१ मंसिर, काठमाडौं । ठूलै रस्साकस्सीपछि रामचन्द्र पौडेल समूहले नेपाल तरुण दलको महासचिवमा भुपेन्द्रजंग शाहीको नाम सिफारिस गरेको छ । र, निर्देशक समितिले आज पोखरामा पत्रकार सम्मेलन गरेर तरुण दलको पदाधिकारी घोषणा गर्ने तयारी गरेको छ ।
कांग्रेसको तीन गुट संस्थापन, पौडेल समूह र कृष्ण सिटौला समूहबीच भागवण्डाका आधारमा नेतृत्व चयन गर्ने सहमति भएपछि महाधिवेशन विधान संशोधन र नेतृत्व चयन नै नगरी सकिएको छ ।
अधिकांश प्रतिनिधिले पोखरा छाडिसकेका छन् । बालकृष्ण खाँड नेतृत्वको निर्देशक समिति भने छलफलमा छ ।
सदस्य रामकृष्ण यादवका अनुसार आजै पत्रकार सम्मेलन गरेर पदाधिकारी घोषणा गरिनेछ । केन्द्रीय सदस्यहरु भने काठमाडौंमा आएर मात्र चयन गर्ने तयारी भइरहेको छ ।
देउवा समूहले अध्यक्षमा जीतजंग बस्नेतको नाम दिएको छ भने सिटौला समूहले पाएको उपाध्यक्षमा उत्तमकुमार चापागाईंको नाम दिएको छ ।
पौडेल समूहको भागमा परेको महासचिवमा भने भुपेन्द्रजंग शाही आएका छन् । पौडेल समूहबाट वीपीका नाति सिद्धार्थ कोइराला, प्रकाशमान सिंहका छोरा प्रकाशमान सिंह र डा. रामशरण महतका भतिज रमेश महतको दाबी थियो । तर, पौडेलले शाहीको नाम सिफारिस गरेका छन् ।
सिद्धार्थ भने पदाधिकारीमा नपर्ने देखिएको निर्देशक समितिका एक सदस्यले अनलाइनखबरलाई बताए ।
प्रकाश कोइरालाका छोरा सिद्धार्थ कांग्रेसको १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा राजनीतिमा आएका थिए । सुनसरीबाट महाधिवेशन प्रतिनिधि बनेका उनी तरुण दलको पदाधिकारीका दाबेदार थिए । उनलाई उपसभापति बनाउन कांग्रेस सभापति देउवा सकारात्मक पनि थिए ।
तर, सिटौला समूहलाई मिलाउँदा पदाधिकारी नबढाउने र महासचिव पौडेल समूहमा परेपछि उनी पदाधिकारीमा परेनन् ।
प्रतिक्रिया 4