
१३ मंसिर, काठमाडौं । सरकारी टोली र आमरण अनसनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता असफल भएको छ ।
सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा धेरै विषय सहमति नजिक पुगेको छ । तर, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का डिन केशवप्रसाद सिंहलाई बर्खास्त गर्नु पर्ने मागमा सहमति जुटेन ।
सरकारी वार्ता टोली सदस्यहरुले यो माग सम्बोधन गर्न नसकिने बताएका छन् । ‘अन्य कुरामा सहमति जनाएपनि डा. सिंह तथा त्रिवि उपकुलपति डा. तीर्थ खनियालाई पदबाट बर्खास्त गर्ने कुरामा टुंगो नलागेपछि वार्ता विना निष्कर्ष टुंगिएको छ, केसीका प्रतिनिधि डा. रञ्जन सापकोटाले अनलाइनखबरसँग भने ।
सरकारी टोलीले उपकुलपति खनियाँ र डिन सिंहलाई बर्खास्त गर्न कानुनी बाटो नरहेको बताएको छ । जवाफमा आफूहरुले भने यसलाई निष्कर्षमा पुर्याउनु सरकारको दायित्व भएको बताएको सापकोटाले जानकारी दिए ।
डा. केसी १६ दिनदेखि आमरण अनसनमा छन् र उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उनको मुटुको चालमा फेरबदल हुने, मांसपेशी बाउँडिने, शरीरमा कमजोरी लगायतका समस्या देखिँदै आएको छ ।
तर, उपकुलपति खनियाँ र डिन सिंहलाई बर्खास्त नगरेसम्म अनसन स्थगित नगर्ने डा. केसीको अडान छ ।
प्रतिक्रिया 4