Comments Add Comment

भाषा नबुझ्दा एटीएम ह्याकरसँग बयान लिन प्रहरीलाई समस्या

डच र इजरायली नागरिकको पैसा चोर्न नेपाल आएका थिए हृयाकर

atm-hacker-1
नेपालमा पक्राउ परेका एटीएम ह्याकरहरू

१९ मंसिर, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंक एटीएम ह्याक गर्ने अन्तराष्ट्रिय गिरोहलाई पक्राउ त गर्‍यो तर भाषा नबुझ्दा बयान लिन समस्या परेको छ । पक्राउ परेकाहरुको बयान लिन सीआइबीले सम्बन्धित देशका कन्सुलर कार्यालयबाट अनुवादक नै ल्याएको छ ।

सीआइबीका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार सबैको बयानका लागि ति देशका कन्सुलर कार्यालयहरुले अनुवादकका रुपमा नेपाली नै पठाएका छन् ।

‘रोमानियन, टर्किस र बुल्गेरियन नागरिकहरुले आफ्नो भाषा मात्रै बोल्ने भएकाले बयानमा केही समस्या देखिएको हो,’ डिआइजी सिलवालले भने, ‘नेपालको कमजोर कानुन, एटीएम बुथहरुको कमजोर सुरक्षा व्यवस्था देखेर आएका थिए तर यहाँबाट उम्किन सकेनन् । कानुन अनुसार सजाय पाउँछन् ।’

एटीएम हृयाकर माथि अनुसन्धान गरिरहेका सीआइबीका इन्स्पेक्टर गोबिन्द थापाका अनुसार रोमानियनहरुले बयान दिनसमेत इन्कार गरिरहेका छन् । रोमानियन हृयाकरहरु सबैभन्दा खतरनाक देखिएका छन् । टर्किस नागरिकले भने आफ्नो धन्दा स्वीकार गरिसकेका छन् ।

डच र इजरायली नागरिकको पैसा चोर्न नेपालमा

अनुसन्धानको क्रममा अर्कैको बैंक एटीएमबाट पैसा निकाल्न ति अन्तर्राष्ट्रिय हृयाकरहरुले युरोपदेखि इजरायलका बैंकका ग्राहकहरुको पिन नम्बर चोरेर नेपाल आएको खुलेको छ । २५ गते पक्राउ परेका टर्कीका सिल्हाटिन याबर, मोहरुम उजुनले जर्मनी, नेदरल्याण्ड, डेनमार्क र इजरायली बैंकका ग्राहकको पैसा नेपालबाट निकालेको भेटिएको छ ।

इन्सपेक्टर थापाले भने, ‘हामीले बरामद सबै एटीएम र पिन नम्बरहरु राष्ट्र बैंकमा पठाएका थियौं । त्यसपछि हृयाकरहरुले चार वटा बैंकको खाताबाट पैसा निकालेको भन्ने खुलेको हो । अरु कुन-कुन देशका बैंकका ग्राहकहरु पीडित भएका छन्, अनुसन्धान भैरहेको छ ।’

कुन-कुन बैंकका ग्राहकको पैसा निकालेको भन्ने पनि सीआईबीले पत्ता लगाएको छ । तर ति बैंकको इज्जतमा आँच आउन सक्ने भन्दै बैंकहरुको नाम भने गोप्य राखिएको छ ।

atm-hacker-2
एटीएम ह्याक गरेका टर्कीस नागरिकद्वय याबर र उजुन

टर्कीका याबर र उजुनले नेपालमा आएर नबिल बैंकको एटीएम बुथ प्रयोग गरेर निकालिएको पैसाबारे सीआईबीले अनुसन्धान गरिरहेको थियो । उनीहरुले नेपालमा आएर पहिलोपटक एक हजार नेपाली रुपैयाँ मात्रै निकालेका थिए । त्यसबाट बैंकको एटीएम बुथको कमजोर सुरक्षा व्यवस्था थाहा पाएका हृयाकरहरुले त्यसपछि एकै पटकमा ३० हजारसम्म निकालेको देखिएको छ ।

चोरदेखि लागुऔषध कारोवारीसम्म हृयाकर

नेपालमा समातिएका अन्तर्राष्ट्रिय हृयाकरहरु लागुऔषध र चोरी धन्दामा सजाय भुक्तान गरेका अभियुक्त भएको सीआइबीको अनुसन्धानबाट खुलेको छ ।

इन्स्पेक्टर थापाका अनुसार असोज २२ गते सार्वजनिक गरिएका रोमानियन नागरिक गिता उजुम २ वर्ष पाँच महिना जेल सजाय भुक्तान गरेको लागुऔषध कारोवारी भएको खुलेको छ । उनले स्पेनमा सन् २००७ मा लागुऔषध कारोवारको अभियोगमा जेल सजाय भक्तान गरेको खुलेको हो । उनी रोमानियन सेनाका पाइलट पनि भएको खुलेको थियो । जेल परेपछि उनी पाइलटबाट बर्खास्त भएका थिए ।

त्यस्तै रोमानियाकै अर्का हृयाकर लोसेफ मोरारोले सरकारी कागजात किर्ते गरेको आरोपमा इटालीमा १० महिना जेल सजायँ भुक्तान गरेको खुलेको छ । सन् २०१२ मा जेल परेर निस्किएका मोरारो त्यसपछि एटीएम हृयाकरको समूहमा सामेल भएको हुनसक्ने सीआइबीको अनुमान छ ।

एलेक्स क्रिष्टेन सन् १९९० मै ३ वर्ष जेल परेको पनि सीआइबीको अनुसन्धानबाट खुलेको छ । जर्मनमा चोरीको आरोपमा पक्राउ एलेक्सले साढे तीन वर्ष जेल सजाय भुक्तान गरेको खुलेको इन्सपेक्टर थापाले बताए ।

हतियार कारोवारी पनि एटीएम ह्याकर

पछिल्लो समय समातिएका टर्किस हृयाकहरु पनि विभिन्न अपराधमा यसअघि नै समातिएको खुलेको छ । इन्टरपोल मार्फत गरिएको अनुसन्धानमा टर्कीका मुहारिम उजुन बैंकिङ कसुरमै जेल परेको भेटिएको छ । उनी टर्कीमै समातिएको खुलेको हो । अर्का अभियुक्त याबर भने अवैध हतियार कारोवारको अरोपमा टर्कीमै समातिएका हुन् ।

यो पनि पढ्नुहोस् 

नेपालका ३५ लाख एटीएम कार्ड जोखिममा, पिन नम्बर तत्काल बदल्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment