२९ कात्तिक, प्यूठान । सरकारले छिट्टै संविधान संशोधन प्रस्ताव ल्याउने तयारी गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कुनै पनि हालतमा संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
विदेशीको इसारामा नेपाललाई टुक्र्याउने उद्देश्यले सीमांकन हेरफेर सहितको संशोधन मान्य नहुने नेता गौतमले बताए ।
प्रेस चौतारी प्यूठानले सोमवार खलंगामा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सरकार जनताको चाहना भन्दा विदेशीको चाहनामा अघि बढेको आरोप लगाए । ‘सरकार विदेशीको आडमा अघि बढेको छ ।’, उनले भने ‘विदेशी रिजाउने लक्ष्य राखिएकोले तराई पहाड छुट्टाउने खेल हामी हुन दिँदैनौं ।’
‘मधेशवाद’को नाराले हिमाल-पहाडलाई अलग बनाएर देश टुक्राउने खेलमा लागेको उनले बताए । मधेशमा १० प्रतिशत जनमत ल्याउन नसक्नेहरुले अरुलाई ‘मधेशवाद बिरोधी’को आरोपमा लगाउन नमिल्ने उनले बताए ।
‘संविधान जारी गर्ने बेलामा विरोध गर्ने विधंस मच्चाउनेहरु अहिले त्यही संविधान संशोधन गर्ने भन्न मिल्छ ?’ पुर्व गृहमन्त्रीसमेत रहेको गौतमले प्रतिप्रश्न गर्दै भने, ‘हिमाल-पहाडलाई तराईबाट अलग्याएर नेपाल बन्न सक्दैन ।’
नेपालको नाम फेर्ने, जातिय विभाजन गर्ने, झण्डा फेर्ने जस्ता नाराबाट माओवादी पार्टी अगाडि बढेको इतिहास कोट्याउँदै उनले भने, ‘माओवादी नेतृत्वको सरकारले १०० दिनमा सिन्को समेत भाँच्न सकेन ।’
तोकिएको समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिँदै उनले सरकारलाई निर्वाचन सम्वन्धी कानुन अगाडि बढाउन सुझाव दिए । संविधानमा तोकिएको २०७४ माघसम्म निर्वाचन नभए मुलुक गम्भीर संवैधानिक संकटमा पर्नेमा उनले सचेत समेत गराए ।
‘नेकपा एमाले संविधानको कार्यान्वयनका लागि सरकारलाई सहयोग गर्न तयार छ ।’ उपाध्यक्ष गौतमले भने, ‘जनजीविकाका सवालमा सवै एक हुनुपर्छ ।’ मुलुकलाई समृद्धिको दिशा प्रदान गर्ने लक्ष्य र कार्ययोजना एमालेसँग मात्र भएको भन्दै उनले विकासमा राजनीतिक आग्रह हुन नहुनेमा जोड दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की प्रकरणका बारेमा उनले भने, ‘लोकमानले आफुलाई राजामहाराजा सम्झेर अघि बढे, उनलाई कानुन बमोजिम कारवाही हुन्छ ।’
प्यूठान क्षेत्र नं. १ बाट निर्वाचित संसद गौतमले जिल्ला भित्रने बजेटमा बृद्धि भएको बताए । प्यूठानमा बहुउद्देश्यीय नौमुरे जलविद्युत, स्वर्गद्धारीको एकीकृत गुरुयोजना सहितको विकास, अपर झिमरुक जलविद्युत, भालुवाङ-बाग्दुला-भिमगिठे त्रिदेशीय सडक, माडी क्षेत्रमा एकीकृत बस्ती विकास जस्ता ठूला परियोजनाले जिल्लाको मुहार फेरिने उनले उदघोष गरे ।
विजयसिंह भारतीको सहयोगमा
प्रतिक्रिया 4