+
+

प्रिय पुस्तक: पठन यात्रा र ‘शिरीषको फूल’ को सौन्दर्य

गुरुङ सुशान्त गुरुङ सुशान्त
२०७३ मंसिर ४ गते ९:५९

gurung-sushant_810पुस्तकको कुरा गर्दा अध्ययनतिर मेरो झुकाव कसरी बढ्यो भन्नेबाट कुरा थाल्नुपर्ने हुन्छ । हाम्रो गुरुङ समाजमा खासगरी अध्ययनतिर लगाव केही पनि छैन । किन भएन भन्ने कुराको चर्चा गर्न समाजशास्त्रीय पृष्ठभूमि बाँध्नुपर्छ । हाम्रो जाति कि खेतीपातीमा सीमित छ, कि त लाहुर जाने हो । त्यसका साथै हाम्रो सांस्कृतिक प्रभाव अनुसार सानैदेखि जाँड-रक्सीसँग बढी जोडिएका हुन्छौं । यसैले पढ्नु र लेख्नु धेरै परको कुरा भयो ।

अक्षरप्रति मोह बस्नुको प्रमुख कारण खासमा मलाई आफ्नै समाजप्रति त्यति प्रेम थिएन । यो बन्द समाजबाट कसरी उम्किने होला भन्ने लागिरहन्थ्यो । किनभने लाहुर जानलाई खाइलाग्दो ज्यान पनि थिएन मेरो । घाँस-दाउरा पनि त्यति मन नपर्ने । त्यसपछि विकल्प के त भनेर खोजी गर्ने क्रममा समाजले ‘अल्छीहरुले गर्ने काम’ भन्ने गरेको पढ्ने-लेख्नेतिर लहसिएँ ।

मलाई बाले नेपाली वर्णमाला र ए बी सी डी का किताब ल्याइदिनुहुन्थ्यो । आफू प्राथमिक कक्षासम्म मात्र पढे पनि उहाँ पढ्नुपर्छ भनेर सधैं भनिरहनुहुन्थ्यो । कति पढ्नुपर्छ तँलाई खुब पढाउँछु, तैंले बरु घरको काम नगरे पनि फरक पर्दैन भन्नुहुन्थ्यो । नपढ्दा मैले दुःख पाएँ भन्ने उहाँमा एक किसिमको पछुतो थियो । त्यो कुराले पनि मलाई सायद छोइरहेको थियो होला ।

आमा किनमेलका लागि बेत्रावती बजार जाँदा मरमसाला पोको पारेर पत्रिका ल्याउनुहुन्थ्यो । त्यस्तो पत्रिका रिट्ठो नबिराई विज्ञापन र श्रद्धाञ्जलि समेत पढ्थेँ म । बा युवराज दीपेन्द्रको नाममा काभ्रे पनौतीमा खुलेको दीपेन्द्र डेरी प्रा.लि. मा काम गर्नुहुन्थ्यो । त्यसबेला उहाँले साँगामा रहेको दीपेन्द्र प्रहरी स्कूलबाट निस्किने वार्षिक पत्रिका ‘दिपिका’ ल्याउनुभयो । म त्यस्तै कक्षा पाँचमा पढ्थेँ होला । त्यो सानो उमेरमा त्यत्रो मोटो किताब पाउँदा दंग परेँ । त्यसमा चुट्किला, मुक्तक, कथादेखि अनेक कुरा छापिएका थिए । मैले पुस्तकाकारमा पहिलो साहित्यिक किताब पढेको त्यही हो ।

नीलो चोली र यौन साहित्यको रस

साहित्यमा पनि उपन्यास पढेको किस्सा रोचक छ । पढेको पहिलो उपन्यास सुवास घिसिङको ‘नीलो चोली’ हो । हाम्रो गाउँतिर त्यति पढ्दै नपढ्ने दाइहरुले पनि त्यो किताब लुकाईलुकाई पढेको देख्थेँ ।

बाख्रा गोठालो जाँदा खुब स्वाद मानेर पढेँ त्यो उपन्यास । त्यसबेला दस वर्षको थिएँ होला । लेखाइमा श्लील-अश्लीलको सीमा कति हुने भन्ने त एउटा कुरा होला, तर क्षणिक शारीरिक उत्तेजना बनाउन भयंकर भइदियो त्यो किताब । जीवनमा यौन भनेको त ठूलो शक्ति रै’छ भन्ने लाग्यो । दुई-तीन चोटि पढेँ होला

ठूली आमाको छोराले पढिरहँदा मैले पनि ‘नीलो चोली’ मा लोभी नजर लगाइहालेँ ।

ती दाइसँग भनेँ, ‘म पनि पढ्छु यो किताब ।’

दाइले भने, ‘नपढ् केटा । यो पढिस् भने तँ बिग्रिन्छस् !’

‘तपाईंले चैं पढ्न हुने, हाम्ले नहुने ?’, मैले दङग्याउँदै मागेँ ।

पछि बाख्रा गोठालो जाँदा खुब स्वाद मानेर पढेँ त्यो उपन्यास । त्यसबेला दस वर्षको थिएँ होला । लेखाइमा श्लील-अश्लीलको सीमा कति हुने भन्ने त एउटा कुरा होला, तर क्षणिक शारीरिक उत्तेजना बनाउन भयंकर भइदियो त्यो किताब । जीवनमा यौन भनेको त ठूलो शक्ति रै’छ भन्ने लाग्यो । दुई-तीन चोटि पढेँ होला ।

पढिसकेर घरमा सिरानीमुनि राखेको थिएँ । एकदिन बा बाट पक्राउ खाइयो ।

सातो लिने गरी कराउनुभो, ‘यस्तो किताब पनि पढ्छन् ?’

त्यसपछि मलाई लाग्यो, बा ले पनि त पक्कै पढेको हुनुपर्छ ‘नीलो चोली’ । नत्र कसरी थाहा पाए यस्तो किताब भनेर !

यो उमेर उपन्यास पढेर खेर फाल्ने होइन भनेर बा ले करकर गरिराख्नुहुन्थ्यो ।

तनहुँबाट हाम्रो स्कूलमा पढाउन आएका एकजना गुरुङ सर थिए, वीरबहादुर गुरुङ । नाचगान गर्ने, स्काउट सिकाउने जस्ता काममा अघि सर्थे । उनी लेख्दा पनि रहेछन् । कापीको पाना भरिने गरी लेखेको देख्थेँ । के लेखेछन् भनेर हेर्दा त उपन्यास लेखेका रहेछन् ।

सरले पनि राम्रो उपन्यास पढ्न नपाएरै त होला, युधीर थापा र सुवास घिसिङले लेख्ने जस्तो नितम्ब, स्तन, सेता फिलाको वर्णन गरेका थिए । चित्रण गर्दैगर्दै यौनक्रियासम्म पुर्‍याएको हुन्थ्यो । आफूलाई पढाउने शिक्षकले त्यस्तो लेखेको देख्दा चकित खाइयो । उनले त्यसलाई कतै छापेनन्, यत्तिकै फाले होलान् ।

युधीर थापाले लेख्ने टाइपका साहित्यसँग साक्षात्कार हुन थालेपछि यौनबारे मेरो किशोर धारणा परिवर्तन भयो । मैले त महिलालाई पनि यौन चाहना र आनन्द हुन्छ भन्ने कहिल्यै सोचेकै थिइनँ । सम्भोग भन्ने बित्तिकै नारी र पुरुषले बराबर भोग्ने कुरा नभई यो त पुरुषको मात्र आवश्यकता होला जस्तो लाग्थ्यो । तर, यौन साहित्य पढेपछि यो त मानवीय जीवनको ठूलो शक्ति केन्द्र रहेछ र त्यसमा महिलाको सहभागिताको पनि अर्थ रहेछ भन्ने थाहा भयो । त्यसले नै हुनुपर्छ, मलाई महिलाहरुप्रति आकर्षण पैदा गरायो ।

त्यस्ता किताब पढेपछि उपन्यास भनेको त समाजमा देखिने गरी पढ्ने चिज हैन रहेछ भनेर मनमा छाप पर्‍यो । यस्तैमा म स्कूलमा कविता लेख्न र प्रतियोगिताहरुमा भाग लिएर पुरस्कार पनि जित्दै गएँ ।

काठमाडौं, गाँजाको लत र शिरीष चुम्बन !

१२ कक्षासम्म नुवाकोटमै पढेर ब्याचलर पढ्न ०५७ मा काठमाडौं आएँ । यहाँ आएपछि म बिस्तारै गाँजाको लतमा परेँ । महेन्द्र रत्न क्याम्पस ताहाचलमा भर्ना भएँ । साथीहरु सबै गाँजा खाने भएकाले संगतको असर पर्‍यो । आठ/दस वर्षै गाँजा खाएँ ।

गाउँ छोडेर आएको र द्वन्द्वकालको त्यो समयमा ममा अलि फ्रस्टेशन पनि थियो । पढेर पनि बेरोजगार भएर बसेका दाइहरु देख्थेँ, आफ्नै जीवन पनि विसंगत थियो । अल्पकालीन प्रेम प्रसंगहरुमा डुब्ने र निस्किने भइरहेको थियो । गर्लफ्रेन्ड हैन, गर्लफ्रेन्डहरु थिए मेरा । म खुला ढोका जस्तो थिएँ, ती केही समयका लागि आउँथे र विदा हुन्थे । त्यस्तो बेला ओशो साहित्य पढ्नतिर एकोहोरिएँ । कविताहरु पनि लेखिरहेकै थिएँ ।

त्यसै क्रममा आरबी शरणपुरे (राजु भारती) नामका एक जना दाइसँग मेरो राम्रो दोस्ती भयो । उनी खुब पढ्थे, युवा मञ्च पत्रिकातिर लेखरचना पनि छपाउँथे । उनी खासमा सीतापाइला (काठमाडौं) का घरबेटी थिए मेरा । ओशोको किताब उनैले दिएका थिए । उनीबाटै पाएको सरुभक्तको ‘पागल बस्ती’ पढेर पनि म धेरै रन्थनिएँ ।

सकमबरीलाई देख्दा महिला पनि यति बोल्ड हुन सक्छन्, प्रतिकार र तर्क गर्न सक्ने भन्ने लाग्यो । मेरो संगतमा भएका महिलाहरु त कोही पनि त्यस्तो सशक्त थिएनन् । मैले प्रेम गरेका, मेरो संगतमा भएका महिलाहरु त सामान्य खालका थिए

कयौं किताबहरु पढेर प्रभाव परे पनि मलाई धेरै मन परेको चाहिँ पारिजातको उपन्यास ‘शिरीषको फूल’ नै हो । ती दाइले नै दिएपछि पढेको थिएँ उतिबेला । सानो किताब भए पनि मलाई गहिरो गरी छोयो । आफू चुरोट खाने भएर होला, उपन्यासमा पात्रहरु चुरोट खाएको, धुवाँ रङमङिएको जस्तो चित्रमय भाषाले खुब छोयो ।

सकमबरीलाई देख्दा महिला पनि यति बोल्ड हुन सक्छन्, प्रतिकार र तर्क गर्न सक्ने भन्ने लाग्यो । मेरो संगतमा भएका महिलाहरु त कोही पनि त्यस्तो सशक्त थिएनन् । मैले प्रेम गरेका, मेरो संगतमा भएका महिलाहरु त सामान्य खालका थिए । हदै गरेको भए जागिर खाएका हुन्थे, नत्र धेरैजसो त बिहे गरेर बच्चा जन्माउने र घरव्यवहारमा लाग्ने खालका थिए । तर, पारिजातले सिर्जना गरेको सकमबरी त मलाई बहादुर लाग्यो । आफ्नो दाइ शिव र त्यत्रो विश्वयुद्ध लडेर आएको सुयोगवीरसँग ठाडठाडै प्रतिवाद गर्न सक्ने ।

त्यो सकमबरीभित्र कता-कता म पो छु कि जस्तो लाग्थ्यो । पढ्दै जाँदा फेरि कहिले चाहिँ सुयोगवीर पो म हो कि जस्तो पनि लाग्ने । युद्धका क्रममा उसले जंगलमा कयौं युवतीलाई बलात्कार गरेँ र मारेँ भन्छ । बलात्कारको कुरामा होइन, त्यसमा जोडिएर आउने विशुद्ध यौनको पाटोले चाहिँ मलाई आकर्षित गर्थ्यो । फरक-फरक युवतीहरुलाई भोगेको कुराले कुतकुत्याउँथ्यो । नागरी सभ्यताप्रति आकर्षित हुन थालिसकेको मलाई उपन्यासमा चित्रित ‘विशालनगर’ ले पनि लोभ्यायो । गाउँमा हुर्किए पनि गाउँले जीवनशैलीप्रति कहिल्यै मोह भएन मलाई । उपन्यासमा नीला शिरीष फुलेको प्रसंगले छुट्टै रोमाञ्चको सञ्चार गर्थ्यो ।

शिवले बहिनी सकमबरीलाई तराईमा पुर्‍याउन आउँदा सुयोगवीर भन्छ, ‘यिनीहरु दुई दाजु-बहिनी हुन् भनेर मलाई थाहा छ, तर पहिलो पटक कुनै पुरुषप्रति मलाई ईर्ष्या जस्तो जाग्यो ।’ त्यो पढ्दा मलाई लाग्यो, वाह ! यही नै हो कि क्या हो प्रेम !

शिरीषको फूल कि कागजको फूल ?

पछिल्लो समय साहित्य लेखनमा मात्र होइन, राजनीतिलाई पनि म मार्क्सवादी कोणबाट हेर्न रुचाउँछु । विश्लेषण गर्दा त्यो कोणबाट नगरे पनि पढ्दा भने त्यो हेराइ हुन्छ । कुनै पनि रचना वा कृति सामाजिक न्यायको दृष्टिले कहाँ छ भनेर हेर्ने गर्छु । सामाजिक न्याय भन्ने बित्तिकै विभेदमा परेको जाति र विभेदमा परेको वर्गको कुरा आउँछ ।

एकातिर हाम्रो वर्ण व्यवस्थाले किचिमिची पारेको एउटा ठूलो समुदाय छ, जो आर्थिक हिसाबले पनि सर्वहारा वर्गमा पर्छन् । अर्कोतिर, जातीय हिसाबले उपल्लो भए पनि राज्यको असमान वितरण प्रणालीका कारण विपन्न भएर पिँधमा परेको वर्ग छँदै छ । जातीय र आर्थिक हिसाबले पछि परेका यी दुई वर्गप्रति साहित्यले न्याय गर्ने कि नगर्ने भन्ने हुन्छ । यसरी हेर्दा मार्क्सवादी कोणबाट पनि लेखिनुपर्छ । किनकि साहित्य भनेको कोरा मनोरञ्जन हैन रहेछ भन्ने कुरा त हामीले अहिले पढ्दै गरेको अभ्यासले देखाएको छ ।

यस्तो लाग्दालाग्दै पनि मलाई प्रिय लाग्ने किताबको सूचीमा ‘शिरीषको फूल’, ‘पागल बस्ती’ पर्छ, जसमा मार्क्सवादी कोण छैन होला । तर, व्यक्तिको एउटा वैयक्तिक अनुभव, अनुभूति र विचार पनि त हुन सक्छ । हाम्रो जीवनमा राजनीतिले सधैं प्रभाव पारिरहे पनि हामी राजनीतिभन्दा पर बसेर पनि त सोच्दा रहेछौं ।

आजको समयमा हामीले माने पनि नमाने पनि हामीले लेखेका र बोलेका हरेक कुरा कहीँ न कहीँ राजनीतिसँग जोडिएकै हुन्छन् । हरेक टेक्स्टहरु राजनीतिक हुन्छन् भन्ने मान्छु म । प्रेम नै लेख्दा पनि मैले कुन वर्गको र कस्तो युवतीलाई प्रेम गरेँ, त्यसमा कुन चेतनाले काम गरेको छ भन्ने कुरा राजनीतिसँग जोडिन्छ । मानौं, सुडौल वक्षस्थल भएकी युवतीलाई प्रेम गरेँ भने त्यसमा यौनको कुरा आउँछ र यौनलाई यसरी-यसरी भोग्नुपर्छ भन्ने चेतना कसको हो भन्ने कुरा आउँछ । त्यो त पक्कै पनि चेपाङको चेतना होइन । पोर्नोग्राफी पनि एउटा चेतना नै हो, तर कसको चेतना हो त ? यस्तो विलासी चेतना भोगविलासमा रमाउने उच्च वर्गको हो ।

यी थरिथरिका चेतनाको कुरामा ‘शिरीषको फूल’ लेख्दा पारिजात निस्सारतावादी चेतनाबाट प्रभावित भएको देखिन्छ । त्यो पनि राजनीतिक नै हो । किनभने निस्सारतावादले राज्यसँग विद्रोह गर तथा उत्पीडितको पक्षमा बोल भन्दैन । उनको त्यो कृतिमा सकमबरीले अन्त्यमा पलायन रोजेको कुरामा मार्क्सवादीहरुको चेतना आलोचनात्मक भएको देखियो । अलिअलि विद्रोही भए पनि अन्तत: पलायनवादी विचारमा गयो भनेर आलोचना खेप्नुपर्‍यो ।

मार्क्सवादी समालोचक गोविन्द भट्टले त सबैभन्दा ठूलो प्रहार नै गरे, ‘शिरीषको फूल कि कागजको फूल’ भनेर । त्यसपछि भट्टलाई ठूलो आदर्श मानेर पारिजातले आफ्नो लेखनको धार नै परिवर्तन गरिन् । उनको पछिल्लो लेखन पनि मलाई मन पर्छ । समाजका नारीको, तल्लो वर्गको लागि उनले लेखेका पछिल्ला कृतिहरु पनि गजब साहित्य हुन् । तर, एजेण्डा भन्नुपर्छ भन्ने चेतनाले आक्रमण गरेपछि हामीकहाँ लेखनको कला (क्राफ्ट) तिर ध्यान कम पुग्दो रहेछ ।

मार्क्सवादीहरुले के भन्छन् भन्ने कुरामा मलाई त्यति चासो छैन । तर, मलाई समाजका तल्लो वर्गहरुको उत्थान हुनुपर्छ र विभेद विरुद्ध साहित्यले बोल्नुपर्छ भन्ने मलाई सधैं लाग्छ । तर, बोल्ने भाव र भंगिमा हुनुपर्‍यो । सीधै बोल्ने भनेको राजनीतिज्ञहरुले होला अथवा आन्दोलनकारीले होला । साहित्यले अलि फरक तरिकाले बोल्नुपर्छ, जसको प्रभाव गजब हुन्छ ।

गोविन्द वर्तमानको ‘अस्तित्व सोच’, आहुतिको ‘गहुँगोरो अफ्रिका’, श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ जस्ता अब्बल कविताहरु पढ्दा वैचारिक कुरा भन्न पनि तरिका जान्नुपर्ने रहेछ भन्ने थाहा हुन्छ । नारा साहित्य हैन, साहित्यमा लुकाएर भन्नुपर्छ भनिन्छ । तर, त्यसो भनिरहँदा अर्कोतिर चाहिँ भन्नुपर्ने कुरै नभन्ने खतरा पनि देखिन्छ ।

समयसँगै लेखनलाई मैले सामाजिक न्यायको कोणबाट हेर्न थालेको छु । तर, जीवनको विशेष कालखण्डमा पढेको कृति, साहित्यिक मूल्य आदिको हिसाबले ‘शिरीषको फूल’ मेरो सर्वाधिक प्रिय पुस्तक हो ।

(कुराकानीमा आधारित ।)

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?