Comments Add Comment

निर्वाचन आयोगले माग्यो कर्मचारीलाई कारबाही गर्न सक्ने अधिकार

election-commission-nepal

२८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले चुनावमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई कारबाही गर्न सक्ने ठाडो अधिकार दिन माग गरेको छ । विगतका चुनावमा कर्मचारीदेखि सुरक्षाकर्मीले समेत निश्पक्षतामा प्रश्न उठेको भन्दै आयोगले कारवाही गर्न सक्ने अधिकार मागेको हो ।

व्यवस्थापिका संसद अन्तर्गतको राज्य व्यवस्था समितिको आइतबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने, ‘कर्मचारी खटनपटनमा पनि देखियो । आर्थिक व्यवस्थापनमा पनि देखियो । खानपिन, व्यवहार सबैमा प्रश्न उठेको देखियो ।’

आचारसंहिता विपरित काम गर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई कारबाही गर्न सक्ने आधिकार आयोगलाई दिनुपर्ने उनले बताए । प्रमुख आयुक्त यादवले भने, ‘आयोगले यो अधिकार प्रयोग गर्दा विवेकपूर्ण र तथ्यगत रुपमा मात्र गर्नुपर्छ ।’

विगतमा पनि कर्मचारी र सुरक्षा निकायले विभिन्न दलको प्रभावमा परि निर्वाचन आचारसंहिता विपरीत काम गर्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो पाइएमा तत्कालै आयोगले कारवाही गर्ने व्यवस्था ऐन मै राख्न सुझाव दिएका छन् ।

बैठकमा समिति सदस्य अम्रेशकुमार सिंहले निर्वाचन आयोगलाई बलियो बनाउन गैरसरकारी संस्थाहरुको प्रवेश रोक लगाउनुपर्ने बताएका छन् ।

अर्का सदस्य चित्रबहादुर केसीले चुनाव स्वच्छ र निष्पक्ष बनाउने भए दलहरुले निर्वाचन आयोगमा राजनीतिक भागवण्डा गर्न नहुने बताए । समिति सदस्य प्रेम सुवालले थ्रेसहोल्डको व्यवस्था गर्न नहुने बताए । परिवर्तनका लागि लामो समय लडेर आएका दलहरुले पञ्चायतकालीन सोच त्याग्नु पर्ने उनको धारणा थियो ।

दल सम्बन्धी विधेयक, निर्वाचन आयोग सम्बन्धी विधेयक र मतदाता नामावली सम्बन्धी विधेयक राज्य व्यवस्था समितिमा छ । संसदले निर्वाचन सम्बन्धी तीनवटै विधेयकमा परेका संसोधन माथि छलफल गरि आवश्यक परिमार्जन गर्न समितिमा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment