Comments Add Comment

देशकै पहिलो ट्राभल कार्डसहितको सिटी बस भरतपुरमा, मासिक शुल्क कति ?

city-bus-chitwan-2
७ मंसिर, चितवन । चितवनको भरतपुरमा मंसिर १९ गतेबाट आधुनिक सुविधासहितकाे सिटीबस सञ्चालनमा आउने भएका छन् । भरतपुर उपमहानगरपालिका र गैंडाकोट क्षेत्रलाई लक्षित गरी ट्राभल कार्डसहितको सिटी बस सञ्चालन गर्न लागिएको हो ।

ग्लोबल मेट्रो सिटी बस प्रालिका नामबाट भरतपुर उपमहानगरपालिका क्षेत्र र गैंडाकोटको विजय चोकसम्म बस सञ्चालन गर्न लागेको कम्पनीका अध्यक्ष बद्री अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार २६ सिट भएका २५ वटा बस सञ्चालनमा ल्याइने छ । विहान ६ बजेबाट राति ७ बजेसम्म भरतपुर र गैडाकोट क्षेत्रमा १०/१० मिनेट भित्र बसहरु चलिरहने छन् ।

ती बसमा सिसी क्यामेरा, वाइफाई, मोबाइल चार्ज, स्थानीय उत्पादनको विज्ञापन गर्न मिल्नेगरी डिस्प्ले समेत राखिने छ । बसमा ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क यात्राको व्यवस्था गरिने अधिकारीले जानकारी दिए ।

city-bus-chitwan-1
धार्मिक क्षेत्र देवघाट, मौलाकालिका मन्दिर लगायतका क्षेत्रमा आन्तरीक पर्यटन प्रवर्द्धन हुने गरी बस सञ्चालन गरिने अधिकारीले बताए । भरतपुरको केन्द्रीय बस टर्मिनललाई केन्द्र मानेर सिटी बस चल्ने छन् । २५ जना व्यवसायी मिलेर आठ करोड ५० लाख रुपैयाँको लागतमा बस किनिएको हो ।

बसका चालक र सहचालकलाई ट्राफिक प्रहरीका निरीक्षक र सहायक निरीक्षकले ट्राफिक नियम, यात्रुको सुरक्षा, दुर्घटनाका कारण लगायतका विषयमा तालिम दिने काम भइरहेको अधिकारीले बताए ।

अन्य सवारीसाधन झैं एकै ठाउँमा रोकी नराख्ने बताउँदै अधिकारीले तोकिएको बस स्टपहरुमा यात्रु झार्ने र ओराल्ने मात्रै गरिने हुँदा छिटो यात्रा गर्न सकिने दाबी गरे ।

उपमहानगरपालिकाको सहरी क्षेत्रको जनघनत्व बढे पनि व्यवस्थित यातायातको सुविधा नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।

सबैमा महिला सहचालक

city-bus-chitwan-3
एकैप्रकारको निलो रंगमा भित्रिएका सवै बसमा महिला सहचालक मात्र राखिने छ । खुल्ला बिज्ञापन नै गरी महिलाहरुको मात्र आबेदन लिई छनौट गरिएको छ ।

‘देशमा नै पहिलोपटक हामीले महिला सहचालक मात्रै राखेर बस सञ्चालन गर्न लागेका छौं’ अधिकारीले भने, ‘सवै यात्रुहरुलाई पारिवारिक वातावरण दिन, मिठो बोली बचन र असल व्यवहारका लागि महिलाहरु छनोट गरेका हौं ।’

बसका चालकहरु महिला नै राख्न खोजिएको तर महिला चालकहरु नपाइएको लगानीकर्ता मध्येका एक शंकर गिरीले जानकारी दिए । चालकहरु सवैलाई एकै प्रकारको पोशाक लगाउने व्यवस्था गरिएको छ ।

९ सयमा एक महिना यात्रा

city-bus-yatra-card-3
कम्पनीले नेपालमै पहिलोपटक मासिक यात्रा शूल्क कार्डको व्यवस्था गरेको छ । एक महिनाको ९ सय रुपैया तिरेर कार्ड लिएपछि एक महिना भरी जतिसुकै यात्रा गरेपनि पैसा तिर्नुपर्ने छैन ।

साथै एउटा कार्डले परिवारका अन्य सदस्यहरुले पनि यात्रा गर्न पाउने व्यवस्था गरिएको प्रालिका अध्यक्ष बद्रि अधिकारीले बताए । विद्यार्थी, व्यवसायी र नियमित यात्रा गर्नुपर्ने अन्य नागरिक लागि नेपालमै पहिलो पटक मासिक कार्डको व्यवस्था समेत गरिएको छ ।

कार्ड लिएपछि कम्पनीका जुनसुकै बसमा जतिपटक पनि अतिरिक्त शुल्क नतिरी यात्रा गर्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment