
१३ मंसिर, काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा रहेको बताएका छन् । देश इतिहासकै विशिष्ट क्षणमा रहेको भन्दै उनले सही समयमा सही निर्णय गर्न नसके देश दुर्घटनामा पर्ने खतरा पनि औंल्याए ।
‘हामीले ठीक ढंगले विषयलाई ग्रहण गर्न सकेनौं र अगाडि जान सकेनौं भने ठुलठूला दुर्घटनाको खतरा पनि छन्,’ काठमाडौं विश्वविद्यालयको २२ औं दीक्षान्त समारोहलाई सोमबार धुलिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने ।
काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले दीक्षित भएका विद्यार्थीहरुबाट सरकारले ठूलो अपेक्षा गरेको बताए । संविधान कार्यान्वयन, राजनीतिक स्थीरता र आर्थिक समृद्धिको क्षेत्रमा सहयोगको अपेक्षा गरेको उनको भनाइ थियो ।
‘तपाईंहरु जसरी आज दीक्षित हुनु भएको छ, समाजले तपाईंहरुबाट ठूलो अपेक्षा गरेको छ, सरकारले ठूलो अपेक्षा गरेको छ, प्रधानमन्त्रीको हैसियतले मैले पनि तपाईंहरुबाट ठूलो अपेक्षा गरेको छु,’ उनले भने ।
‘आमा-बुवालाई नभुल्नुस्’
राष्ट्र, समाज र मानव जातिप्रति आफ्नो दायित्व सम्झिएर नयाँ मिसन तय गर्न उनले विद्यार्थीहरुलाई सुझाव दिए । ‘२०-२५ वर्ष नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा म बसेको छु । मेरो अनुभवको आधारमा म भन्दै छु तपाईंहरुले आकांक्षा ठूलो राख्नुस् । सरदरभन्दा माथि उठ्ने आँट गर्नुस् । एउटा मिसन जीबनका लागि तय गर्नुस् र त्यो मिसनका लागि जीबनभर संघर्ष गर्ने संकल्प गर्नुस्,’ प्रचण्डले भने, ‘मलाई लाग्छ तपाईंहरुको जीबन सफल हुन्छ । जीबनमात्रै होइन तपाईंले राष्ट्र, समाज र मानव जातिको निम्ति पनि धेरै योगदान गर्न सक्नुहुन्छ ।’
उनले अघि भने, ‘समाजको लागि केही उपयोगी काम गर्ने हो भने तपाईं-हामी एभरेजभन्दा माथि उठ्नै पर्दछ । सरदरमा बसेर कसैले पनि समाजको राष्ट्रको र मानव जातिको सेवा गरेको इतिहास मैले थाहा पाएको छैन,’ उनले भने ।
देश र समाजसँगै परिवारका सदस्यहरुको योगदानलाई नभुल्न उनले सुझाव पनि दिए ।
प्रचण्डले अघि भने, ‘तपाईंहरुको सफलताको पछाडि जन्मदिने आमा-बुवाहरु, परिवारका सदस्यहरु र समाजका सदस्यहरुको पनि योगदान छ भन्ने कुरा पनि तपाईंहरुले बिर्सनु हुनेछैन । किनकी कसैको सफलताको पछाडि सिंगै समुदाय रहेको हुन्छ । आफ्नो जीबनको जिम्मेवारी उनीहरुप्रति छ, हामीले ऋण तिर्नुछ भन्ने कुरामा तपाईंहरुको सदैब ध्यान जानेछ भन्ने कुरा पनि व्यक्त गर्न चाहान्छु ।’
सुन्नुहोस् प्रधानमन्त्री प्रचण्डको मन्तव्य