२९ कात्तिक, काठमाडौं । पूर्वमन्त्री सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने सरकारको निर्णयको सांसदहरुले विरोध गरेका छन् ।
व्यवस्थापिका संसदको सोमबारको बैठकमा विपक्षी दलका सांसदहरुले सरकारी निर्णयको विरोध गरेका हुन् ।
एमाले सांसद प्रकाश ज्वालाले कोइरालालाई ५० लाख दिने निर्णय भ्रर्त्सना योग्य भएको बताए । रोल्पाकी एउटी महिला आर्थिक अभावमा उपचार हुन नसकेर मृत्यु भएको र अर्की महिलाले ५० लाख लिएर विदेश गएको भन्दै उनले यो विभेद किन भनेर प्रश्न गरे ।
एमालेका अर्का सांसद यज्ञराज सुनुवारले भने, ‘अहिले सिटामोल खान नपाएर अस्पतालको छतबाट हामफाल्नु परेको अवस्था छ । सरकारले यस्ता गरिब निमुखाबारे के सोचिरहेको छ ?’
राप्रपा नेपालका सांसद दिलनाथ गिरीले सत्ताका नजिक बस्नेहरुबाट राज्यकोष ब्रम्हलुट भएको बताए । यदि कसैलाई उपचार खर्च दिनुपर्ने भए मापदण्ड बनाएर मात्र दिनुपर्ने उनले बताए ।
राजनीतिज्ञ तुलसी गिरी, पूर्व प्रधानन्यायाधीश गोविन्दबहादुर श्रेष्ठले उपचार खर्च माग्दा नपाएको तर, अहिले ५० लाख दिने निर्णय भएको भन्दै उनले विभेद भएको बताए । राप्रपा नेपालका सचेतक गिरीले भने, ‘सिटामोल नपाएर मृत्युवरण गर्नुपर्छ । तर, सत्ताको नजिक बस्नले करोडौं लिएर विदेश शयर गर्ने काम भएको छ ।’
राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले अहिले पनि जनता उपचार खर्च नपाएर मरिहेको तर, सरकारले हुनेखाने र पैसा भएकाहरुलाई उपचार खर्च दिएको भन्दै विरोध गरिन् ।
नेमकिपाकी सांसद अनुराधा थापामगरले उपचार खर्च फिर्ता लिने बाचा प्रधानमन्त्रीले गर्नुपर्ने माग गरिन् ।
सरकारले आइतबार मात्र कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको थियो । कोइरालालाई स्तन क्यान्सर भएको छ र उपचार गर्न सिंगापुर प्रस्थान गरेकी छन् ।
यो पनि पढ्नुहोस्
‘सुजातालाई ५० लाख दिँदा सुनकुमारीलाई विभेद किन ?’
सुजातालाई ५० लाख दिँदा गगन थापालाई झुक्याइयो
स्तन क्यान्सरलाई जितेकी बसुधा भन्छिन्- सुजातालाई स्वास्थ्यलाभको कामना !
प्रतिक्रिया 4