दीपक रौनियार फरक स्वादका फिल्म बनाउने निर्देशकमा पर्छन् । उनले सन् २०१२ मा बनाएको फिल्म ‘हाइवे‘ ले जर्मनीको ६२औं बर्लिन फिल्म फेस्टिभलमा छनोट भएर चर्चा कमायो । यस पटक उनी ‘ह्वाइट सन‘ (सेतो सूर्य) लिएर आएका छन् । यो फिल्मलेइटालीको ७३औं भेनिस फिल्म फेस्टिभलमा इन्टरफिल्म अवार्ड पायो भने सिंगापुर फिल्म फेस्टिभलमा कथानक चलचित्रको विधामा उत्कृष्ट फिल्मको अवार्ड जित्यो । विभिन्न देशको स्क्रिनिङमा प्रशंसित फिल्म नेपालमा भने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) को उद्घाटन दिन बिहीबार प्रिमियर हुँदै छ भने यही शुक्रबारदेखि हलहरुमा लाग्दै छ ।
‘ह्वाइट सन‘ र फिल्म मेकिङका अन्य सन्दर्भमा निर्देशक रौनियारसँग गरिएको कुराकानी:
‘ह्वाइट सन‘ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा राम्रैचर्चा बटुल्यो र अवार्ड पनि जित्यो । नेपालमा प्रदर्शनको तयारी गर्दै गर्दा कस्तो अपेक्षा गर्नुभएको छ?
– विदेशमा विदेशी र नेपाली दुवैखाले दर्शकबाट राम्रो प्रतिक्रिया आएको छ । रिभ्यू गर्नेहरूले पनि गजबको भनेर प्रशंसा गरेका छन् । हलिउड रिपोर्टरले त यो फिल्मलाई ओस्करमा पठायो भने धेरै माथिसम्म जान्छ भन्ने लेख्यो । उनीहरुले त्यसरी बुझिदिँदाएकदमै खुसी लाग्ने कुरा हो । किनकि यो नेपाली समाजको कथा हो ।
हाम्रो समाजको कथा एकदमै कम्प्लेक्स छ, विभिन्न वर्ग र जातको लेयर छ । उनीहरुले नबुझ्लान् कि भन्ने मलाई डर थियो । तर, अर्को संस्कृतिले पनि आफ्नो फिल्म रुचाएको देख्दा खुसी लाग्यो । नेपालीहरुले पनि मन पराउनुभएको छ । अहिलेसम्म १६/१७ वटा देशमा फिल्म देखाउँदा राम्रो रेस्पोन्स आएको छ ।
फेस्टिभलहरूमा पाएको प्रतिक्रियाले नेपालमा पनि राम्रै होला कि भन्ने आशा छ । धेरैभन्दा धेरै दर्शकले हेरुन् र यो खालको फिल्मको बारेमा छलफल होस् भन्ने लागिरहेको छ । किनकि यो त्यस्तो महत्वपूर्ण समयको कथा हो, जति धेरै मान्छेले हेर्यो र जति धेरै छलफल भयो त्यति नै राम्रो हुन्छ । पछिल्लो समय ‘कालोपोथी‘ पनि चल्यो । त्यसले फरक खालको फिल्म बनाउँदा पनि मान्छेहरुलाई मन पर्दो रहेछ भन्ने आधार दिएको छ ।
धेरै कुरा त हेरेपछि नै थाहा होला । तर, हेर्न जानु अघि दर्शकले बुझ्नुपर्दा यो कस्तो फिल्म हो ?
– यो डार्क कमेडी हो । ह्युमर छ तर अहिले हेरिरहेको कबड्डी, छक्का–पञ्जा टाइपको ह्युमर होइन । स्वाभाविक लाग्ने ह्युमर पस्किएका छौं । फिल्म बनाउँदा म के कुरामा सजग थिएँ भने, युद्धको पृष्ठभूमि भए पनि ‘स्याड फिल्म‘ चाहिँ नहोस् । हाम्रो वर्तमान जीवन हेर्ने हो भने वरिपरि हामी कहीँ पनि उज्यालो देख्दैनौं । मान्छेहरुमा कहिलेकाहीँ आशै हराउँछ, यो देशमा केही गर्न सकिँदैन कि भन्ने लाग्छ । त्यसले गर्दा युद्धको सन्दर्भमा भए पनि फिल्म अलि लाइट होस्, मान्छेहरुले इन्जोय गर्न सकून् र सँगसँगै त्यसले इन्टरनेटसँगै सोच्नलाई अलिकता ठाउँ देओस् भन्ने कोसिस गरेका थियौं । त्यसैले फिल्मको टोन चाहिँ लाइट नै छ ।
पछिल्लो समय युवा फिल्ममेकरहरु अलि फरक खालका फिल्म बनाउने प्रयास गरेको देखिन्छ । परम्परागत धारका फिल्ममा बानी परिरहेका दर्शक माझ फरक खालका फिल्म लैजाँदा जोखिम हुँदैन ?
– जोखिम नमोली त केही पनि हुँदैन । वास्तवमा हिजो ‘लुट‘(निश्चल बस्नेत) पनि त जोखिमै थियो नि ! तर, लुट नबनाएसम्म लुट जस्तो फिल्म पनि चल्छ भनेर थाहा थिएन । तुलसी घिमिरेले‘दर्पणछाया‘ बनाउँदा पनि जोखिमै थियो । जोखिम उठाउन सक्यौं भने न सिनेमाको टेस्ट बदल्न सक्छौं ।
तर, जोखिम मोल्ने कामसँगै नेपाली फिल्ममेकरले आफ्नो सिनेमाको भाषा पनि खोज्नुपरेको छ । हामी जस्ता योङ फिल्ममेकरले प्रयास गरेनौं भने कसले गरिदिन्छ ? अरु कसैले त गरिदिँदैन । एउटा एरिक भ्याली आयो, उसले ‘क्याराभान‘ बनायो र गयो । उसले हाम्रो लागि सिनेमा सधैं त बनाइदिँदैन । हाम्रो कथा हामी आफैंले भन्नुपर्छ । त्यसैले पनि जोखिम उठाउनुपर्छ जस्तो लाग्छ ।
म नेपाली दर्शकको टेस्टलाई पनि कम आँक्दिनँ । उनीहरुको टेस्ट एकदमै धेरै परिष्कृत भइसक्यो । सिनेमाको बुझाइ धेरै माथि पुगिसक्यो । फेरि ‘ह्वाइट सन‘ को कथा एकदम सरल कथा हो ।
यसअघि अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलेको‘कालोपोथी‘ पनि सशस्त्र द्वन्द्वकै सेरोफेरोमा बनेको थियो । टेलर हेर्दा यो पनि त्यस्तै हो कि भन्ने अनुमान गर्न पनि सकिन्छ । त्यस्तै हो ?
– त्यो होइन । ‘कालोपोथी‘ र यसमा फरक छ । ‘कालोपोथी‘ युद्धकै विषयमा आधारित भएर बनाइएको फिल्म थियो ।
‘सेतो सूर्य‘ चाहिँ गत वर्ष २०१५ मा नयाँ संविधान पास गर्दैगर्दाको तीन दिनको समयको एउटा गाउँको कथा हो । यद्यपि यसमा युद्धको बाछिटा देखाइएको छ । हामीले किन युद्धको बारेमा फिल्म बनायौं भन्ने कुरा हेर्ने हो भने, २२ वर्षयता हाम्रो जीवनलाई सबैभन्दा बढी असर पारेको एउटै कुरा त्यही युद्ध हो । एउटा फिल्ममेकरको रुपमा मैले त्यो युद्धको भोगाइलाई सिनेमामा लिएर आउने दायित्व सम्झेको हुँ ।
अनि, फिल्मको नाम चाहिँ ‘सेतो सूर्य‘ किन नि ?
– अहिलेको बेलाको समयको फिल्म बनाएकोले देशलाई के कुराले प्रतिनिधित्व गर्छ भनेर खोजिरहेको बेलामा राष्ट्रिय झण्डामा आँखा पुग्यो । हाम्रो झण्डामा सूर्य सेतो छ । कुन हिसाबले सोचियो र डिजाइन गरियो, थाहा छैन । मेरो मनमा खट्किरहेको थियो । त्यो कुरा ल्यायो भने यतिबेलाको समय प्रतिविम्बित हुन्छ कि भनेर झण्डाबाट शीर्षक लिएको हो ।
यस्ता ऐतिहासिक विषयमा फिल्म बनाउँदा त्यो विषयको बोझमा वा छायामा परेर कथाका अन्य पाटो र पात्रहरु उपेक्षित जस्तो बन्ने गरेको छ । ‘सेतो सूर्य‘ यसबाट मुक्त छ कि छैन ?
– त्यसमा केही हदसम्म फिल्ममेकरको कमजोरी हुन सक्छ । किनभने हामी सबै सिक्दै छौं । मेरो पनि त्यस्तै खालको कमजोरी हुन सक्ला । तर,ऐतिहासिक घटना र सन्दर्भको बोझ नहुनुपर्ने हो ।
बरु के चाहिँ हुन सक्छ भने हामीले भर्खर–भर्खर द्वन्द्व भोगेर आएकोले त्यो कुरालाई सिनेमामा तुरुन्तै उतार्दा स्पष्टसित व्यक्त हुन नसक्ला । सिनेमामा हामीले अपनाउने माध्यम फिक्सन हो । नेपालमा हाम्रो वरिपरि कुरा गर्दा कहिलेकाहीँ हामी अलमलिने गरेको पाइन्छ, डकुमेन्ट्री र सिनेमालाई मिसाइदिने चलन छ । मैले बनाइरहेको चाहिँ सिनेमा हो, जसमा कल्पनाशीलताको लागि ठाउँ हुन्छ । यसमा हामी रियालिटी र फिक्सनलाई मिक्सअप गरेर राम्रो कुरा निकाल्न सक्छौं । सिनेमाले गर्ने नै दुइटा कुरालाई सँगै ल्याएर राखेर तेस्रो मिनिङ निकाल्ने हो ।
तपाईंको अघिल्लो फिल्म ‘हाइवे‘ले अन्तर्राष्ट्रिय अवार्ड जिते पनि नेपालमा भने दर्शकले खासै रुचाएनन् । विदेशमा राम्रो प्रशंसा बटुलेको फिल्म नेपाली दर्शकले नरुचाउने किन होला?
– हाम्रो सिनेमा इन्डस्ट्री एकदमै योङ हो । हामीले ०४६ साल पछाडि नै खुलेर सिनेमा बनाउन लागेको हो । पाँच वर्ष अगाडिसम्म हामीकहाँ एकै खालका फिल्महरु मात्र आउँथे । मैले ‘हाइवे‘ बाट त्यो सिस्टम तोड्ने आँट गरेको थिएँ, त्यसमा धेरैले एप्रिसिएट पनि गर्नुहुन्छ । नेपालमा जसरी उही धनी बाउको छोरी एउटा गरिब केटोले बिहे गर्ने र बाउले भिलेन बनेर लखेट्ने, चार वटा गीत र चार वटा फाइट राखेर बलिउडको सूत्रमा फिल्म बनिरहेका थिए, त्यो ढाँचा तोड्नुपर्छ र हाम्रो खालको फिल्म खोज्नुपर्छ भनेर आँट गरेको हो‘हाइवे‘ बाट । धेरैतिर एप्रिसिएट भए पनि नेपालमा भने एउटा ‘शक‘को रुपमा पनि काम गर्यो । कतिले मन पराउनुभो, कतिले रुचाउनुभएन । यो स्वाभाविक हो ।
सायद चार वर्षअघि मैले त्यो नगरेको भए ‘कालोपोथी‘ पनि बन्ने थिएन होला, आज ‘सेतो सूर्य‘ पनि आउने वातावरण बन्ने थिएन होला । कहीँ न कहीँ त हामीले सुरुवात गर्नैपर्छ नि ! मैले लगानी गरेँ,व्यावसायिक रुपमा डुबेँ होला । तर, त्यो नगर्दा मैले केही नयाँ गर्ने एउटा फिल्ममेकरको दायित्व त पूरा गर्ने थिइनँ नि ! आफूलाई जस्टिफाइ गर्ने थिइनँ । म फिल्म बनाउन आएकै वरिपरिका फिल्म चित्त नबुझेर हो, हाम्रो समाज हाम्रो फिल्ममा नदेखिएर हो । मेरो पहिलो जिम्मेवारी चाहिँ एउटा राम्रो सिनेमा कसरी बनाउन सकिन्छ भन्ने हो । कति धेरै पैसा कमाउन सकिन्छ भन्ने हिसाबले आएको होइन म ।
तपाईंका फिल्ममा फरक–फरक समुदायका मानिसहरु एउटै कथामा जोडिन आइपुग्छन् । तपाईंले यो शैली अपनाउनुको के अर्थ छ ?
– नेपालमा गर्व लाग्ने कुरा के हो भने, यहाँ समुदायको विविधता छ । बोल्ने भाषाकै कुरा गर्ने हो भने एक सय २३ वटा छन् । तर, सिनेमा इन्डस्ट्रीमा धेरै वर्षसम्म एकखालको जात र समुदायको कथा मात्र भन्ने चलन रहिरह्यो । एउटा फिल्ममेकर भएको हिसाबले अरु समुदायलाई पनि फिल्ममा लिएर आउनुपर्छ र ती समुदायका कथा पनि भन्नुपर्छ भन्ने लागेको हो । ‘हाइवे‘ को पनि एउटा प्रयास के थियो भने एउटा बसभित्र सबै खालको समुदाय ल्याएर देश अटाउने ट्राइ गरेका थियौं । ‘सेतो सूर्य‘ एउटा गाउँको कथा भए पनि त्यो गाउँमा बस्ने धेरैथरि पात्रहरुलाई ल्याउन प्रयास गरेका छौं । किनकि सबैको कथा सिनेमामा प्रतिविम्बित हुनुपर्छ भन्ने कुरा हो ।
पछिल्लो समय बनेका कतिपय नेपाली फिल्म राम्रै भए पनि धेरै पुरानै ढर्राका छन् । अझ कतिपय त हेरिनसक्नुका पनि छन् । हाम्रो सानो फिल्म उद्योगमा फिल्म बनाउनेहरुको सीमित सर्कल भए पनि त्यस्तो अन्तर किन भएको होला ?
– पहिलो कुरा त हाम्रो सिनेमा इन्डस्ट्री सानो होइन । जनसंख्या र जति दर्शकले फिल्म हेर्छन्, त्यो अनुपातमा एकदमै ठूलो हो । वर्षमा सय वटाको हाराहारीमा फिल्म बनाइरहेका छौं । त्यो चाहिँ हामीलाई चाहिनेभन्दा बढी फिल्म हो ।
दोस्रो कुरा, कुनै पनि उद्योगमा विविधता भएकै राम्रो हो । किनभने हामी मान्छे पनि विविध प्रकारका छौं । हाम्रो विविध स्वाद छ । त्यो स्वाद रहुन्जेल त्यसको लागि फिल्म बन्छ नै । हामीकहाँ भइरहेको एउटै मात्र कमजोरी के हो भने, हामीकहाँ सबै फिल्म डिस्ट्रिब्युट भएर हलसम्म आइपुग्छन् । यहाँ निर्माताले पैसा लगानी गरेपछि उसको मात्र रिस्क हुन्छ । डिस्ट्रिब्युटरले लगानी गर्दैन, रिस्क मोल्नुपर्दैन र जुन फिल्म पनि ल्याएर चलाइदिन्छ ।
बाहिरको जस्तो सिस्टम हुन्थ्यो भने निर्माताले बनाएका सबै फिल्म डिस्ट्रिब्युटरले उठाउँदैनथ्यो । किनभने डिस्ट्रिब्युटरले उठाउनु भनेको बनाउनुभन्दा धेरै पैसा खर्च गरेर प्रचारप्रसार गर्नु हो । भारतकै कुरा गर्ने हो भने, मानौं एउटा फिल्म बनाउन एक करोड लाग्यो भने उसले पाँच करोड चाहिँ प्रचारप्रसारमा खर्च गरिन्छ । तर, त्यो खर्च निर्माताले गर्दैन, डिस्ट्रिब्युटरले गर्छ । हाम्रोमा भने त्यो चलन अझैसम्म सुरु भएको छैन । डिस्ट्रिब्युटरले प्रचारप्रसार गर्ने गरी फिल्म लिन थाल्यो भने पो उसको पनि पैसा डुब्ने डर हुन्छ र सबै फिल्म लिँदैन । त्यो नहुँदा जुन पनि फिल्म हलमा लाग्छ र बढी संख्यामा बनिरहेको पनि छ ।
उसो भए तपार्इको नजरमा नेपाली फिल्मका राम्रा र नराम्रा पक्ष के हुन् ?
म एकदमै खुसी छु । गत पाँच वर्षयता हामीले धेरै प्रगति गरेका छौं । निश्चल बस्नेत, दीपेन्द्र के खनाल, राम बाबु गुरुङ जस्ता नयाँ फिल्ममेकहरु यही इन्डस्ट्रीमा एकदमै पपुलर फिल्म बनाउँदै अगाडि बढ्नुभयो । नेपालसहित इन्टरनेशनल मार्केट लक्षित गर्दै म पछि मीन भाम आए । अहिले अरु नयाँ मेकरहरुले पनि फिल्म बनाउँदै छन् । पछिल्लो समय परिष्कृत सिनेमा बन्न थालेको छ । पाँच वर्षअघि एकै खालका फिल्म देखिन्थ्यो भने अहिले फिल्ममा भेराइटीहरु देखिन थालेका छन् । दर्शक नै तीन–चार खालको भइसके भन्ने कुरा आइरहेको छ । यो त हामीले खुसी मान्नुपर्ने कुरा हो । अबको चार–पाँच वर्षमा सायद योभन्दा धेरै ठूलो फड्को मार्न सक्छौं ।
प्रतिक्रिया 4