Comments Add Comment

कमल थापाको ब्याक गियरले प्रचण्डको ‘दोस्रो फर्मूला’ बन्ला ?

राप्रपाको हिन्दू राज्य कम्युनिस्टहरुको साम्यवाद जस्तै 'अन्तिम लक्ष्य'

rpp-and-rpp-nepal

५ मंसिर,काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संविधान संसोधनमा एमाले सहमत नभए आफूसँग अर्को फूर्मला पनि रहेको संकेत गर्नु र यसैबीचमा एक्कासी राप्रपा नेपाल र राप्रपाबीच नाटकीय रुपमा एकीकरण हुन लाग्नु संयोगमात्र होइन ।

संसदमा एमाले बाहेक पनि दुई तिहाई बहुमत जुटाउन दुई राप्रपाको एकीकरणले सत्ता गठबन्धनलाई सहजमात्र बनाउने छैन, मुलुकको भावी राजनीतिक दिशालाई पनि सामान्य फेरबदल गर्न सक्छ ।

संसदमा गणित यस्तो हुनेछ

संसदमा अब दुई राप्रपाको शक्ति ३७ सिटको हुनेछ । ५९५ सदस्यीय व्यवस्थापिका संसदमा ३७ सिट कुनै ठूला संख्या होइन तर दुई तिहाईको गणितमाले यसले रणनीतिक अर्थ राख्छ ।

आकारको हिसाबले राप्रपा एकीकरणपछि पनि चौथो दल नै हुने हो तर संविधान संसोधनको सन्दर्भमा यो एकीकरणको अर्थ रहेको राप्रपा अध्यक्ष पशुपति समसेर जबराले बताए ।

यसबाट एमाले बाहेकको दुई तिहाई पुर्‍याउने र संविधान संसोधनमा एमालेलाई बाध्य पार्ने प्रचण्डको फर्मूला काम लाग्न सक्ने आशा सत्ता गठबन्धनको हुन सक्छ । तर राणाले भने एमालेलाई एक्ल्याएर मुलुकले निकास नपाउने बताए ।

संसदमा एमालेको १८२ सिट छ । एमालेलाई पछिल्लो समय साना बामपन्थी नेकपा माले,नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको मात्र साथ छ । त्यस्तै दुई सिट रहेको जनमुक्ति र एक सिट रहेको मधेश समता पार्टीको समेत संख्या जोड्दा एमाले गठबन्धनको जम्मा संख्या १९७ हुन्छ ।

जुन शक्तिले भाँड्यो, त्यहि शक्तिले मिलायो

संविधान संसोधनका लागि आवश्यक ३९६ संख्या राप्रपा एकीकरणपछि सत्ता गठबन्धनसँग सुरक्षित हुने आँकलन छ । हिजो पार्टी एकीकरण गर्दा कमल थापा हावी भएर ३७ सिट एमाले गठबन्धनमा पुग्ने डरले अदृष्य शक्तिले राणालाई एकीकरणबाट ब्याक गरेको टिप्पणी राप्रपाकै नेताहरुले गर्ने गरेका छन् ।

rpp-nepal-and-rppराप्रपाको शीर्ष तहका एक नेताका अनुसार प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै दुई पार्टीको एकता जुन शक्तिले रातारात भाँडेको थियो, त्यहि शक्तिले संविधान संसोधनको सन्दर्भमा रातारात एकीकरण गराइदिएको हो ।

नाम उल्लेख गर्न नचाहने ती नेताले भने, ‘अब एकीकरणको अध्याय सकियो भन्ने कमल थापाल तीन महिना पनि टिक्न नसक्नु रहस्यमय छ । अहिलेको एकीकरण भनेको एमाले बाहेक नै दुई तिहाई पुर्‍याउने प्रयोजनका लागि मात्र हो । यसबारे राप्रपा नेपालभित्र अन्तरबिरोध रहे पनि कमल थापाको सामुन्ने कोही टिक्न सकेनन् ।’

राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठ भने तत्काल पार्टी एकीकरण बाहेक अन्य विषय नसोचिएको बताउछन् । राप्रपा नेपालको आइतवार बसेको अन्तिम केन्द्रीय समिति बैठकमा समेत रातारात कुन शक्तिले एकीकरण गराएको हो भन्ने प्रश्न कतिपय सदस्यले उठाएका छन् ।

कमल थापा सरकारमा जाने ?

राप्रपा केन्द्रीय सदस्य राजेश गिरीले भने पार्टी एकीकरण परिस्थितिको आवश्यकता भएकाले अब वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको अभियान शुरु हुने दावी गरे । उनले राप्रपाको शक्ति संसदमा बढेसँगै सरकारमा पनि सोही हैसियतमा दावी हुने बताए ।

पार्टी एकीकरणपछि अहिले विपक्षमा रहेका कमल थापा सहित २४ सांसद सत्तापक्षको लहरमा बस्नेछन् । संसदीय दलको नेता थापा नै हुनेछन् । संयुक्त संसदीय दलको बैठकले अन्य पदाधिकारी चयन गर्नेछ ।

कमल थापा सत्तारुढ दलको नेता भएपछि उनको लागि उपप्रधानमन्त्री सहितको थप मन्त्रालय दावी गर्ने तयारी रहेको उच्च स्रोतले जनाएको छ । संविधान संसोधनको सन्दर्भमा दुई तिहाई पुर्‍याउन निणर्ायक बन्न लागेका थापाको लागि सरकारमा स्थान के हुने भन्ने चाहिँ प्रष्ट भइसकेको छैन ।

कमल थापालाई बुझेका उनका सहयोगी नेताहरु कुनै न कुनै सहमति नभई एकीकरणको टुंगो लागेको विश्वास गर्न सकिरहेका छैनन् । के त्यसो भए कमल थापा सरकारमा जान्छन् ? ती नेताले भने, ‘जसले एकीकरण गराए तीनले यसबारेमा पनि टुंगो लाएका होलान् ।’

यस्तो हुनेछ एकीकृत पार्टीको नेतृत्व

एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने र दुईजना अध्यक्ष हुने अन्तरिम बिधान पारित भइसकेको छ । अब सोमवारदेखि पशुपति शमसेर राप्रपाको राष्ट्रिय अध्यक्ष हुनेछन् भने कमल थापा पार्टी अध्यक्ष हुनेछन् ।

Kamal-Thapa-and-Pashupati

राष्ट्रिय अध्यक्षले पार्टीको निर्देशक समितिको अध्यक्षता गर्ने र त्यो समितिले राजनीतिक नियुक्ति लगायतका निर्णय गनर्ेे सहमति भएको छ । पार्टी अध्यक्ष कमल थापा अघोषित रुपमा कार्यकारी भूमिकामा रहनेछन् ।

दुवै पार्टीका डेढ डेढ सय केन्द्रीय सदस्य समाहित भएर तीन सय सदस्यीय केन्द्रीय समिति बन्ने भएको छ । दुवै पार्टीका हालका पदाधिकारी यथावत जिम्मेवारीमा रहने राप्रपाका सहप्रवक्ता किरण गिरी बताए ।

उनका अनुसार पार्टीमा दुई अध्यक्षसहित ५ जना शीर्ष नेताको नेतृत्व लियर हुनेछ । जसमा लोकेन्द्रवहादुर चन्द,विश्वबन्धु थापा र प्रकाशचन्द्र लोहनी हुनेछन् । राप्रपाको आलोपालो नेतृत्व प्रणाली अनुसार माघ ११ पछि राष्ट्रिय अध्यक्ष पद राणाले लोहनीलाई हस्तान्तरण गर्नुपर्नेछ ।

हिन्दू राज्य साझा, राजतन्त्र ‘म्युट’

एकीकृत पार्टी राप्रपाको रणनीतिक उद्देश्य अब हिन्दू राज्य कायम गर्ने हुनेछ । तर यहि संविधान संसोधनको बहसमा हिन्दू राज्यमा समेत संसोधन हुनुपर्ने राप्रपा नेपालको पूर्ववत अडान भने ‘म्युट’ गरिएपछि कमल थापासँग अरु नेता रुष्ट छन् ।

दिलनाथ गिरी लगायतका नेताहरु संविधान संसोधनका सन्दर्भमा हिन्दूत्वको मुद्दा छाड्न नहुने पक्षमा छन् । तर कमल थापाले ब्याक गियर हानेपछि उनको गाडीमा रहेका अन्य यात्री निरीह बनेको टिप्पणी एक नेताले गरे ।

कम्युनिस्टहरुको अन्तिम लक्ष्य साम्यवाद भने जस्तै हिन्दू राज्य राप्रपाको कहिल्यै पूरा नहुने अन्तिम लक्ष्य हुने भयो भन्दै राप्रपा नेपालका नेताहरु व्यंग्य गर्न थालेका छन् । गणतन्त्र वा राजतन्त्रको बारेमा भने राप्रपा मौन बस्नेछ ।

राप्रपाले हिन्दू गणतन्त्र भन्दै आएको थियो भने राप्रपा नेपालले हिन्दू राजतन्त्र भन्ने गरेको थियो । एकीकरणसँगै गणतन्त्र वा राजतन्त्रको बारेमा मौन रहने सहमति भएको सहप्रवक्ता गिरीले बताए ।

पूर्व पञ्चको फुट र जुट श्रृंखला

२०४७ सालमा पञ्चायतकालिन नेताहरुको सहभागितामा गठन भएको राप्रपा एक वर्षभित्रै पहिलोपटक फुटेर राप्रपा थापा र चन्दका नाममा २०४८ सालको आम चुनावमा सहभागी भएको थियो ।

२०५१ को चुनावमा एकीकृत भएर चुनाव लडेपछि २० सिट सहित तत्कालिन प्रतिनिधिसभामा तेस्रो निर्णायक शक्ति बनेको राप्रपा सत्तालिप्साका कारण यसबीचमा करीव एक दर्जन पटक बिभाजन भइसकेको छ ।

राप्रपा र राप्रपा नेपालको एकीकरणपछि पनि केशरबहादुर विष्टको सानो समूह भने बाहिरै रहने भएको छ । तर कमल थापासँग फुटेर बसेको सगुन लावती समूह भने एकीकरणमा सामेल हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment