२८ कात्तिक, पोखरा । विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि परेको छ । महङ्गी तथा भ्रष्टाचार नियन्त्रण तथा खाद्य अधिकार सुनिश्चितताको माग गर्दै गरेको बन्दको प्रभाव पोखरामा विहानैदेखी परेको हो ।
पोखराका मुख्य चोकहरु पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, अमरसिंहचोक, लेकसाइड तथा लेखनाथको अर्घौंचोक, तालचोक, बेगनास लगायतका ठाउँहरु पूर्ण रुपमा बन्द छन् । छिटपुटबाहेक सवारी साधन चल्न सकेका छैनन् ।
यसैबीच, बन्द गराउँदै हिंडेको विप्लव माओवादीका जिल्ला नेता पक्राउ परेका छन् । माओवादीका जिल्ला नेता अमृत सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । रामबजारबाट अमरसिंहचोकतर्फ आउँदै गरेका पुनलाई बिना कारण प्रहरीले पक्राउ गरेको माओवादीका जिल्ला सेक्रेटरी पूर्णजित पुन ‘उभार’ले बताए । प्रहरीले भने बन्द गराउँदै हिंडेको अवस्थामा पक्राउ गरेको र बन्द खुलेपछि चाड्ने बताएको छ ।
बन्दमा प्रेस, मानव अधिकार, प्रहरी, कुटनीतिक नियोग, एम्बुलेन्स, खानेपानी, फोहोर, मलामी चढेको, पर्यटनका आकस्मिक गाडीहरु चल्न दिइने नेकपा माओवादी (विप्लव)का गण्डकी अञ्चल ब्यूरो चिफ सावित्री दुराले जानकारी दिइन् ।
तरुण दललाई छुट
बन्दकर्ताले पोखरामा जारी रहेको तरुण दलको महाधिवेशन लक्षित सवारी प्रयोगमा छुट दिने भएका छन् । गण्डकी अञ्चल व्युरो प्रमुख दुराले तरुण दलको महाधिवेशनका लागि ठूला ४\५ वटा गाडी तथा सामान ओसारपसारका लागि सवारीलाई छुट दिएको बताइन् ।
तस्विरः सुदर्शन रञ्जित
प्रतिक्रिया 4