Comments Add Comment

शिक्षक भएर राजनीति गर्दा रातारात भाग्नुपर्‍यो

राजनीति ‘नजानिएपछि’ भागियो

khagendraनेपालको वाम राजनीतिमा समाजमा सुनिएका, चिनिएका सबै ठूला नामहरुसँग मेरो औपचारिक परिचय भएको हो । पुष्पलाल श्रेष्ठसँग काशीमा जाँदा भेटेँ, मेरो उपन्यास ‘चेतनाको पहिलो डाँक’ छाप्न गएको थिएँ । मोहन विक्रमलाई काठमाडौंमै भेटेँ । अहिलेका प्रचण्डदेखि एमालेका नेताहरुसँग पनि व्यक्तिगत चिनारी भएकै हो ।

एकदेव आले नाम गरेका एकजना आदर्श कम्युनिष्ट थिए भनिन्छ, मैले उनलाई भेट्न पाइनँ । असल कम्युनिष्ट मानिने रत्न वान्तवासँग पनि मेरो संगत भएन । बाँकीमा धेरैले असल मानेका दुईजना मैले चिनेको हुँ, निर्मल लामा र सोनाम साथी (शशि शेरचन) ।

सामान्यतः कुनै पनि मान्छे टाढा छउञ्जेल आदर्श लाग्छ, त्यसको नजिक गएपछि लुकेका पत्र र गुह्य कुरा खुल्दै जान्छन् । अरु धेरै नेताहरु जसको म जति नजिक गएँ, तिनका विकृतिहरु मेरा आँखामा खुल्दै गए र तीप्रतिको मेरो मोह भंग भयो । तर, निर्मल लामा र सोनाम साथीसँग त्यति नजिक हुँदा पनि उनीहरुको चरित्रमा दोहोरोपना, वचन र कर्मको बीचमा असंगति, लोभी र पापी कहिल्यै देखिनँ । त्यसैले उनीहरु मेरा लागि नेपाली कम्युनिष्ट आन्दोलनका आदर्श हुन् ।

यी दुईसँग नजिकको र प्रेममय उठबस भयो । त्यसमा पनि सोनामसँग त अझ राजनीतिक सहयात्रा नै भयो ।

मैले भेटेका कम्युनिष्टहरुमा लोभ नभएको, अनुचित किसिमको कुनै लालसा वा आकांक्षा नभएको एउटा भव्य सन्त र वैरागी जस्तो लाग्छ सोनाम । म उनलाई वैरागी कम्युनिष्ट भन्छु । मैले चिनेका कम्युनिष्टहरुमध्ये असली कम्युनिष्ट हुन् ।

उनी धवलागिरीका शेरचन हुन् । धनाढ्य परिवारका सन्तान । पछि सपरिवार काठमाडौं आए । उनको परिवारमा दाजुभाइ दिदीबहिनी गरी ६\७ जना थिए । सबै जना कोही पेटको त कोही मुटुको बिरामी थिए । पढ्दा र उपचार गर्दा उनीहरुको भएको सम्पत्ति प्रायः सबै सकियो ।

हामीलाई लाग्थ्यो, पाँच\दश वर्षमा त जनवाद आइहाल्छ, जनवाद आइसकेपछि समाजमा यी विभेद, असमानता, अभावहट्दै गएर निमिट्यान्न भइहाल्छन् ।यसैले यो नाथे बुर्जुवा शिक्षाको के काम ! बुर्जुवा शिक्षा बहिष्कार गर्ने माहौल बन्यो

उनी त्रिचन्द्र क्याम्पसमा बीएस्सी पढ्थे । म बीए पढ्थेँ । उनीसँग त्योबेलादेखिको संगत हो मेरो ।

उनको ज्ञानको दायरा अत्यन्त फराकिलो छ । उनी विज्ञानको विद्यार्थी भएर पनि साहित्यमा रमाउने मैले भन्दा उनले बढी पढेका छन् सायद । आफ्नो विषय साहित्य नभए पनि पठन, स्मरण र पढेका कुरालाई भन्न सक्ने उनको खुबी धेरै राम्रो छ ।

हेडमास्टर बनेर लमजुङ जाँदा झोलाभरि ‘रातो किताब’

सोनाम साथीसँग म ०२४ सालमा काठमाडौं आएदेखि संगत भएको हो । ०३४ सालसम्म एकदम नजिकको सम्बन्ध भयो । त्यसपछि उनले सर्वहारावादी कम्युनिष्ट लिग नामको पार्टी खोलेपछि पनि संगत निरन्तर भइरह्यो ।

०२८ सालतिरको कुरा हो । त्यसबेला बुर्जुवा शिक्षा बहिस्कार भन्ने एउटा अभियान चलेको थियो । त्यसको पृष्ठभूमिका दुई–तीन वटा कुरा थिए । चीनमा सांस्कृतिक क्रान्ति र नेपालको दक्षिणी छिमेकमा नक्सलवादी आन्दोलन भइरहेको थियो भने एउटा सानो देश भियतनाम विशाल र शक्तिशाली अमेरिकी साम्राज्यवादसँग लडिरहेको थियो । यी तीनवटा देशका तीन प्रकृतिका आन्दोलनहरु नेपाली युवाहरुका लागि आदर्श र प्रेरणाका स्रोत थिए ।

त्यही प्रेरणाले पञ्चायती व्यवस्था विरुद्ध आन्दोलनमा लागियो । हाम्रो त्यो बेलामा नारा थियो, नौलो जनवाद र नेता थिए माओत्से तुङ । हामीलाई लाग्थ्यो, पाँच\दश वर्षमा त जनवाद आइहाल्छ, जनवाद आइसकेपछि समाजमा यी विभेद, असमानता, अभावहट्दै गएर निमिट्यान्न भइहाल्छन् ।यसैले यो नाथे बुर्जुवा शिक्षाको के काम ! बुर्जुवा शिक्षा बहिष्कार गर्ने माहौल बन्यो ।

त्यो बहिष्कार गरेर माओको ‘रेड बुक’ झोलाभरि बोकेर एउटा शिक्षक वा केहीको आवरणमा क्रान्तिको उज्यालो फैलाउन गाउँमा जाने भन्ने लहर चल्यो । त्यसबेला म कीर्तिपुरमा अंग्रेजीमा एमए पढ्दै थिएँ । बहिस्कारको लहरमा पढाइ त्यत्तिकै हापियो । त्यसरी पढाइ हाप्नेमा हामी आठ\दश जना नै थियौं होला । सोनाम चाहिँ स्वास्थ्यका कारणले काठमाडौं छोड्न नमिल्ने भएकाले गाउँतिर गएनन् ।

गाउँमा हेडमास्टरको आवरणमा गइयो । काठमाडौंको पढेलेखेको मान्छे केही बहाना नलिई गयो भने यो षड्यन्त्र र उत्पात गर्न आयो भन्ने प्रशासनलाई यसै लागिहाल्थ्यो । मास्टरी देखाउने दाँत थियो, खाने दाँत चाहिँ क्रान्ति थियो

म लमजुङको खुदीमा हाइस्कूलको हेडमास्टर भएर गएँ । फेरफार गर्ने गतिलो लुगासमेत थिएन त्यसबेला। झोलामा माओका रातो किताब ५० थान जति थिए ।

त्यो अभियानमा मलाई त्यहाँ लगाउनमा सोनाम साथीको धेरै ठूलो हात छ । आदर्शप्रति उनको आफ्नो प्रतिबद्धता त छँदै थियो । यस्तै, अरु युवालाई पनि आदर्शप्रति प्रेरित गर्ने, झक्झक्याउने उनको प्रतिभा र सामथ्र्य थियो ।

गाउँमा हेडमास्टरको आवरणमा गइयो । काठमाडौंको पढेलेखेको मान्छे केही बहाना नलिई गयो भने यो षड्यन्त्र र उत्पात गर्न आयो भन्ने प्रशासनलाई यसै लागिहाल्थ्यो । मास्टरी देखाउने दाँत थियो, खाने दाँत चाहिँ क्रान्ति थियो ।

क्रान्ति गर्न गाउँमा पुगे पनि संगठन थिएन ।संगठन भन्ने चिज के हो, कसरी बनाइन्छ, कसरी परिचालन गरिन्छ भन्नेकेही थाहा पनि थिएन । विद्यार्थी र अरु मान्छेलाई सम्पर्कमा लिएर राजनीतिक प्रभाव भएपछि तिनलाई रातो किताब पढाउने सोच भयो । सामान्य किसानको घरमा रात–साँझ गएर उनीहरुलाई दमन र शोषणबारे जागरण फैलाउने गर्न थालियो ।

गाउँमा खेत आवाद र जोतभोग गर्ने किसान भए पनि ती खेत साहु र मुखियाका थिए । यसैले कानुनी रुपमा मुखियाको खेत भए पनि पसिनाको लगानीको हिसाबले यो खेत त तिम्रो हो, खेत लुट्नुपर्छ भनेर किसानलाई उकास्ने गरिन्थ्यो ।

गाउँमाअलिकता हुनेखाने, जग्गा र अरु केही आयस्ता भएकाहरुले केटाकेटीलाई स्कूल पठाए पनि औकात नहुनेले पठाउँदैनथे । त्यस्तो अवस्थामा तिम्रो छोराछोरी शिक्षाबाट किन वञ्चित हुने, लड्नुपर्छ भनेर गरिबहरुलाई भनियो ।

अहिले सम्झिँदा त्योबेला राजनीतिभन्दा पनि राजनीति गरेको अभिनयचाहिँ पर्याप्त गरिएछ । त्यो अभिनय स्वाभाविक भएन, त्यसलाई लुकाउन जानिएन । सबै गतिविधि सार्वजनिक भएपछि भाग्नुपर्‍यो

त्यहाँबाट कुरा बढ्दै जाँदा राज्यको कुरा आउँछ ।स्थानीय जनतासँग कुरा हुन्थ्यो– यो राज्य कसको, राज्य के ले चलेको छ ? राज्य त तिमी–हामी जस्ता गरिबले खाई–नखाईकन तिरेको करबाट यो चलेको छ । हाम्रो तिरोले सेना, पुलिस बन्छ । हाम्रो तिरोले न्यायालय चलेको छ । तर, ती जम्मै संयन्त्रले हामीमाथि नियन्त्रण गर्छन् र दास बनाउँछन् । यसैले यसलाई पल्टाउने हो ।

तल खेत लुट्नेदेखि र माथि राज्य लुट्नेसम्म कुरा हुन्थ्यो ।

राजनीति ‘नजानिएपछि’ भागियो

राजनीति गर्ने बहानामा गए पनि हेडमास्टरको धर्म पनि निर्वाह गरियो । इमानसाथ नै पढाएँ । शिक्षक कम भएकाले एउटै पिरियडमा एउटा शिक्षकले दुइटा क्लास पढाउनुपथ्र्यो । पढाउने कामसँगै राजनीति पनि गर्दै गइयो । तर, राम्रो अनुभव नभएकोले गाह्रो भयो ।

काम गर्दै जाँदा ढंग पुगेन । त्यहाँ केही असल कांग्रेस पनि थिए । तर, धेरै काला कांग्रेस थिए । त्यो बेला त कांग्रेस र कम्युनिष्टको बीचमा धेरै ठूलो खाडल थियो । एकले अर्कोलाई मान्छे नै नगन्ने ।

म गएको त्यस्तै एक वर्ष जति भएको थियो । पञ्च, पुलिस र एकथरि कांग्रेस भएर त्यहाँ मलाई बसिखान दिएनन् । पक्राउ गर्ने र कुट्ने अवस्था भइसकेपछि राति कुम्ला–कुटुरा लिएर भागेँ । गएको एक वर्षमै भाग्ने अवस्था आयो ।

अहिले सम्झिँदा त्योबेला राजनीतिभन्दा पनि राजनीति गरेको अभिनयचाहिँ पर्याप्त गरिएछ । त्यो अभिनय स्वाभाविक भएन, त्यसलाई लुकाउन जानिएन । सबै गतिविधि सार्वजनिक भएपछि भाग्नुपर्‍यो ।

लमजुङपछि मास्टर नै भएर तनहुँ गएँ । तनहुँ चाहिँ काठमाडौंदेखि अलि नजिक र जागरुक ठाउँ भएकोले त्यसरी लखेटिने अवस्था भएन । तर, सजिलो पनि कहिल्यै भएन । त्यहाँ जाँदा पनि क्रान्तिर जागरणकै उद्देश्य अनुसार काम गरियो ।

त्यस क्रममा सोनाम साथीसँग कोही मान्छे मार्फत चिठीपत्र पनि आदानप्रदान हुन्थ्यो । चिठी सेन्सर हुने भएकोले हुलाकबाट पठाउन सम्भव थिएन ।

khagendra-sangrula

पार्टी प्रवेश र लेखकको गहना

०३५ सालतिरको कुरा हो । पञ्चायती व्यवस्था उल्टाउने भनेर संगठनमा लाग्नेहरु आ–आफ्नो ठाउँमा कस्सिएकै थिए । त्यसबेला म चितवनमा थिएँ । काठमाडौंमा सोनामले एउटा कम्युनिष्ट पार्टी खोलेछन् । त्यसमा जम्मा तीन–चार जना साथी थिए । पार्टीको नाम थियो, सर्वहारावादी कम्युनिष्ट लिग ।

कम्युनिष्ट भनिने सबै पार्टी र नेताहरु ढोंगी भए, तिनमा दोहोरो चरित्र देखियो, त्यसैले अब सोझै जनतासँग गाँसिएको पारदर्शी तथा राजनीतिलाई अथवा जनताको नामलाई बेची खाने माल नबनाउने कम्युनिष्ट बनाउने उद्देश्य राखेर त्यो पार्टी खोलिएको थियो । पार्टीको जन आधार केही पनि थिएन । सोनामलाई लागेछ, पार्टी खोलिसकेपछि पार्टीमा एउटा लेखक त चाहिन्छ । मलाई नसोधीकनै मेरो नाम पनि संगठनमा राखिदिएछन् । अब पाँच जना भइयो ।

उनी मलाई भेना भन्थे । मलाई चितवनमा चिठी पठाए–

‘भेना, एउटा सानो पार्टी खोलियो । पार्टी खोलेपछि एउटा लेखक त गहनाको रुपमा पनि चाहियो । मैले तपाईंको नाम राखेँ । बैठकमा आउनुहोला ।’

मलाई पार्टीको कोषाध्यक्ष पदमा राखिएको थियो । त्यो सम्झिँदा अझै पनि रमाइलो लाग्छ, जसलाई कोष भनेको के हो थाहा छैन, चन्दा उठाउने भाषा जानेको छैन, पैसा सञ्चित गर्ने खुबी छैन, त्यस्तो मान्छेलाई कोषाध्यक्ष बनाइयो । त्यहीँबाट मलाई के लाग्यो भने, यो चाहिँ खालि मनको एउटा तृष्णा तृप्त गर्नको निम्ति बनाइएको पार्टी हो !

पार्टीले काम त केही पनि गरेन । तर, सोनाम र मलाई संगठनले अझ नजिक बनायो । बेला बेला बैठक गर्ने, विचार विमर्श गर्ने, आदर्शका कुरा गर्दै अरुका कुरा काट्ने गरिन्थ्यो ।

पछि हाम्रो त्यो लिग रुपलाल विश्वकर्माको नेपाल मजदुर किसान संघ नामको पार्टीमा गाभियो । त्यसरी विलय भएपछि म पार्टीबाट निस्किएँ ।बाहिरैबाट समर्थन गर्छु भन्ने समझदारीसाथ औपचारिक रुपले संगठनबाट निस्किएको हुँ ।

हिजोदेखि आजसम्म मेरो लेखनको आधारभूत भावना भनेको त राजनीति नै हो । चाहे अखबारी लेखन होस्, मौलिक लेखन होस् वा अनुवाद साहित्य । सबै कुरामा राजनीति जोडिन्छ र मानिस केन्द्रमा हुन्छन् । तर, मेरो लेखनमा राजनीतिक नारा कहिल्यै हावी भएन

खासमा म त लेख्ने र पढ्ने मान्छे थिएँ । संगठनमा काम गर्ने खासै मेरो रुचि र दखल पनि थिएन । सोनामभने पार्टीमै रहे । पछि त्यो संगठन पनि एकता केन्द्रसँग विलय भयो । सोनाम अहिले पनि एकता केन्द्रको निकट छन् ।

हिजोदेखि आजसम्म मेरो लेखनको आधारभूत भावना भनेको त राजनीति नै हो । चाहे अखबारी लेखन होस्, मौलिक लेखन होस् वा अनुवाद साहित्य । सबै कुरामा राजनीति जोडिन्छ र मानिस केन्द्रमा हुन्छन् । तर, मेरो लेखनमा राजनीतिक नारा कहिल्यै हावी भएन ।

हामीकहाँ लेखिने गरेका मार्क्सवादी साहित्य साहित्यिक शिल्पयुक्त भएनन् भनेर टिप्पणी हुने गर्छ । हुन पनि पार्टीकै नारा लेख्ने हो भने त्यो भन्दा राम्रो त घोषणापत्रहरु छँदै छन् । म चाहिँ साहित्यको विद्यार्थी भएकोले र साहित्यको शिल्प, कलाबारे अलि सजग भएकोले प्रत्यक्ष रुपमा राजनीतिमा बाक्लै संलग्न हुँदाहुँदै पनि लेखनको कलात्मकतामा राजनीतिको त्यति ठूलो भार वा हस्तक्षेप भएन ।

प्रस्तुति: जोतारे धाइबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment