+
+

सुरेन्द्रको शपथमा खगराजले खिचे ध्यान

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते २१:१३

१६ जेठ, पोखरा । सर्वोच्चले मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न आदेश गरेसँगै गण्डकीमा कांग्रेसभित्र उत्साह थियो । केन्द्रमा एमाले, माओवादीसहितको गठबन्धन हुँदा प्रदेशमा कांग्रेसको सरकार बन्न लागेको भन्दै उनीहरुले खुसी साटेका थिए ।

बजेट ल्याउने बेलामै सरकार बन्ने भएपछि विभिन्न जिल्ला र कास्कीका कांग्रेसीहरु मुख्यमन्त्री पाण्डेको सपथस्थल पोखरा सभागृह पुगे । कांग्रेसका नेता कार्यकर्ताले एकअर्कामा बधाई दिएर खुसी साटिरहेका थिए । तर, त्यही बेला शपथस्थलमा निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता खगराज अधिकारीको उपस्थित भएपछि सबैको ध्यान त्यतै मोडियो ।

सर्वोच्चले पदमुक्त गरे पनि खगराज सुरेन्द्र र २ मन्त्रीको सपथको अवधिभर कार्यक्रममा बसे । मुख्यमन्त्री पाण्डेलाई बधाई दिए र कार्यक्रम सकिएपछिमात्रै बाहिरिएका थिए ।

सरकार फेरबदलसँगै नेताहरुमा देखिने तिक्ततापूर्ण सम्बन्ध र सपथका कार्यक्रममै नजाने संस्कारको ठीक विपरीत खगराजले व्यवहार देखाएका छन् ।

संघीयताको कार्यान्वयनयता गण्डकी प्रदेशमा अहिलेसम्म छैटौं पटक सरकार फेरबदल भएको छ भने ४ जना मुख्यमन्त्री भएका छन् । तर, अहिलेसम्म सत्ताबाट बाहिरिएको दलका नेता तथा सांसद र मुख्यमन्त्री शपथ कार्यक्रममा देखिएका थिएनन् । खगराज भने शपथ कार्यक्रममै पुगेर पाण्डेलाई हात मिलाएर बधाई दिएका छन् ।

२०७४ माघ २९ गते मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङको शपथमा विपक्षी दलका नेता तथा सांसदहरु नै देखिएनन् । एमाले सरकार ढलाउँदै २०७८ जेठ २९ गते कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा पृथ्वीसुब्बा पनि शपथमा गएनन् तर फोनबाट भने बधाई दिएका थिए ।

संघीयताको दोस्रो कार्यकालमा गत साल पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा खगराज अधिकारी मुख्यमन्त्री भए, त्यो बेला आफैं मुख्यमन्त्री हुने योजनासहित प्रदेश झरेका पाण्डे पनि सपथमा पुगेका थिएनन् । वैशाख १४ गते नियुक्त भएका पाण्डेको सपथमा त्यो बेला खगराज पनि गएका थिएनन् ।

केन्द्रमा सत्ता गठबन्धन फेरिसँगै अल्पमतमा परेका सुरेन्द्रराजले चैत २१ गते राजीनामा दिएपछि २५ गते खगराज मुख्यमन्त्री भए । तर, सभामुखको समेत मत प्रयोग गरेको भन्दै आफैं न्यायालय जाने तयारीमा रहेको कांग्रेसका नेता सुरेन्द्र शपथमा नजानुलाई स्वभाविकै मानिएको छ । विश्वासको मत लिँदा पनि ३० जनालाई बहुमत मानेर सभामुखले खगराजको पक्षमा निर्णय सुनाएपछि सुरेन्द्र फेरि सर्वोच्च पुगे ।

सर्वोच्चले खगराजलाई पदमुक्त गरेर पाण्डेलाई नियुक्त गर्न आदेश गरेको हो । बुधबार नियुक्तिपछि शपथको कार्यक्रममा पुगेका खगराजप्रति धेरैले चासो व्यक्त गरेका थिए । संविधानको मर्मबिपरीत सभामुखलाई प्रयोग गराएको आरोप पनि उनीमाथि थियो तर अस्थिर संसदीय राजनीतिमा कति व्यवस्थामाथि थप व्याख्या पनि आवश्यक पर्ने खगराजको तर्क थियो ।

सुरेन्द्रको पक्षमा फैसला आएपछि खगराजले सपथमै पुगेर सहभागी भए भने राजनीतिमा स्थायी सत्रु र मित्र नहुने देखाउन खोजेका छन् । खगराजसँगै माओवादी संसदीय दलका नेता तथा पूर्वमन्त्री हरिबहादुर चुमान पनि शपथ ग्रहण समारोहमा पुगेका थिए ।

‘जे भए पनि निवर्तमान मुख्यमन्त्रीज्यू शपथ कार्यक्रममै आएर सहभागी हुनु र बधाई दिनुले एउटा राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गरेको छ’, बुधबारै सामाजिक विकास र ऊर्जाजलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका विन्दुकुमार थापाले प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?