्यौली सम्पत्तिबाट पनि गरेको हुन सक्छ । तर, निजामति सेवामा रहेर उसले त्यो पैसा कहाँबाट ल्यायो ?
नेताले भन्दा कर्मचारीले काम गरे
त्रितालको बुझाइमा प्रशासन विकृत भए पनि देशको अस्तित्व पनि यही प्रशासनले धानेको छन् । उनी भन्छन्, हुन त प्रशासनलाई नकारात्मक रुपमा हेरिन्छ । तर, ०४६ सालपछि मुलुकको जति विकास भएको छ, इमान्दार कर्मचारीकै बलबाट भएको हो । राजनीति त त्यसपछि सधैँ अस्थिर छ ।
राजनीतिले सही दिशा लिन नसक्दा समेत क्षणिक भए पनि विकास भएकोमा उनले सन्तोष व्यक्त गरे । उनी भन्छन्- काम गर्ने कर्मचारीले नै हो, कतिपय कर्मचारीले फटाइँ काम गरे, कसैले इमान्दारितासहित काम गरे । आखिर काम त गरे । छानविन गर्यो भने निजामति प्रशासनभित्र धेरै फटाइँहरु भेटिने उनको ठक्याइ छ ।
कर्मचारीले काम नगरेको भए यो देश खत्तम हुन्थ्यो, उनले अघि भने-काम गरिरहेकै छन्, तर केन्द्रीय स्तरबाट भएको सुधारका कारण यो-यो काम भयो भन्ने उदाहरण छैन ।
कर्मचारीलाई यति दुषित कसले बनायो ?
‘यसलाई म अलि मिलाएर भन्छु’, त्रितालको जवाफ छ- युनियन, युनियनमार्फत हुने सरुवा र त्यसलाई समर्थन गर्ने राजनीतिक दल । त्यसरी कर्मचारी सरुवा गरेर कमिशन खाने नेता र मन्त्रीहरु प्रशासन दुषित पार्न जिम्मेवार छन् ।’
सचिवले आफूअन्र्तगतको कर्मचारीलाई नियन्त्रणमा राख्ने स्थिति छैन । उनी भन्छन्- त्यसका लागि म पनि जिम्मेवार हुन्छु । हुन त म भरिसके आफु नमूना बनेर सुधारको बाटो खोज्छु । मेरो अभ्यास पनि त्यही हो । यसले केही हदसम्म सुधार हुन्छ ।
उनले थपे-प्रशासन मात्रै दुषित छैन । राजनीति झनै दुषित भैसकेको छ । मन्त्री र नेताहरुलाई बिगार्ने काम चाँहि कर्मचारीहरुबाटै भइरहेको छ । आर्थिक क्रियाकलापसँग सम्वन्धित विषयमा मन्त्रीलाई कुनै अधिकार छैन, सचिव जिम्मेवार छ । तर मन्त्रीलाई हरियो घाँस देखाएर गलत काम गराउँछन् ।