Comments Add Comment

प्रचण्डलाई उपेन्द्रको चेतावनीः आन्दोलनको सामना गर्न तयार हुनुस्

upendra-yadav८ मंसिर, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलन समनाका लागि तयार रहन सरकारलाई चेतावनी दिएका छन् ।

सरकार र तीन दलले मुलुकको समस्या समाधान गर्न नचाहेको भन्दै उनले आरपारको संघर्ष गर्ने बताए । यादवले सरकारबिरुद्व आन्दोलनको तयारी शुरु भइसकेको बताए । ‘सरकारले हाम्रो मुद्दालाई सम्बोधन गर्छ भन्ने विश्वास छैन’ बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, ‘अब आन्दोलनको विकल्प छैन । यसको निम्ति तयारी समेत थालिएको छ ।’

धेरै पटक मिति तय गरेपनि संविधान संशोधन गर्नेतर्फ कुनै ध्यान नदिएको उनको आरोप छ । कस्तो आन्दोलनको तयारी भइरहेको छ भन्ने प्रश्नमा यादवले भन्न नमिल्ने बताए ।

संघीय गठवन्धनका संयोजक समेत रहेका यादवले सरकारसँग दुई वटा विकल्प रहेको बताए । दुबै बल सरकारको कोर्टमा रहेको भन्दै उनले भने, या त समस्या समाधान हुने किसिमले संविधान संशोधन गरियोस्, होइन भने यो संविधान खारेजीका लागि हुने आन्दोलनको सामना गर्न तयार होस् ।’

सरकारले आफ्नै तालमा ल्याएको संविधान संशोधन विधेयक मान्य नहुने भन्दै उनले गठबन्धनसँग कुनै सहमति नै नगरी बनाइएको विधेयकले झन समस्या ल्याउने बताए ।

उनले सीमांकनको बिषयमा विवादित पाँच जिल्लालाई आयोगको जिम्मा लगाउने प्रस्ताव आफूहरुलाई मान्य नहुने र राजनीतिक सहमतिको आधारमा निर्णय गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment