७ मंसिर, काठमाडौं । सरकारले भूकम्पपीडित परिवारलाई उपलब्ध पहिलो किस्ताको अनुदान रकमबाट करिब १२ हजार घरको पुनर्निर्माण सुरु भएको दावी गरेको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भूकम्प अतिप्रभावित जिल्लामा ११ हजार ९ सय ८९ घरको पुनर्निर्माण सुरु भएको बताएको छ ।
सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई प्रमुख शिवहरी शर्माले गाउँ गाउँमा खटिएका इन्जिनियरहरुको सहयोगले पुनर्निर्माण भएका घरको तथ्यांक संकलन गर्न सुरु गरेको जानकारी दिए । ‘ठाउँ ठाउँमा घर निर्माण भइरहेका छन् । अब तथ्यांक आउनेक्रम बढ्छ’- उनले भने ।
कार्यान्वयन इकाईका अनुसार सिन्धुपाल्चोक, काभ्रे, गोरखा, रामेछाप, मकवानपुर , ओखलढुङ्गा र रसुवा जिल्लाबाट दोस्रो किस्ताको अनुदानका लागि निवदेन दिन पनि सुरु भइसकेको छ ।
कहाँ कति घरको निर्माण थालियो ?
क्र.सं. | जिल्ला | निर्माण सुरु भएका घर संख्या |
---|---|---|
१ | सिन्धुपाल्चोक | १५८३ |
२ | धादिङ | २१४३ |
३ | काभ्रे | ९९५ |
४ | नुवाकोट | ३१६२ |
५ | गोर्खा | ११२४ |
६ | दोलखा | १२१४ |
७ | रामेछाप | ७०० |
८ | सिन्धुली | १२६ |
९ | मकवानपुर | ३५१ |
१० | ओखलढुङ्गा | ४६३ |
११ | रसुवा | १२८ |
जम्मा | ११,९८९ |
स्रोत : सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई
कुन किस्तामा कति अनुदान ?
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले निजी आवास पुनर्निर्माण कार्यविधि तयार भइसकेकाले त्यसका आधारमा इन्जिनियरहरुले दोस्रो किस्ताका लागि सिफारिस गर्न सक्ने बताए ।
उनले पहिलो किस्ताको अनुदान रकम वितरण भइसकेकाले अब धेरैले घर निर्माण सुरु गर्ने विश्वास व्यक्त गरे । वर्तमान सरकारले भूकम्प पीडितलाई तीन किस्तामा तीन लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरे अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान कार्यविधि संशोधन गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको छ ।
नयाँ घोषणा अनुसार भूकम्प पीडितले पहिलो किस्तामा ५० हजार जग हालिसकेपछि सहरी विकास मन्त्रालयले गाविस तथा नगरपालिकामा खटाएका इन्जिनियरको सिफारिसमा १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख रुपैयाँ पाउनेछन् ।
प्राधिकरणका अनुसार दोस्रो र तेस्रो किस्ता प्राप्त गर्नका लागि भूकम्प प्रतिरोधी प्रविधि अनुसार घर पुनर्निर्माण गरेको हुनुपर्छ ।
‘अनुदान सम्झौता द्रुत’
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार मंसिर ६ गतेसम्म भूकम्प अति प्रभावित एघार जिल्लाका ४ लाख ७० हजार ५ सय २४ घरधनीसँग अनुदान सम्झौता भएको छ भने ४ लाख ३२ हजार ७ सय ३८ घरधनीको पहिलो किस्ताको अनुदान रकम बैंक खातामा जम्मा भएको छ ।
अनुदान पाउनु अघि पनि भूकम्प प्रभावित क्षेत्रका केही ठाउँमा घरहरु बनाइएका छन् । कार्यान्वयन इकाईका प्रमुख शर्माका अनुसार अब त्यसको विवरण पनि आउनेछ ।
प्राधिकरणका अनुसार अनुदान पाउने छनौट सूचीमा परेका घरधनीले भूकम्प प्रतिरोधी घर बनाएको प्रमाणित भएमा एकमुष्ट तीन लाख रुपैयाँ अनुदान पाउन सक्नेछन् ।
यसैबीच काठमाडौं उपत्यकामा अनुदान पाउन छनौट सूचीमा परेका भूकम्प पीडित परिवारसँग अनुदान सम्झौता गर्ने क्रम जारी छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार मंसिर ६ गतेसम्म काठमाडौंमा १६ हजार ४ सय ५९, भक्तपुरमा ६ हजार २४ र ललितपुरमा ४ हजार ३ सय २२ घरधनीसँग अनुदान भइसकेको छ ।
प्रतिक्रिया 4