Comments Add Comment

थानकोटका मट्टीतेल ट्यांकीमा अब पेट्रोल भरिने, मर्मतको जिम्मा भारतीय कम्पनीलाई

भण्डारण गरिएको पेट्रोलले काठमाडौंलाई १५ दिन धान्ने

प्रतिकात्मक तस्वीर
प्रतिकात्मक तस्वीर

९ मंसिर, काठमाडौं । नेपाल आयल निगमले एक हप्तापछि काठमाडौंको थानकोट डिपोमा पेट्रोल भण्डारण क्षमता विस्तारको काम सुरु गर्ने भएको छ । यसअघिको मट्टीतेल ट्यांकीलाई अब पेट्रोल भर्न मिल्ने गरी स्तरोन्नति गर्न लागिएको हो ।

अहिले मट्टीतेलको माग ज्यादै न्यून भएकाले त्यसलाई पेट्रोल भण्डारका रुपमा परिवर्तन गर्न लागिएको निगमले जनाएको छ । झण्डै ४२ सय किलोलिटर पेट्रोल भण्डारण गर्न मिल्ने गरी ट्यांकी स्तरउन्नती गर्न भारतको ट्यांकटेक कम्पनीलाई जिम्मा दिइएको छ ।

डेढ करोड रुपैयाँ भन्दा बढीको लागतमा ट्यांकटेकले भण्डारण विस्तारको काम गर्नेछ ।

डिपोको स्तर उन्नतीको काम सुरु गर्न ट्यांकटेकले भारतबाट प्राविधिक सामग्री आयतको प्रक्रिया थालेको छ । निर्माणको काम सुरु भएपछि दुई महिनामै थानकोट डिपोमा ६ हजार किलोलिटर पेट्रोलको भण्डारण सुरु हुने निगमको दावी छ ।

अहिले निगमसँग १८ सय किलोलिटर मात्रै पेट्रोल भण्डारण गर्ने क्षमता छ । तर, त्यसमध्ये पनि ७ लाख लिटर क्षमताको ट्यांकी बिग्रिएपछि ११ सय किलोलिटर मात्रै पेट्रोल भण्डारण भइरहेको छ ।

भारतीय कम्पनी ट्यांकटेकले बिग्रएको पेट्रोल ट्यांकको पनि मर्मत गर्ने गरी सम्झौता भएको निगमका प्रवन्ध निर्देशक गोपालबाहदुर खड्काले बताए ।

‘मट्टीतेलका पुराना दुईवटा ट्यांकीलाई अब पेट्रोल राख्न मिल्ने गरी तयार गरिनेछ’ खड्काले भने, ‘योसँगै बिग्रिएको एउटा ट्यांकीको पनि मर्मत भएर ६ हजार लिटर पेट्रोल भण्डारण गर्न मिल्ने क्षमतासहित डिपोको विस्तार हुनेछ ।’

Nepal-Oil-Thankot

काठमाडौंमा १५ दिनको माग धान्ने

अहिले काठमाडौंमा दैनिक ४ लाख लिटरभन्दा बढी पेट्रोलको माग छ । यसअनुसार निगमले भण्डारण क्षमता बढाएपछि कम्तिमा १५ दिनलाई भण्डारणले माग थेग्न सक्नेछ ।

निगमका अधिकारी भने एक महिनालाई पुग्ने गरी थानकोटमा भण्डारण क्षमता विस्तार गर्न लागिएको दावी गर्छन् ।

अमलेखगञ्जमा पनि विस्तार हुँदै

यस्तै निगमले बाराको अमलेखगञ्जमा ८ करोड ३६ लाख लिटर पेट्रोलियम पदार्थ भण्डारणका लागि नयाँ पूर्वाधार निर्माण गर्ने योजना पनि बनाएको छ । नेपाल आयल निगमले रक्सौल–अमलेखगञ्ज पाइपलाइनको निर्माण सुरु भएलगत्तै दुई चरणमा अमलेखगञ्जमा ठूलो भण्डारण केन्द्र स्थापना गर्ने तयारी गरिएको हो ।

अमलेखगञ्ज डिपो काठमाडौंका लागि पेट्रोलियम पदार्थको मुख्य भण्डारण केन्द्र हो । त्यहाँको स्टोरेज अहिले क्षमता २ करोड ३६ लाख लिटर छ । यसको क्षमतालाई वृहत रुपमा विस्तार गरेर यसलाई मुख्य भण्डारण केन्द्रका रुपमा विकास गर्न लागिएको आयल निगमका प्रवक्ता भानुभक्त खनालले बताउँछन् ।

उनकाअनुसार पहिलो चरणमा अमलेखगञ्जमा ८२ लाख लिटरको पेट्रोल भण्डारण ट्यांक स्थापना गरिनेछ । सुरुवातमा ४१ लाख लिटर क्षमतामा दुईवटा पेट्रोल ट्यांक निर्माण गरिनेछ ।

‘पाइपलाइन निर्माण भएपछि पेट्रोल भण्डारणका लागि तत्कालै यो दुईवटा ट्यांक निर्माण गर्नैपर्छ’ खनालले भने, ‘पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा हामी अमलेखगञ्जमै थप भण्डारण ट्यांकहरु थप्नेछौं ।’

भण्डारण केन्द्रसहित ल्याब र लोड–अनलोड फेसिलिटीका लागि डिपोको दक्षिणतर्फ रहेको ३३.६ हेक्टरको वन क्षेत्रको जग्गा उपलब्ध गराउन नेपाल आयल निगमले सरकारसँग माग गरेको छ, जुन पर्सा वन्यजन्तु आरक्षको स्वामित्वमा छ ।

यो जमिन प्राप्त हुनासाथ डिपोको क्षमता विस्तार गर्ने काम अघि बढ्ने आयल निगमले जनाएको छ । निगमले दोस्रो चरणमा अमलेखगञ्जमै ४ करोड १० लाख लिटर क्षमताका ३ वटा डिपोको निर्माण गर्नेछ । त्यसपछि अमलेखगञ्जमा २ करोड ५० लाख लिटरको नयाँ पेट्रोल भण्डार स्थापना हुनेछ ।

निगमले अमलेखगञ्जमा पेट्रोलको मात्रै होइन, अन्य इन्धनको पनि डिपो क्षमता विस्तार गर्ने बताएको छ । दोस्रो चरणमा अमलेखगञ्जमै डिजेलको १ करोड १६ लाख लिटर क्षमताका ४ वटा ट्यांक निर्माण गरिनेछ । यसमा झण्डै ४ करोड ५४ लाख किलोलिटर डिजेल भण्डारण गर्न सकिनेछ ।

हवाइ इन्धनको पनि भण्डारण बढ्ने

यस्तै हवाइन्धनका ४ करोड १० लाख लिटर क्षमताका ३ वटा ट्यांक पनि बन्नेछन् भने मट्टीतेलका लागि २ करोड ३० लाख लिटर क्षमताका २ वटा ट्यांक बन्ने प्रवक्ता खनालले बताए ।

‘अहिले निगमसँग ३ दिनका लागिमात्रै माग धान्न सक्ने क्षमता छ । अब यसलाई कम्तिमा ९० दिनको बनाउन अत्यावश्यक छ’ खनालले भने,‘हामीले त्यसैअनुसार थानकोट डिपोदेखि क्षेत्रीय डिपोको क्षमता वृद्धिका लागि योजना बनाएका छौं । अमलेखगञ्ज डिपोलाई पाइपलाइन बनेपछिको अवस्थालाई ध्यानमा राखेर विस्तार गर्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment