Comments Add Comment

के हो थाइराइड रोग ? यस्ता छन् भ्रम र यथार्थ

thyroid-throat-body-model

१५ मंसिर, काठमाडौं । पछिल्लो समय थाइराइड रोगका बिरामी संसारभरि नै बढिरहेका छन् । खासमा थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ ।

थाइराइड ग्रन्थि हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन गर्छ । थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।

थाइराइड रोग चार किसिमका हुन्छन्, थाइराइड ग्रन्थिमै मासु वा डल्लो पलाउने, थाइराइड नोडुल वा क्यान्सर, हाइपर थाइराडिज्म र हाइपो थाइराडिज्म ।

थाइराइड रोग लाग्नुका कारणहरु निम्न छन्ः

१. थाइराइड रोग सामान्यतया शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी भएकै कारण लाग्ने गर्छ । वंशानुगत रुपमा पनि यो रोगले सताउने गर्छ ।

२. रुघा लागेमा वा भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थिमा संक्रमण भएर यो रोग देखिन सक्छ ।

३. विभिन्न केमिकल्स (रसायन) र अन्य कारणले वातावरणीय प्रदुषणले गर्दा पनि यो रोग लाग्ने गर्छ ।

४. ल्ाामो समयसम्म औषधिका प्रयोगले पनि मानिसहरुमा थाइराइडको समस्या देखिने गर्छ । जस्तैः मानसिक रोग, मुटु रोगका बिरामीलाई प्रयोग गरिने औषधिका कारण पनि थाइराइड रोग लाग्न सक्छ ।

५. विभिन्न विकिरणको प्रयोगले पनि थाइराइड क्यान्सर हुने सम्भावना रहन्छ ।

थाइराइडका लक्षण

हर्मोनको गडबडी भएमा शरीरमा थाइराइड रोगका विभिन्न लक्षण देखा पर्न सक्छन् । त्यसमध्ये केही लक्षण यी हुन् ः

– कपाल धेरै झर्ने
– दुब्लाउने वा मोटाउने
– शरीरमा पसिना बढी आउने वा कम आउने
– निद्रा बढी लाग्ने वा कम लाग्ने
– कब्जियत हुने वा झाडापखाला लाग्ने
– महिनावारी गडबडी हुने
– मुटु जोडसँग ढुकढुक हुने
– हात काँप्ने
– गर्मी बढी हुने वा जाडो हुने
– छाला खस्रो हुने
– निःसन्तान समस्या ।

हाइपो थाइराइडिज्म

थाइराइड रोगमा पनि सबैभन्दा बढी देखिने समस्या भनेको हाइपो थाइराइडिज्म हो । हर्मोनको उत्पादन कम भएमा यो रोग लाग्छ । पुरुषको तुलनामा महिलामा यो रोग बढी देखिन्छ ।

dr-ansumali-joshi
डा. अंशुमली जोशी

खासगरी २० देखि ४० वर्ष उमेरसमूहका प्रजनन उमेरका महिलालाई बढी सताउँछ । यसका साथै सीमित रुपमा पुरुष तथा बालबच्चाहरुलाई पनि यो रोग लाग्न सक्छ ।

त्यसो त थाइराइड रोग लागेका मानिसले काउली र बन्दा खानै हुँदैन भन्ने भ्रम छ । तर, यो रोग खानपिनसित खासै सम्बन्धित हैन । दिनमा डेढ/दुई किलोभन्दा बढी काउली वा बन्दा खाएमा मात्र समस्या हुने हो । त्यति मात्रामा नेपालीहरुले प्रायः नखाने भएकाले खानेकुरासँग थाइराइडलाई जोडेर डराउनु पर्दैन ।

थाइराइडका बिरामीहरुले विशेषगरी आयोडिनयुक्त नुन र सी फुड (सामुद्रिक खाना) बाट जोगिनुपर्छ । बढी आयोडिन र समुद्रबाट निकालिएका माछाले हानि गर्छ । नेपालमै नदीनाला र पोखरीमा पाइने माछाले भने केही बिगार गर्दैन । तर, यस्ता खानेकुरा भरसक कम खानुपर्छ ।

हाइपो थाइराइड भएका बिरामीहरुमा मोटोपनको समस्या बढी हुने भएकोले मोटोपन घटाउन ध्यान दिनुपर्छ । ती बिरामीले विशेषगरी भात, आलु, मैदा, गुलियो, चिल्लो लगायतका क्यालोरी अधिक हुने खानेकुरा कम खानुपर्छ ।

हाइपर थाइराइडिज्म

हाइपर थाइराइड हाइपो जस्तो धेरैलाई लाग्ने रोगमा पर्दैन । यो रोग पनि बढीजसो प्रजनन उमेरका महिलामा देखिन्छ ।

त्यसो त हाइपर थाइराइडिज्म हाइपोको तुलनामा केही जटिल मानिन्छ । सही तरिकाले उपचार नभएमा यसले ज्यान नै जोखिममा समेत पार्न सक्छ । त्यसैले यसको उपचार समयमै गरिहाल्नुपर्छ । औषधिको सेवनबाटै यो रोग निको हुन्छ । कतिपय बिरामीले रेडियो एक्टिभ आयोडिन भन्ने विशेष किसिमको औषधि सेवन गर्नुपनर्ेे हुन्छ ।

थाइराइड नोडुल वा क्यान्सर

थाइराइड ग्रन्थिमा गिर्खा पलायो भन्दैमा त्यो क्यान्सर नै हुन्छ भन्ने छैन । तर, त्यसको लागि चिकित्सकको निगरानीमा बसेर फलोअफ गर्नु जरुरी हुन्छ । किनकि कतिपय त्यस्ता गिर्खा वा डल्ला पछि गएर क्यान्सरमा परिणत पनि हुन सक्छ । त्यो गिर्खालाई शल्यक्रियाबाट फाल्नुपर्ने हुन्छ ।

केही गरी थाइराइड क्यान्सर भइहाले पनि त्यो त्यति डरलाग्दो रोग भने हैन । यो निको हुने क्यान्सरमध्येमा पर्छ । तर, त्यसको पहिचान समयमा हुन जरुरी छ । कसैलाई थाइराइड क्यान्सर भए-नभएको साधारण भिडियो एक्स-रे र एफएन इसी जाँचबाटै थाहा हुन्छ । रोग पहिचानपछि यसको उपचार भनेको शल्यक्रिया नै हो । शल्यक्रियापछि पनि बिरामीले चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ ।

क्यान्सर भएको कसरी थाहा पाउने ?

कुनै पनि थाइराइडमा क्यान्सर देखा परेमा त्यसमा सुरुमा डल्लो पलाउँछ । बाहिरबाट नदेखिए पनि अल्ट्रासाउण्ड गर्दा डल्लो देखिन सक्छ । उक्त डल्लो जाँच गर्दा क्यान्सर भए-नभएको पत्ता लाग्छ ।

थाइराइडका बिरामीले थाइराइड ग्रन्थिमा क्यान्सर भए-नभएको पत्ता लगाउन वर्षमा कम्तीमा एक पटक थाइराइडको अल्ट्रासाउण्ड गर्नु उचित हुन्छ । थाइराइड नभएकाहरुले पनि घाँटीमा कुनै गिर्खा देखा परेमा चिकित्सकसित परामर्श लिइहाल्नुपर्छ ।

थाइराइडप्रतिको भ्रम

थाइराइडप्रति मानिसहरुमा धेरै भ्रम छ । हर्मोनको गडबडीका कारण थाइराइड रोग हुनेहरुमा निःसन्तानपनको समस्या हुने गर्छ । तर, त्यसको समयमै उपचार भएमा त्यो समस्या रहँदैन ।

थाइराइड रोगप्रतिको भ्रमकै कारण नेपालमा कयौं युवतीको थाइराइड रोगकै कारण बिहेबारीमा पनि समस्या हुने गरेको छ । सन्तान हुँदै नहुने डरले उनीहरुको बिहे नहुने गरेको छ । तर, थाइराइड रोगको उपचार समयमै भएमा अरु सामान्य युवती जस्तै थाइराइड रोग भएकाहरुमा पनि गर्भ रहने सम्भावना उत्तिकै रहन्छ ।

अर्को भ्रम छ, थाइराइड रोग लागेपछि काउली र बन्दा खान हुँदैन । जुन गलत हो । थोरै मात्रामा खाँदा त्यसले केही हानि गर्दैन ।

थाइराइडका बिरामीहरूमा औषधी सेवनबारे पनि भ्रम देखिन्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुने बिरामीले यो रोग लागेमा जीवनभर औषधि सेवन गर्नुपर्छ भन्ने सोचाइ छ । तर, त्यस्तो हैन । यदि भाइरल इन्फेक्सनको कारण यो रोग लागेको हो भने आफै निको हुन्छ । त्यसमा औषधिको सेवन केही समयको लागि मात्र आवश्यक पर्छ ।

कतिपय थाइराइडका बिरामीलाई औषधि खानु हँुदैन भन्ने पनि भ्रम छ । यसले शरीरलाई बिगार्छ भन्ने मान्यताका कारण उनीहरु आयुर्वेदिक उपचारतिर लाग्छन् । तर, हाइपो थाइराइडिज्म कम हुने बिरामीहरुको हकमा चिकित्सकले शरीरमा कम भएको हर्मोनलाई नै औषधिको रुपमा सेवन गराइरहेका हुन्छन् । यस अर्थमा यसभन्दा प्राकृतिक उपचार केही हुँदैन ।

अर्को भ्रम छ, व्यायाम गरेमा थाइराइड रोग निको हुन्छ भन्ने । हामी स्वस्थ रहन नियमित व्यायाम जरुरी त हुन्छ । तर, थाइराइड रोगमा भने व्यायामले कुनै काम गर्दैन । किनकि यो रोग जीवनशैली र शारीरिक कसरतसँग सम्बन्धित हैन ।

कतिपयमा थाइराइडले मधुमेह नित्याउँछ भन्ने पनि भ्रम रहेको पाइन्छ । खासमा यो सत्य होइन । तर, थाइराइड रोगमा मोटोपनको समस्या हुने र मोटोपनसँगै मधुमेह पनि निम्तिन सक्ने भएकोले त्यसप्रति सजग भने हुन जरुरी छ ।

त्यस्तै, कति मानिसलाई थाइराइड जटिल रोग हो भन्ने पनि भ्रम छ । तर, यो साधारण रोग हो, नियमित औषधि सेवनले निको हुन्छ ।

(अल्का अल्पतालमा कार्यरत इन्डोक्राइनोलोजिष्ट डा. अंशुमली जोशीसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment