Comments Add Comment

भोजपुरको षडानन्द गुठी, बाघको छालामा स्यालको रजाइँ !

सुरुमा माओवादी पस्यो, अहिले एमाले

अहिलेको पुस्ताले देशमा मातृभूमिको भार तिर्नका लागि खासै उल्लेख्य काम गर्न सकेको छैन । हाम्रा पूर्खाले बनाइदिएका धरोहर पनि  हामी बाँदरले जसरी नष्ट गरिरहेका छौं । यसैको प्रमाण हो, भोजपुरको दिंगलामा रहेको बालागुरु षडानन्दको ऐतिहासिक धरोहर ।

dharap-ma-pathsala
संस्कृत पाठशाला

भोजपुरको दिंगलामा १८२ वर्षअघि जन्मेका आबाल ब्रम्हचारी षडानन्द अधिकारीलाई नै बालागुरु षडानन्द भनिन्छ । उनी शिक्षाको ज्योतिपुञ्जका रुपमा चिनिन्थे । षडानन्दले पूर्वी पहाडी जिल्ला भोजपुरको उत्तरी दिङ्लामा जनताका छोराछोरीले पढ्ने पहिलो विद्यालय विसं. १९३२ सालमै खोलेका थिए । त्यसबेला पूर्वेली जनताले भारतको बनारस बाहेक अन्यत्र पढ्ने विद्यालयहरु थिएनन् ।

तत्कालीन राणाहरुको कठोर शासनका वीच उनले संघर्ष गरेर स्थापना गरेको संस्कृत पाठशालामा विभिन्न जिल्लाबाट पढ्नका लागि विद्यार्थीहरु आउने गर्थे । उनले तत्कालीन राणाहरुको अत्याचारका वीचमै पनि निरन्तर पाठशाला सञ्चालन गरेर भोजपुरजस्तो दुर्गम जिल्लालाई हराभरा बनाएका थिए । उनकै पालादेखि बनारसका जोगीहरु पनि रुद्राक्ष किन्न धरान धनकुटाको बाटो हुँदै भोजपुरसम्म आउने गर्थे । भोजपुरको सान नै त्यसबेला अर्कै थियो ।

विसं. १९३५ सालमा सुरेन्द्र वीरविक्रम शाहले गुरुकुल विद्यालय सञ्चालन गर्नका लागि तोकादेशसहितको पत्र बालागुरु षडानन्दलाई दिएका थिए ।

surendra-bir-bikram-shaha-bata-jari-lalmohar
सुुरेन्द्र शाहले पाठशाला सञ्चालन गर्न षडानन्दलाई दिएको औपचारिक पत्र

भनिन्छ, वालागुरु त्यसबेला दलित समुदाय अर्थात दमिनीको दूध खाएर हुर्किएका थिए । वाल्यकालमा त्यसरी दमिनीको दूध खाएकाले त्यसको भारा तिर्न भन्दै उनले गुरुकुल स्थापना गरेको मान्यता छ । यो गुरुकुल सञ्चालनका लागि सहयोग पुगोस् भन्दै षडानन्दले आफ्नो धान फल्ने खेतसहितका सबै सम्पति पाठशालाकै नाममा चढाएका थिए । षडानन्दकोआर्थिक सिद्धान्त साम्यवादी कम्युनिष्टको भन्दा बढ्ता व्यवहारिक थियो । उनले निजी सम्पत्ति राखेनन्, कम्युनका रुपमा समाजलाई दिएर गए ।

बालागुरुले त्यसबेला बनाएको भवन र त्यसको कम्पाउण्डमा प्रयोग गरिएका ईंटाहरु काठमाडौंमा राणाहरुले प्रयोग गर्ने ईंटाजस्तै थिए । यस्ता सामाग्रीहरु कसरी दुर्गम भोजपुरमा पुयाइयो ? स्थानीयवासीहरु छक्क पर्छन् ।

राणाहरुका छोराछोरीसरह सर्वसाधारण नागरिकका छोराछोरीले पनि पढ्न पाउनुपर्छ भनी नेपालमै पहिलो विद्यालय खोलेर अध्ययन अध्यापन गराउने पहिलो व्यक्ति गुरु षडानन्द हुन् ।

शुरुमा माओवादी पस्यो, त्यसपछि अरु…

पहाडको दुर्गम ठाउँमा यसरी स्थापना भएको ऐतिहासिक पाठशाला र यसको सैयौं रोपनी खेतसहितको अचल सम्पति एवं भौतिक संरचना यतिबेला बाघको छालामा स्यालको रजाइँ जस्तै बन्न पुगेको छ ।

संस्कृत भाषाको पठन पाठन गरेकै कारण षडानन्द संस्कृत पाठशाला तत्कालीन माओवादी द्वन्द्वको चपेटामा पर्यो ।

दिंगलामा संस्कृत भाषाको गुरुकुल पाठशाला सञ्चालन हुँदै आएको थियो । माओवादी द्वन्द्वका बेला बम प्रहार गरेर त्यसलाई रोक्ने काम गरियो । गुठीको सम्पत्ति व्यक्ति–व्यक्तिले कब्जा गर्न थाले । अनि भोजपुर जिल्लाको यो गौरब एकाएक खण्डहर बन्न पुग्यो ।

बालागुरु षडानन्दले आफुले गुठी स्थापना गर्दा कसैले पनि गुठीको संरचनाभित्र ठूला, पक्की एवं गारो लगाएका घरहरु बनाउन नदिने नीति बनाएका थिए । तर, दिङ्लामा पछिल्लो समय बिभिन्न राजनीतिक दलको आडमा रहेर गुठीको जग्गामा आरसीसी ढलान गरेका घरहरु बन्नेक्रम बढेको छ ।

जनताको विरोध रहँदा रहँदै पनि राजनीतिको आडमा रहेर घर बन्ने गरेको स्थानीय सुमन राई बताउँछन् । गुठी संरक्षण र समग्र मन्दिरको विकास एवं विस्तार गर्ने भए सबै गुठीको सम्पति राष्ट्रियकरण गरी गुठीको जग्गा मिचेर बनाएका घरहरु सरकारले भत्काउनुपर्ने राईको धारणा छ ।

सबैले घर बनाउने हो भने गुरु महाराजका सबै संरचना समाप्त भएर जाने राई बताउँछन् । यसैगरी अतिक्रमण गरिरहने हो भने गुठीको जग्गा, मन्दिर र रुद्राक्षसमेत ऐतिहासिक धरोहरहरु मेटिएर जाने राईको चिन्ता छ । स्थानीय राजनीतिक नेताहरुको चालचलन यस्तै जारी रहने हो भने दिङ्लाको इतिहास खोज्नेलाई देखाउनका लागि एउटा टुक्रोसम्म नरहने उनी बताउँछन् ।

ghuti-ko-ghadari-ma-jabarjasti-ghar
राजनीतिको आडमा गुठीको जग्गा मिचेर भर्खरै बनाइएको विवादित घर

दिङ्ला (हाल षडानन्द नगरपालिका) का बुद्धीजीबी तोया गौतम तत्कालीन माओवादी र राज्यपक्षवीचको द्वन्द्वसँगै पाठशालाको अस्तित्व समाप्त पार्नका लागि ठूलै प्रयासको थालनी भएको बताउँछन् ।

गौतम भन्छन्– षडानन्द–सीताराम गुठीका नाममा रहेको सम्पति यतिबेला व्यापक रुपमा दुरुपयोग गर्ने काम भैरहेको छ ।

षडानन्दले खोलेको विद्यालयमा बम हान्नेहरु चाहिँ माओवादी कार्यकर्ता हुन् । एउटा सामुदायिक सम्पत्तिमाथि बम प्रहार गरेर माओवादीले समाजवादको सिद्धान्तमाथि नै धावा बोलेको गौतमको आरोप छ ।

करोडौं सम्पति छ, तर चन्दा मागेर गुरुकुल सञ्चालन

बालागुरु षडानन्दका नाममा १८ सय रोपनी जग्गा छ । वार्षिक लाखौं रुपैयाँमात्रै रुद्राक्षबाट आम्दानी हुन्छ । तर, द्वन्द्वकालीन समयपश्चात गुठीको सम्पतिमा राजनीति घुसेपछि गुठीको आम्दानी शुन्य भएको दिङ्लाबासी बताउँछन् ।

gurukul-suruद्वन्द्वकालमा माओवादीले ‘जसको जोत, उसको पोत’ भन्दै षडानन्द–सीताराम गुठीको सम्पति हडपेपछि गुठीको आम्दानी विगत १० वर्षदेखि शुन्य भएको छ ।

माओवादी हस्तक्षेपपछि रकम अभावकै कारण गुरुकुल शिक्षाको पढाइ बन्द भयो । त्यसैले गर्दा गुरुकुल पुनःसञ्चालनमा ल्याउन चन्दा माग्नुपरेको गुरुकुल संरक्षक समेत रहेका तोया गौतम बताउँछन् ।

मन्दिर प्राङणमा लगाएको बिराट महायज्ञबाट बचेको एक लाख ५० हजार रुपैयाँ र एमाले सांसद कृपाशुर शेर्पाले उपलब्ध गराएको दुई लाख सहयोगसमेत गरी तीन लाख ५० हजार रुपैयाँ जम्मा गरेर गत श्रावण १४ गते गुरु पूर्णिमाका दिनबाट पुनः गुरुकुल शिक्षा सुरु भएको छ ।

हाल यहाँ १४ जना विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेका छन् । बाँकी ५ जना भर्ना नभई अध्ययनरत छन् । यहाँ दलित विद्यार्थीले समेत संस्कृत भाषामा गुरुकुल शिक्षा अध्ययन गरिरहेका छन् ।

गुरु षडानन्दमाथि राजनीति

षडानन्द–सीताराम गुठी राजनीतिक भागबण्डामा चल्नु  निश्चय नै राम्रो हैन । तर, राजनीतिकै कारण बर्षौंदेखि हुँदै आएको दैनिक पूजाआजा समेत अहिले बन्द भएको छ ।

sadananda-la-banako-pokhari
षडानन्दले निर्माण गरेको पोखरी

गुरु षडानन्दले अथाह सम्पति जनतालाई छाडेर गएका थिए । तर, आज गुरुको मूर्तिमा एकसरो लुगासम्म लगाउन सक्ने सम्पत्ति छैन ।

षडानन्द गुरुबारे जानकार विश्वनाथ अधिकारीका अनुसार गुरु षडानन्दका नाममा रहेका मन्दिर तथा धार्मिक क्षेत्र र अचल सम्पत्ति संकटमा पर्दै गएको छ । यसको संरक्षणका लागि कसैको ध्यान पुगेको देखिँदैन । अधिकारीले भने– “यसको संरक्षणमा न त गुठीले नै ध्यान दिन सकेको छ, न  राज्यले नै चासो दिएको छ ।”

संरक्षणका लागि सिडियोको नेतृत्व

दिङ्लाबासीहरुले शुन्यमा पुगेको गुठी र यसभित्र रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षणका लागि अब सिडियोको नेतृत्व आवश्यक रहेको औंल्याएका छन् ।

जिल्लाका स्थानीय बासिन्दादेखि केन्द्रसम्मका नेताहरुबाट आजित बनेका जनताले राष्ट्रकै गौरवका रुपमा षडानन्द गुरुको धरोहरका रुपमा रहेको धार्मिक तथा ऐतिहासिक क्षेत्रलाई जोगाउन सीडियोको अध्यक्षतामा काम हुनुपर्ने बताएका छन् ।

तोया गौतमले भने– ०५१ सालसम्म गुठीको पदेन अध्यक्ष सिडियो हुने व्यवस्था थियो । तत्कालीन एमाले नेता तथा सभासद नरेन्द्र बस्नेतको हस्तक्षेपका कारण षडानन्द–सीताराम गुठीमा राजनीति प्रवेश भयो ।

koilas-mandirतत्कालीन सांसद बस्नेतले सरकारबाट नभई जनताका छोराले गुठी सम्हाल्नुपर्छ भन्ने भाषण जनतालाई सुनाए । र, सोहीअनुसार अतिक्रमण गरेर सिडियोले पाइरहेको अधिकार खोसियो । त्यसयता गुठीको संरचना सबै बेबारिसे भएका छन् । उपयोगमा आएका संरचना पनि राजनीतिक नेतृत्वकै अधीनभित्र रहेको छ ।”

सीडियोबाट अधिकार खोसेयता एमाले, कांग्रेस र माओवादीका स्थानीय नेताहरुले भागवण्डाका आधारमा अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष बनेर गुठी चलाउने गरे पनि यसको अचल सम्पत्तिमा बारम्बार अतिक्रमण भइरहेको छ ।

त्यसअघिसम्म गुठीको जग्गा एक पाइला मिच्ने त के, अस्थायी टहरो हाल्नसम्म सकैले पाउँदैन थिए । गौतम भन्छन्–  ‘माओवादी नेता दिलकुमार राई अध्यक्ष हुँदासम्म गुठीको जग्गामा घर बनाउन रोक लगाइएको थियो । हाल एमालेका स्थानीय नेता किशोर राई अध्यक्षमा आएसँगै उनले रसिद काटेरै गुठीको जग्गाभित्र घर बनाउने अधिकार दिएका छन् ।

यसरी गुठीको जग्गामा रसिद दिएर घर बनाउन दिनु भनेको जग्गाको धनीपूर्जा दिए बराबर मान्ने गरिएको छ ।

तत्कालीन समयमा माओवादी नेता दिलकुमार राईसमक्ष स्थानीय सुवास बस्नेत, उद्धव भित्रिकोटीलगायत केही व्यक्तिले घर बनाउन आग्रह गर्दा रोकिएको थियो । तर, अहिले नागरिकले विरोध गर्दागर्दै अध्यक्ष र सचिवले घर बनाउन आफु अनुकुलका व्यक्तिलाई स्वीकृति दिएको स्थानीयको आरोप छ ।

भोजपुरका स्थानीयवासीले ऐतिहासिक धरोहर मसानघाटमा परिणत बन्न लागेको भन्दै यसको सुरक्षाका लागि सरकारसँग गुहार मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment