Comments Add Comment

सिंहदरबारमा गोरखाका हेडसरः जसका आँखामा शहीदहरु नाच्छन्

'पहिले आफू सच्चिऔं, अनि अरुलाई उपदेश दिन सुहाउँछ'

hitraj-pandey_810

१३ मंसिर, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे केही समयअघि वीरगञ्ज पुगेका थिए । ‘सीमाक्षेत्र विकास कार्यक्रम’ अन्तरगत २० जिल्लाका एलडीओलाई अभिमुखीकरणसहितको निर्देशन दिन गएका मन्त्री पाण्डे वीरगञ्ज उपमहानरपालिकाको कार्यालयमा छिरे, जहाँ भित्ताभरि फोहोरै-फोहोर थियो । पान खाएर जताततै थुकिएको थियो ।’

‘नगरपालिका, जसले फोहोरको व्यवस्थापन गर्छ, त्यो त झन् सबैभन्दा बढी सफा र अनुकरणीय हुनुपर्ने । त्यो आफैं फोहोर छ भने जनताले आफ्नो घर अगाडि कसरी सफा गर्छन् ?’ मन्त्री पाण्डेले भने, ‘हामी नेपालीको बानी के छ भने अरुलाई उपदेश जति पनि दिने, आफ्नै ठाउँमा लागू गर्नुपर्दा चाँहि नगर्ने । यो चिन्तनगत रोगलाई हल गर्नुपर्छ ।’

गोरखाका माओवादी सांसद हितराज पाण्डेले जिम्मेवारी लिनुअघि स्थानीय विकास मन्त्रालयको जिम्मेवारी कमल थापाले सम्हालेका थिए । त्योभन्दा पहिले कांग्रेसका ‘सर्वमान्य नेता’ गणेशमानका छोरा प्रकाशमानसिंह स्थानीय विकास मन्त्री थिए । थापा र सिंहका अगाडि पाण्डे खासै चर्चित नेता होइनन् । तर, यी मन्त्रीलाई कसैले उनको सामान्य कदमात्रै हेरेर कमजोर आँकलन गर्‍यो भने त्यो चाँहि गलत हुन सक्छ ।

०००

अब एकचोटि मन्त्री पाण्डेको पृष्ठभूमितिर केहीबेर चर्चा गरौं ।

गोरखा जिल्लाको गाईखुरमा २०११ सालमा जन्मेका मन्त्री पाण्डेले राजनीतिलाई पूर्णकालीन पेशा बनाउनुअघिसम्म २२ वर्ष २ महिना विद्यालयमा मास्टरी पेशा गरे । माविमा छँदाखाँदाको हेडमास्टरको जागिरबाट राजीनामा दिएर उनी ०५२ साल माघको अन्तिम साता भूमिगत होलान् भनेर कसैले पनि पत्याएका थिएनन् । तर, हेडमास्टरबाट राजीनामा ठोकेर उनी ०५२ सालदेखि माओवादी जनयुद्दमा होमिए । र, ०६३ सालसम्म उनले भूमिगत भएर काम गरे ।

धेरै माओवादी नेताहरुले जनयुद्धमा आफ्ना छोराछोरीलाई जोगाएर जनताका छोराछोरीलाई मृत्युको मुखमा होमे । तर, मन्त्री पाण्डे त्यस्ता नेता हुन्, जसको जनयुद्धमा छोरो गुमेको छ । पाण्डेका छोरा मिलन पाण्डेले जनयुद्धमा सुरक्षाकर्मीबाट मारिए । दुई छोरा र एक छोरीका मातापिता दुवैजना पार्टीमा पूर्णकालीन भएर हिँडेदेखि अहिलेसम्म डेरामै बस्दै आएका छन् । गोरखाको घरबारी यतिबेला खरबारीजस्तो बनेको छ । चितवनमा भएको घडेरी बेचेर उनीहरुले पार्टीलाई नगद नबुझाएको भए अहिले त्यो जग्गाको मूल्य ‘करोड’को हाराहारीमा पुग्ने थियो ।

hitraj-pandey

विहान ७ बजेदेखि राति ११ बजेसम्म घोटिएर काम गर्ने बानी छ मन्त्री पाण्डेको । र, उनको अर्को विशेषता भनेको ठूलो कुरा नबोल्ने, बोलेको र थालेको काम पूरा गरेरै छाड्ने ।

शान्ति प्रक्रियामा आउनासाथ पाण्डेले गोरखा, मनाङ, दमौली लगायतका स्थानमा माओवादी पार्टीको आफ्नै कार्यालय भवनहरु बनाए । पछि पार्टी फुट्दा पनि नेताहरुले त्यही घरको कोठा अंशवण्डा गरेर काम चलाए ।

पार्टीको व्यवस्थापनमा राम्रो भूमिका खेलेको देखेपछि पाण्डेलाई पार्टीले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा ल्यायो । मुद्दा परेर अलपत्र परेको थोत्रेघर पार्टीले किन्नुभन्दा अघिसम्म ट्यापेहरु बस्ने स्थल बनेको थियो । पार्टीले अफिस त खोलेको थियो, तर त्यहाँ पाण्डेले देखे, न कुनै पार्किङस्थल छ, न पत्रकारसम्मेलन गर्ने हल छ, न कुनै आगन्तुकहरु ओत लाग्ने ठाउँ नै छ ।

पेरिसडाँडामा खटाइएका पाण्डेले महाधिवेशनका बेला नेताहरुसँग पाँच-पाँच हजार रुपैयाँ उठाउनुका साथै फारुतिनो गरेर खर्च बचाएर अगाडिपटि्टको खाली जग्गा किने । छतमा छानो हालेर पत्रकार सम्मेलन गर्ने हल बनाए । पत्रकारहरुलाई बस्ने प्रतिक्षालय बनाइदिए । एउटा भवनमा पुस्तकालय स्थापना गरे । कार्यालय अगाडि ट्रकमार्फत विशाल ढुंगो ल्याएर शहीदहरुको स्मारक बनाए । पाण्डेको व्यवस्थापनमा माओवादी पार्टी कार्यालयको रुपै अर्कै देखियो ।

माओवादीमा कुशल व्यवस्थापक र सादगी नेताका रुपमा चिनिने यी हेडसरका केही मौलिक विशेषता छन् । उनी भन्छन्- ‘म केही काम गर्नुपर्‍यो भने हाम्रा सहीदलाई सम्झन्छु । मेरो छोरोजस्तै गोरखामा मेरै आँखा अगाडि २ सयभन्दा बढीले रगत बगाएको सम्झन्छु । तीमध्ये करिब डेढ सय जनासँग मैले हात मिलाएको थिएँ, कैयौंले मेरै काखका मृत्युवरण गरेका थिए, उनीहरु मेरो आँखामा झल्झली आइरहन्छन् । म हाम्रा नेता शहीद सुरेश वाग्लेलाई सम्झन्छु । उहाँले सधैं भन्नुहुन्थ्यो, हामीले त्यस्तो काम गर्नुपर्छ, जुन हामी मरेर गएपछि पनि सदा स्मरणीय रहिरहोस् ।’

पाण्डेको काम गराइ र खटाइ बूढापाकाले भन्ने गरेको ‘भुत’को जस्तै छ । जनयुद्धकालमा फागुनमा कणर्ालीबाट पहाडै पहाड हिँडेर नुवाकोट आएको सम्झन्छन् उनी- ‘एक हजार छापामार लिएर एक महिना लामो यात्रा गर्दा मेरो गोजीमा १० हजार रुपैयाँ मात्रै थियो । तर, त्यत्रो मानिसलाई म्यानेज गरेको सम्झँदा अहिले आफैंलाई अचम्म लाग्छ ।’

०००

एउटा व्यक्तिको चरित्र-निर्माणमा उसको पृष्ठभूमि र भोगाइले निर्णायक भूमिका खेलेको हुन्छ । पाण्डेले एसएलसी पास गर्दा नेपालमा नयाँ शिक्षा नीतिको ताउर-माउर सुरु हुँदै थियो । उनले धादिङमा एउटा निजी विद्यालय खोले । जुन पछि सरकारी विद्यालयमा परिणत भयो र अहिले त्यहाँ उच्च मावि छ ।

धादिङपछि उनी आफ्नै जिल्लामा मास्टर बनेर गए । बीचैमा छाडेर उनी राजधानीमा पढ्न आए । आइएको जाँच दिएपछि फेरि गाउँमा मास्टर बनेका उनी आइए पास गरेपछि बीए पढ्न आए ।

त्यसबेला जेजेमा जाँच खुल्छ, परीक्षा दिइहाल्ने उनको बानी थियो । यसैक्रममा सेक्सन अफिसरमा पनि उनले नाम निकालेका थिए । त्यसमा औपचारिकता पाउन पुलिस रिपोर्ट चाहिन्थ्यो । पाण्डेमा विद्यार्थीकालमै कम्युनिष्टको ‘भुत’ सवार भइसकेको थियो, उनले पञ्चायतसँग झुकेर पुलिस रिपोर्ट लिइन्न भन्दै सेक्सन अफिसरको जागिरतिर हात हालेनन् । र, गाउँमै गएर मास्टरी पेशामा जीवनको उर्जाशील समय बिताए ।

दिउँसो मास्टरी र राति राजनीति पाण्डेको दैनिकी बन्यो, जुन तरिकालाई कम्युनिष्टहरुले पञ्चायतकालमा राजनीतिको मुख्य माध्यम बनाउने गरेका थिए ।

हेडमास्टर हुँदा पाण्डेले बनाएका फर्निचरहरु स्कुलमा अहिले पनि चालु अवस्थामा छन् । फर्निचरमात्रै होइन, उनले यो अवधिमा इष्टमित्रहरु पनि बनाए । र, आफूले २२ वर्ष पढाएका विद्यार्थीहरुकै मायाका कारण उनले गत संविधानसभा चुनावमा गोरखा क्षेत्र नं २ बाट प्रत्यक्ष चुनाव जिते ।

०००

झट्ट हेर्दा सामान्य देखिने यिनै हेडसर यतिबेला संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनेका छन् । शिक्षा क्षेत्रमा २२ वर्ष बिताएका पाण्डेलाई शिक्षा मन्त्री बनेर देशको शिक्षा क्षेत्रमा काम गर्ने रुची थियो । तर, प्रचण्डको ‘प्रेसर’मा उनी स्थानीय विकास मन्त्रालयमा पुगेका हुन् ।

Hitraj-pandey

‘यहाँ त धेरै भद्रगोल पो रहेछ,’ मन्त्री पाण्डे भन्छन्- ‘कर्मचारीहरु बरण्डामा बसेर जागिर खाँदारहेछन् । मेरो मन्त्रालयबाट तिनीहरुलाई लगभग व्यवस्थापन गरिसकेको छु ।’

मन्त्री पाण्डेले अर्थशास्त्र र नेपालीमा बीएड र बीए गरेका छन् । काष्ठ कार्यसमेत पढेका, कर्मशील मौरीजस्तै स्वाभावका मन्त्री पाण्डे भन्छन्- ‘मैले भन्नेवित्तिकै जादूगरी तरिकाले त लागू हुन्छ भन्ने लाग्दैन, तर काम गरिरहनुपर्छ, देश बनाउन सकिन्छ भन्ने मलाई लाग्छ ।’

माओवादी नेता एवं सहिदका पिता पाण्डेले थपे- ‘हाम्रा कोही साथीहरुले घुस खाएको थाहा पाउनुभयो भने तपाई पत्रकारहरुले मलाई सूचना दिएर सहयोग गरिदिनुहोला । सहीदको रगतले हामीले त्यस्तो काम गर्न दिँदैन ।’

मन्त्री पाण्डेसँगको समसामयिक अन्तरवार्ता यहाँ पढ्नुहोस्

तथ्यमा हेर्नुपर्छ, ओलीजीले कति काम गर्नुभो, हामीले कति गर्‍यौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment