Comments Add Comment

उपचार गर्न लगिएका कैदी अस्पतालको शौचालयबाट फरार

Gandaki-Medical-College

९ मंसिर, पोखरा । उपचारको लागि अस्पताल लगिएका एक कैदी अस्पतालबाटै फरार भएका छन् । कास्की कारागारमा रहेका ३५ वर्षीय पुष्कर खड्का पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजबाट भागेका हुन् ।

दाँतको उपचारका लागि उनलाई अस्पताल लगिएको थियो । बिहीबार बिहान साढे १० बजे अस्पताल लगिएका खड्का दाँतको उपचारपछि शौचालय छिरेका थिए । शौचालयबाट निकैबेर ननिस्केपछि हेर्न जाँदा नभेटिएको कास्की कारागारका प्रमुख हरिप्रसाद गौतमले बताए । खड्का शौचालको झ्यालबाट फरार भएको बताइएको छ ।

नियमित उपचारका लागि खड्कालाई गण्डकी मेडिकल कलेज लैजाने गरिएको गौतमले बताए । उनले भने, ‘नियमित उपचारको लागि खड्कालाई अस्पताल लगिएको हो, उपचारपछि दिउँसो एक बजे शौचालयबाट भागेछन्, उनको खोजी भइरहेको छ ।’

गण्डकी मेडिकल कलेजको पार्किङसँगै पुरुष शौचालय छ । तीन वटा खापा भएको झ्यालको एउटा खापामा राखिएको सिसा निकालिएको छ । सोही सिसा नभएको झ्यालबाट खड्का भागेको प्रहरीको भनाइ छ । सिसा नभएको झ्यालबाट सजिलै बाहिर जान सकिन्छ ।

खड्कालाई अस्पताल लैजाँदा हतकडी लगाइएको भएपनि शौचालय जाँदा खोलिएको थियो ।

खड्कालाई प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्रीको नेतृत्वमा प्रहरी हवल्दार श्याम परियार र कारागारका कार्यालय सहायकले अस्पताल लिएर गएका थिए ।

काभ्रेका खड्का अपहरण तथा शरीर बन्धक मुद्दामा २०७० वैशाख २६ गते कारगार चलान भएका थिए । उनलाई अदालतले ६ वर्ष कैद र ४ लाख जरिवाना तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment