१५ मंसिर, बारा । विद्यार्थी जागरण अभियानका क्रममा कलैया पुगेका अखिल क्रान्तिकारीका नेताहरूले केपी ओली र सिके राउत दुबै प्रवृत्ति घातक रहेको बताएका छन् । उनीहरुले संविधान संशोधनको नयाँ प्रस्तावले मात्र राष्ट्रलाई निकास दिने दावी पनि गरेका छन् ।
बुधबार कलैयामा अखिल क्रान्तिकारीद्वारा आयोजित अभियान उदघाटन तथा एकता भेलामा बोल्दै क्रान्तिकारी उपाध्यक्ष रञ्जित तामाङले भने, ‘मधेसभित्र नेपाल नदेख्ने सिके राउत प्रवृत्ति र नेपालभित्र मधेस नदेख्ने केपी ओली प्रवृत्ति दुवै घातक छन् ।’
उनले अघि भने, ‘पहाडलाई मात्र नेपाल र पहाडीलाई मात्र नेपाली देख्ने चिन्तनले राष्ट्रियता कहिल्यै बलियो हुँदैन ।’
संविधान कार्यान्वयनका लागि संविधान संशोधनको विकल्प नभएको तामाङको जिकिर थियोे ।
कार्यक्रममा अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले भने, ‘मधेस पहाड तोड्ने हैन, जोड्ने राष्ट्रवाद आजको आवश्यकता हो ।’
अभियान प्रमुख रोशन यादवको अध्यक्षतामा कलैयाको राजाराम बहुमुखी क्याम्पसमा आयोजित जागरण अभियानमा उमेश कुसुवाह, मुकेश साह, जलाउद्दिन मन्सुर, प्रभाकर गुप्ता लगायतको उपस्थिति थियोे । भेलाले दिनेश यादवको संयोजकत्वमा नयाँ समिति चयन गरेको छ ।
प्रतिक्रिया 4