Comments Add Comment

राष्ट्रसंघका प्रतिनिधिले देउवालाई भेटे, संविधान संशोधनबारे चासो व्यक्त

dauba-with-un-representative

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि भ्यालेराइन जुलियान्डबीच भेटवार्ता भएको छ । बिहीबार विहान देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा राष्ट्रसंघ मुख्यालय न्यूयोर्कको निर्वाचन सहायता डिभिजनका निर्देशक क्रेग जेनिस पनि सहभागी थिए ।

भेटमा नेपालको वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको छ । राष्ट्रसंघको प्रतिनिधि मण्डलले संविधान संशोधन विधेयकबारे चासो राखेको थियो ।

जवाफमा देउवाले विगतमा कांग्रेस र एमालेले सहमति गरेर तयार पारेको खाका अनुसार नै सरकारले सीमांकन हेरफेरको प्रस्ताव ल्याएको बताए । साथै उनले एमालेले समर्थन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

कांग्रेस सभापति देउवाले सबै राजनीतिक दल र समूहलाई सहमतिमा ल्याई तोकिएकै समयमा स्थानीयसहित तीनै तहको निर्वाचन गरी संविधान कार्यान्वयन गर्न आफ्नो पार्टी लागेको बताए ।

राष्ट्रसंघका प्रतिनिधिहरुले भने हालसम्म स्थानीय निकायको पुनर्संरचनाको काम नसकिएको भन्दै कसरी चुनाव हुन्छ भनेर सोधेका छन् ।

देउवाले राजनीतिक दलहरुको सहमतिमा चैत्रभित्रै स्थानीय तहको निर्वाचन गर्ने बताएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार देउवाले संविधान संशोधनमा मधेसी दलहरुको भावना समेट्न सरकार तयार रहेको भन्दै उनीहरुले चुनावमा भाग लिने दाबी गरे ।

संयुक्त राष्ट्रसंघको सोही टोलीले विहीबारै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment