
News Summary
Generated by OK AI. Editorially reviewed.- आमाछोरीको सम्बन्धमा रहेको जटिलता र यसका विभिन्न पक्षहरूलाई बुझ्न कला प्रदर्शनी एक माध्यमको रूपमा प्रस्तुत गरिएको छ।
- प्रदर्शनीले आमाको मौनता, अपेक्षा र छोरीको वेदना र प्रश्नहरूलाई विभिन्न कला माध्यमहरू मार्फत अभिव्यक्त गर्दछ।
- सामूहिक रूपमा प्रस्तुत कलाकृतिहरूले परम्परागत र आधुनिक दृष्टिकोणबाट आमाछोरीको सम्बन्धको जटिलता र दूरीलाई उजागर गर्छ।
कहिल्यै कसैले सुनेन
उनको अस्तित्वको आहट
यो युगले नबुझेको उनको मौनता
म कसरी बुझूँ ?
नेपाल कला परिषद्, बबरमहलमा एक नूतन र दुर्लभ कला प्रदर्शनी हुँदैरहेछ । सुखद् संयोगवश हिजो म त्यहाँ पुगेँ । साथमा थिए डाक्टर भाष्कर गौतम र प्रोफेसर अपेक्षा शाह । प्रदर्शनीमा प्रस्तुत बहुविध कला हेर्दै र सुन्दै जाँदा अस्मिता बादीसँग कवितामा हाम्रो भेट भयो । अस्मिताको कविता लिपि र ध्वनि दुवै औतारमा हाजिर छ । अस्मिताको त्यही कविताबाट टिपिएका हुन् माथि उधृत हरफहरु ।
आमाबारे छोरीद्वारा रचित यी हरफमा एक प्रकारले आमाहरुका अव्यक्त कथा र व्यथा तथा त्यसप्रति छोरीहरुको वेदनामय प्रश्न प्रतिबिम्वित छ । कला प्रदर्शनीको शीर्षक छ— ‘पेटका केही कुरा’ । यो शीर्षकले संस्कृति, संहिता र बर्जनाका कारण आमाछोरीबीच नभनिएका, भन्न नसकिएका र पेटमै गुम्सिएका भावनाहरुप्रति सङ्केत गरेको होला शायद ।
र, यो कला प्रदर्शनी, घोषित उद्देश्यअनुसार, तिनै दमित र अप्रकट भावनालाई बुझेर अनेक माध्यमबाट प्रकट गर्ने सामूहिक चेष्टा हो । अस्मिता वादीको कविताका माथिका हरफमा आमाको उपेक्षित अस्तित्वको मौन चीत्कार छ । र, आमालाई युगले त बुझेन भने म छोरी कसरी बुभूmँ भन्ने कवि अस्मिताको अतिरिक्त चीत्कारमय प्रश्न छ ।
म हराउँछु उनको एक युग
पुरानो धोतीमा
जहाँ उनले कैयौँ सपनालाई
बेस्सरी गाँठो पारेर कैद गरेकी छिन् ।
उही कविताका यी हरफमा उही अव्यक्त उकुसमुकुसको उछ्वास छ ।
०००
कला प्रदर्शनीकी प्रबन्धकर्तृ हुन् बुनु ढुङ्गाना । उनको कथनअनुसार यो कला प्रदर्शनीको ध्येय आमाछोरीको सम्बन्धका जटिलताहरुलाई अभिव्यक्तिका विभिन्न माध्यममार्पmत विभिन्न कोण र आयामबाट बुझ्ने यत्न हो । प्रदर्शनीमा प्रस्तुत विषयलाई व्यक्त गर्न ध्वनि, चित्र र लिपि तीन माध्यमको प्रयोग गरिएको छ । माध्यमको विविधताको प्रयोजन आमाछोरीको सम्बन्धलाई अनेक दृष्टि र कोणबाट उत्खनन गरी व्यक्त गर्नु हो ।
प्रदर्शनीमा आमाका चिठी छोरीलाई र छोरीका चिठी आमालाई राखिएका छन् । चाखलाग्दो कुरा, प्रस्तुत कलाद्वारा प्रभावित दर्शकहरुले थलैमा आमालाई लेखेका चिठी भित्ताभरि छन् । र, किशोरीहरु अनेक टेबुलछेउमा बसेर आमालाई चिठी लेख्न तल्लीन देखिन्छन् । कला प्रदर्शनीप्रतिको आकर्षण र त्यसको प्रभावको गहनताको ज्वलन्त प्रमाण हो यो ।
कलाका प्रस्तुत कृतिहरु भन्छन्— आमाछोरीको सम्बन्ध आकर्षण र विकर्षणको जटिल सम्बन्ध हो । रगतका अभिन्न सूत्रहरुले बाँधिएको आमाछोरीको सम्बन्धमा अविच्छिन्न आकर्षण छ । सँगसँगै छोरीप्रति आमाका अपेक्षाहरु र आमाका ती अपेक्षाहरुप्रति छोरीको अवज्ञामा तिक्त विकर्षण छ । आकर्षणको मोह र विकर्षणको विमोहबीचको मेल र द्वन्द्वको चक्रमा आमाछोरीको सम्बन्ध नित्य फन्को मारिरहन्छ ।
पारिवारिक संस्कृति रुढि र ढोङ, वञ्चना र बर्जना तथा सङ्कुचन र निषेधद्वारा सीमाबद्ध हुन्छ । आमाहरु प्रायः त्यही सीमाभित्र संस्कारित हुन्छन् । आमाहरुका छोरीहरुप्रतिका अपेक्षा त्यही सीमाभित्र आकारित हुन्छन् । छोरीहरु समयसँगै त्यो सीमा तोड्दै बाहिर निस्कन्छन् । यो भित्र र बाहिरको दूरी लामो हुन्छ ।
भित्रको भाषा बाहिर बुझ्न गाह्रो हुन्छ, बाहिरको भाषा भित्र बुझ्न गाह्रो हुन्छ । यो दूरी आमा र छोरीबीच असमझ, भिन्न मत र तनावको कष्टकर कारक हो । यो कला प्रदर्शनीमा प्रस्तुत कलाकृतिहरुको प्रयोजन यो भित्र र बाहिरबीच साझा भाषाको खोजी गर्ने एक प्रयोग हो, एक अभ्यास हो, एक साधना हो ।
कला प्रदर्शनीमा आमालाई पठाउन नसकिएका छोरीहरुका चिठीहरुको लाममा छोराको एउटा चिठी थपूँ कि लाग्यो मलाई । तर तत्क्षण मेरो मन खिन्न भयो । आमा बितेको झन्डै तीन दशक भयो । आमा र मेरो दृष्टिक्षितिज र जीवनदृष्टिबाट निर्मित जीवनवृत्त एकदमै फरक थियो । आमा निरक्षर थिइन् ।
आमाको जीवन साँघुरो सांस्कृतिक घेराको कैदमा थियो । म त्यो सीमा र त्यो कैदभन्दा बाहिर धेरै पर पुगेको थिएँ । आमा र मेरोबीचमा वार्तालाप गर्ने साझा विषय ज्यादै सीमित थिए । वार्ता गर्ने साझा भाषा त छँदैथिएन । त्यसैले कुरा गर्नलाई हाम्रा कुरा एकैछिनमा सकिन्थे । र, हामी मौन भावले एकअर्कालाई हेराहेर गर्थ्यौं। केवल मेरो स्मृतिमा जीवित रहेकी निरक्षर आमालाई चिठी लेख्नुको प्रयोजन के ? मैले आफैँलाई सोधेँ । र, मलाई लेखूँ लागेको चिठी लेखिएन ।
कला प्रदर्शनीमा अस्मिता वादीको अतिरिक्त श्रद्धा देवकोटा, इरिना गिरी, उज्ज्वला महर्जन, तृप्ति तामाङ, सुष्टि श्रेष्ठ, प्रतिभा तुलाधर र रेचल लोवका कलाकृति प्रस्तुत छन् । यो सामूहिक प्रस्तुतिमा कलाका भिन्न विधाको माध्यमले भिन्न दृष्टिबाट आमा र छोरीको सम्बन्ध बुझ्ने एकीकृत चेष्टा निहित छ ।
मान्यजन ! कला प्रदर्शनीमा सुनौँ है आमाछोरीका ‘पेटका केही कुरा’ ।
प्रतिक्रिया 4