Comments Add Comment

दृष्टिविहीन विद्यार्थीबाट नियम विपरित शुल्क असुल, समस्या समाधानमा बेवास्ता

blind-students-from-gorkha

२१ मंसिर, गोरखा । गोरखाको पालुङटार नगरपालिका लुइटेलमा रहेको अमरज्योती जनता माविमा अध्ययनरत दृष्टिविहीन बिद्यार्थीहरुले आफूहरुका समस्याप्रति बिद्यालयले बेवास्ता गरेको गुनासो गरेका छन् । बिद्यालयले चासो नदिँदा शौचालय, खानेपानी तथा बिद्युत लगायतका समस्याले उनीहरुलाई सताउँदै आएको छ ।

तर, बत्ति, पानी र शौचालयको समस्या सुरू भएको महिनौं बितिसक्दा पनि मर्मतमा चासो नदिएको विद्यालयले विद्यार्थीहरुबाट भने नियमविपरित शुल्क असुल्ने गरेको छ ।

‘कोठामा बत्ति बिगि्रएको ६ महिना भयो,’ कक्षा १० मा अध्ययनरत छोप्राक-७ चोरकाटेकी छात्रा मनिषा पाखरेलले भनिन्, ‘भान्सा कोठामा बत्ति नभएको त झन् ६ बर्ष भइसक्यो तर बिद्यालयले अहिलेसम्म बनाउन चासो दिएको छैन ।’

बत्ति मर्मतका लागि बारम्वार आग्रह गरेपनि बिद्यालयले बेवास्ता गर्दै आएको पोखरेलको भनाइ छ । बत्ति नहुँदा मोवाइल र रेडियो चार्ज गर्न समस्या भएको उनीहरुले गुनासो गरेका छन् । ‘रेडियोबाट किताबको पाठ सुन्नुपर्छ तर बत्ति नभएर चार्ज छैन, पढाइमा पनि असर परेको छ,’ पोखरेलले गुनासो गरिन् ।

बिद्युत नहुँदा भान्सामा खाना पकाउन समेत समस्या भएको आया मायादेवी लुइटेलले बताइन् ।

उनले भनिन्, ‘भान्सामा बत्ति नभएको ६ बर्ष जति भयो, लाइट बालेर साध्य छैन, साह्रै समस्या छ । बिद्यालयले बनाउन चासो पनि दिँदैन ।’

बिद्युत मात्र होइन उनीहरुलाई शौचालयको पनि समस्या छ । आवास नजिकै रहेको शौचालय जाम भएपछि शौच गर्न टाढा जानुपर्ने उनीहरुले बताएका छन् । ‘नजिकैको शौचालय जाम भएको छ, अर्काे शौचालय टाढा छ आउन जानै समस्या हुन्छ, फेरी रातको समयमा झन् जानै अप्ठ्यारो,’ कक्षा ७ मा अध्ययनरत छोप्राक-९ का बिशेष धितालले भने ।

भूकम्प पश्चात उनीहरुलाई बस्ने ठाउँको पनि समस्या भएको छ । भूकम्पले बिद्यालयको भवन भत्किएपछि बिद्यालयको सामान समेत उनीहरुको कोठामा राखिदिँदा साँघुरो भएको उनीहरुको गुनासो छ । तीन कोठे भवनमा उनीहरु बस्दै आएका छन् । तर बस्ने कोठामा बिद्यालयको सामान थुपि्रदा ठाउँ साँघुरो भएको उनीहरुको गुनासो छ ।

‘एउटा कोठामा आठ जना बस्नुपरेको छ,’ कक्षा १० मा पढ्ने पालुङटार नगरपालिका-८ की छात्रा रोजिना घिमिरेले भनिन्, ‘त्यस माथि बिद्यालयको सामान राख्दा पढ्ने ठाउँ नै हुदैन ।’

शिक्षक बिद्यार्थी एकै ठाउँमा बस्नुपर्दा झन् समस्या भएको उनीहरुले बताए । ‘बिद्यार्थीसँग एउटै कोठामा बस्नुपर्दा झर्काे माने जस्तो लाग्छ, फेरी बिरामी पर्दा अप्ठ्यारो,’ शिक्षिका हिरा पोखरेलले भनिन्, ‘घरायसी व्यक्तिगत गफ गर्न पनि नमिल्ने साह्रै समस्या छ ।’

शिक्षक र बिद्यार्थीको छुट्टै कोठा हुनुपर्ने उनले बताइन् । आफूहरुको समस्या समाधानका लागि बिद्यालयलाई बारम्वार आग्रह गरेपनि कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ । ‘हाम्रो समस्या के छ भनेर बिद्यालय सोध्न आउने कुरा त परै जाओस् हामीले यो समस्या छ भन्दा पनि वास्ता गर्दैन,’ बिद्यार्थीहरुले भने, ‘समस्या सुनायो भने हामीसँग रिसाएर झर्किने फर्किने गर्नुहुन्छ ।’

यता बिद्यालयले भने समस्या समाधानका लाग पिहल भइरहेको दावी गरेको छ । उक्त बिद्यालयमा ६ जना छात्रा र चार जना छात्र गरी दश जना दृष्टिविहीनबिद्यार्थीहरु आवासीय सुबिधा सहित अध्ययनरत छन् ।

नियम विपरित शुल्क असुल

अमरज्योति जनता मावि लुइटेलमा आवासीय सुविधा सहित अध्ययन गरिरहेका दृष्टिविहीनबिद्यार्थीहरुसँग नियम विपरित बिद्यालयले परीक्षा शुल्क लिने गरेको छ । बिशेष शिक्षा अन्तरगत श्रोत कक्षामा अध्ययन गरिरहेका बिद्यार्थीहरुसँग बिद्यालयले शुल्क लिँदै आएको हो । बार्षिक तीनपटक बिद्यालयले परीक्षा शुल्क लिँदै आएको छ । ‘पहिलैदेखि परीक्षा शुल्कको ५० प्रतिशत रकम लिने गरेका छौ’ बिद्यालयका निमित्त प्रअ ओमप्रसाद न्यौपानेले भने, ‘त्यहि रकमले उनीहरुलाई जाँचमा चाहिने ब्रेललिपी कापी किन्छौ ।’

तर जिल्ला शिक्षा कार्यालयले भने उनीहरुसँग परीक्षा शुल्क लिन नपाउने बताएको छ । ‘बिद्यालयले उनीहरुसँग परीक्षा शुल्क लिन पाउँदैन,’ सहायक जिशिअ ठाकुर जि तिवारीले भने, ‘रकम लिए नलिएको अनुगमन गर्छौं लिएको भए फिर्ता गर्न लगाउछौं ।’

बिशेष शिक्षा अन्तरगत आवासिय सुबिधा सहित बस्दै आएका प्रतिबिद्यार्थी मासिक चार हजार रुपैयाँ सरकारले बिद्यालयललाई दिने गर्छ । त्यस्तै शैक्षिक सामाग्री, स्रोत शिक्षक भत्ता लगायतका बिभिन्न शिर्षकमा बिद्यालयलाई शिक्षा कार्यालयले बर्षेनी बजेट पठाउने गर्छ । सोही रकमबाट बिद्यालयले सबै खर्च व्यवस्थापन गर्नुपर्ने तिवारीले बताए ।

-बिकास मरहट्टाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment