
१८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा भएको गडबडीमा राज्यव्यवस्था समितिको सभापतिदेखि सभामुखसम्म छानबिन गर्नुपर्ने माग गरेको छ ।
साथै कुलिङ पिरियडको व्यवस्थामा भएको फेरबदल सच्याउन संघीय संसदलाई पत्राचार गर्नुपर्ने माग पनि माओवादीले राखेको छ ।
आज बसेको राज्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडको विषयमा भएको गडबडीमा छानबिनको माग गरेका हुन् ।
उनले समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई नैतिकता प्रदर्शन गर्न सुझाव समेत दिए । ‘नैतिकता मान्ने कुरा होइन, अनुभव गर्ने कुरा हो, देखाउने कुरा हो,’ उनले भने ।
समितिका सभापतिले यो गलत कार्यमा कोको मान्छे संलग्न थिए भनेर भन्नुपर्ने उनले बताए ।
उनले समितिले सर्वसम्मतिले पास गरेको विधेयकमाथि हेरफेर गरेर सार्वभौम संसदलाई हेपिएको टिप्पणी गरे । उनले सरकारले पनि संसदलाई हेपिरहेको आरोप लगाए ।
निजामती सेवा विधेयकमा भएको गडबडीले गर्दा अरु विधेयक कसरी अघि बढाउने भनेर पनि प्रश्न गरे ।
‘यस्तै भयो भने प्रहरी विधेयक कसरी अघि बढाउने, त्यो त हतियारसँग खेल्ने विषय हो,’ उनले भने ।
प्रतिक्रिया 4