Comments Add Comment

सुजातालाई ५० लाख दिन देउवा र विमलेन्द्रको दबाव

क्याबिनेटबाट ५० लाख दिने निर्णयको तयारी

Sujata Koirala (2)

२५ कात्तिक, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधीले नेतृ सुजाता कोइरालालाई ५० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्न प्रधानमन्त्री प्रचण्डलाई दबाव दिएका छन् ।

प्रधानमन्त्री निरंकुश ढंगले चल्न थालेको आरोप लगाइरहेका कांग्रेस नेता रामचन्द्र पौडेलले समेत सुजातालाई आर्थिक सहायत दिनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई दबाव दिएको स्रोतले बतायो ।

कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर भएको छ । उनको उपचारका लागि एक करोड रुपैयाँ दिइनुपर्ने र त्यसो गर्न नसके ५० लाख भए पनि दिनैपर्ने भन्दै देउवा र निधीले प्रधानमन्त्री प्रचण्डलाई दबाव दिएका हुन् ।

कांग्रेसनिकट स्रोतले अनलाइनखबरसँग भन्यो- ‘गिरिजाकी छोरीसमेत भएकाले सुजातालाई कम्तिमा ५० लाख उपचार खर्च दिइयोस् भनेर सभापति देउवा र गृहमन्त्री निधीजीले प्रचण्डलाई भनेको भन्यै हुनुहुन्छ । तर, उनी अझै अन्कनाइरहेका छन् ।’

कांग्रेस नेताका अनुसार प्रचण्डले सुजातालाई रकम दिन अस्वीकार गरिरहेकै बेला नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री निरंकुश ढंगबाट चल्न खोजेको आरोप लगाएका हुन् ।

भीआइपीहरुलाई राज्यकोषबाट उपचार खर्च दिइनुहुँदैन भन्ने मान्यता राख्ने गगन थापा यतिबेला स्वास्थ्यमन्त्री छन् । देउवा र निधीले यसबारे सीधै प्रचण्डलाई दबाव दिएको स्रोतले बतायो ।

उपचार खर्च दिनै पर्ने अवस्थामा पनि १० लाख रुपैयाँ भन्दा बढी दिन नमिल्ने नीतिगत व्यवस्थाको तयारीमा स्वास्थ्यमन्त्री थापा लागिरहेकै बेला सुजातालाई ५० लाख खर्च जुटाउन देउवा र निधी लागिपरेका हुन् ।

स्रोतले अनलाइनखबरसँग भन्यो- ‘प्रधानमन्त्रीमाथि चर्को दबाव छ, अब क्याबिनेटले सुजातालाई ५० लाख दिने निर्णय गर्‍यो भने अचम्म नमान्दा हुन्छ ।’

पारिवारिक स्रोतका अनुसार सुरुमा सुजाताले निजी जग्गा बेचेर उपचार गर्ने बताएकी थिइन् । तर, देउवा र निधीले नै ‘यसरी हुँदैन, हामी प्रचण्डसँग कुरा गरेर एक करोड आर्थिक सहायता जुटाइदिन्छौं’ भन्ने आश्वासन दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले यति ठूलो रकम उपचार खर्चका नाममा निकासा गर्दा जनताले आफ्नो सरकारको आलोचना गर्ने तर्क अघि सारेको स्रोतले बतायो ।

प्रधानमन्त्रीको अस्वीकृतिपछि कांग्रेस नेताहरु एक करोडको साटो ५० लाखको बार्गेनिङमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment