२९ कात्तिक, काठमाडौं । बजारमा देखिएको नगद डलर अभाव कम गर्न नेपाल राष्ट्र बैंकले सोमबार सिंगापुरबाट १ करोड अमेरिकी डलर ल्याउने भएको छ ।
सिल्क एयरबाट भोलि दिउसो १२ बजे अमेरिकी डलर नेपाल भित्रिने राष्ट्र बैकका सहप्रवक्ता राजेन्द्र पण्डितले अनलाइनखबरलाई जानकारी दिए ।
राष्ट बैंकले सिंगापुरस्थित सीआइएम बैंकमा आफ्नै खातामा रहेको अमेरिकी डलर ल्याउन लागेको हो । सिगापुरको सीआइएम बैकसँग गत असोज ६ गते कात्तिक ३० गतेसम्ममा १ करोड डलर नेपाल भित्र्याउने सम्झौता भएको थियो ।
‘कात्तिकभरमा डलर ल्यासक्ने गरी सम्झौता भएको थियो,’ पण्डितले भने, ‘सोही सम्झौता अनुुसार भोलि अमेरिकी डलर नेपाल भित्रिँदैछ ।’
१ करोड एक करोड डलर भित्रिसकेपछि राष्ट बैकसँग रहेको डलर मौज्दातले करिब ८/९ महिनाका लागि पुग्ने पण्डितले बताए । हाल राष्ट्र बैकसँग १० अर्ब ३५ करोडको हाराहारीमा डलरको मौज्दात छ ।
डलर ल्याउँदा २३ हजार डलर अर्थात २३ लाख नेपाली रुपैयाँ खर्च राष्ट्र बैकले नै व्यहोर्ने छ ।
रेमिट्यान्स र पर्यटक नबढ्दा देशमा नगद लडरको हाहाकार नै भएको थियो । तर, कार्डमार्फत भने सर्वसाधारणले तोकिएको सीमाभित्र रहेर डलरको उपलब्ध गराउँदै आएको छ । ‘पर्यटकीय सिजन पनि सुरु भइसकेकाले पर्यटक आगमन पनि बढ्छ र हामीले पनि डलर ल्याउने सम्झौता भइसकेको छ,’ उनले भने, ‘अब नगद डलरको पनि अभाव हुँदैन ।’
प्रतिक्रिया 4