Comments Add Comment

‘कुलमानको ध्यान विराटनगर जुट मिलमा पुग्ला ?’

biratnagar-jut-mills

३ मंसिर, विराटनगर । दैनिक करिब ४५ टन जुट तथा जुटजन्य सामाग्री उत्पादन गर्ने र विदेशसमेत निर्यात गर्ने नेपालकै सबैभन्दा पुरानो उद्योग विराटनगर जुट मिल हाल बन्द छ । विपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायतका नेताहरुले यही मिलबाट आफ्नो राजनीति सुरु गरेका थिए । राजनीतिकरुपमा उनीहरु स्थापित त भए तर, उनीहरुको राजनीतिक आधारभूमि झन् पछि झन् थिलथिलो हुँदै गयो ।

विक्रम संवत् १९९४ मा स्थापना भएको विराटनगर जुट मिलले उद्योग मन्त्रालयबाट एक नम्बरको दर्ता पाएको छ ।विराटनगरको रानीस्थित करिव ६९ विघा जग्गामा फैलिएको यो उद्योगको जोगबनी रेल्वे स्टेसनलाई जोड्ने रेल्वेयार्ड र आफ्नै विद्युत टर्बाइन हाउस पनि छ । तर, बिडम्बना चाहिएजति बिजुली नपाएको कारण देखाउँदै सञ्चालकले हात झिकेपछि विराटनगर जुट मिल बन्द हुन पुग्यो ।

षडयन्त्रको शंका

विराटनगर जुट मिल बन्द हुने र खुल्ने श्रृंखला पटक-पटक चल्दै आइरहेको छ । पछिल्लो पटकको कुरा गर्ने हो भने विक्रम संवत् २०६९ सालमा नेपाल सरकारले वार्षिक १ करोड ३५ लाख रुपैयाँमा मिल चलाउने जिम्मा भारतीय कम्पनि विन्सम इन्टरनेशनललाई दियो । २५ वर्षको लागि ठेक्का पाएको सो भारतीय कम्पनीले नेपाल सरकारले आफ्नो माग पूरा नगरेको भन्दै १ वर्षमात्र मिल चलाएर बन्द गर्‍यो ।

biratnagar-jut-mills-2

नेपाल सरकारको तर्फबाट मिल निर्देशक राजेन्द्र कार्कीका अनुसार सम्झौताअनुसार ३३ केभिए विद्युत सरकारले उपलब्ध नगराइदिएको भन्दै विल्सम इन्टरनेशनलले हात झिकेको हो । त्यसअघि विमसन ईन्टरनेशनलले लिजको शुरुवाती वर्षमा ११ केभिएको लाइनबाट १ वर्षसम्म मिल सञ्चालन गरेको थियो । तर, एकाएक ३३ केभिए लाइन चाहियो भन्दै हात झिक्नुलाई मिल बन्द गराउने चलखेलको रुपमा कतिपयले ब्याख्या गर्दछन् ।

‘मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित अरिहन्त, बाबा र रद्युपति जस्ता ठूला जुट मिलहरुलाई सरकारले ३३ केभिए डेडिकेटेड लाइन प्रदान गरेको छ । तर, सरकारकै विराटनगर जुट मिललाई चाँही ३३ केभिए विद्युत लाइन प्रदान नगरिनुमा षडयन्त्रको गन्ध लुकेको छ भनेर स्वाभाविक शंका उब्जिन्छ,’ उद्योगका एक कर्मचारीले भने ।

त्यसैले उद्योगका कर्मचारी र विराटनगरबासी काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएर चर्चामा आएका विद्युत प्राधिकरणका कुलमान घिसिङको आँखा विराटनगर जुट मिलतर्फ पनि केन्द्रित होस् भन्ने चाहन्छन् ।

विराटनगरका रामप्रसाद साहले भने, ‘यो सबै सरकारले ध्यान नदिँदा भएको हो । बिजुली नपाएपछि कसरी मिल चल्छ ?’

निजी क्षेत्र मालामाल

मिल बन्द हुँदा सिङ्गो राष्ट्रलाई घाटा भइरहेको छ भने केही सीमित वर्गलाई भने चरम फाइदा पुगेको छ । विराटनगर जुटमिल अस्थीर बनेपछि निजीस्तरबाट पूर्वमा जुट उद्योगमा लगानी बढेको पाइएको छ । पूर्वमा गोल्छा परिवारको अरिहन्त जुट उद्योग, बाबा जुट उद्योग, रघुपति जुट उद्योग जस्ता आधा दर्जर्नभन्दा बढी ठूला जुट तथा जुटजन्य सामाग्री उत्पादन गर्ने उद्योगहरु खुलेका छन् । र हालसम्म चलिरहेकै छन् ।

तर, दैनिक ४५ टन जुट तथा जुटजन्य सामग्री उत्पादन गर्ने विराटनगर जुट मिल अहिले गरिबीको कथा बनिरहेको छ ।

biratnagar-jut-mills-3

यतिमात्र होइन विराटनगर जुट मिलले उत्पादन गर्ने जुट, जुटका झल्ला, चटाई, बोरा, गलैंचा लगायतका जुटजन्य सामाग्रीहरु विदेश निर्यात हुन्थे । विराटनगर जुट मिलबाट उत्पादित सामाग्रीहरु गुणस्तरीय हुन्थे । त्यसैले सरकारी विराटनगर जुटमिल सदैव बन्द रहिरहोस् र आफ्नो निजी लगानीको उद्योग फस्टाओस् भन्ने कतिपयको चाहनाले पनि ऐतिहासिक विराटनगर जुट मिलको अस्तित्व संकटमा पारिएको स्थानीय बताउँछन् ।

विराटनगर जुट मिलले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन मद्दत गरिरहेको थियो । तर हाल मिललाई प्रशासनिक खर्च धान्नसमेत हम्मे-हम्मे परिरहेको छ । करिब ६ महिनादेखि तलबसमेत नपाएको मिलका प्रशासन अधिकृत तारानाथ तिम्सिनाले बताए ।

हालै प्रधानमन्त्री प्रचण्डले विराटनगर जुट मिलको भ्रमण गरी यसलाई पुनः सञ्चालन गर्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment