+
+

९ वर्षपछि पूर्वराष्ट्रपति भण्डारी एमाले कार्यक्रमको प्रमुख अतिथि

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते २०:५६
एमालेको महिला भेलामा पूर्वराष्ट्रपति विद्या भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु ।

१६ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नौ वर्षपछि नेकपा एमालेको औपचारिक कार्यक्रममा सहभागी भएकी छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा बुधबार सुरु एमालेको महिला भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनेकी छन् ।  भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली विशेष वक्ताका रुपमा सहभागी भए । अध्यक्ष निर्वाचित भएपछि एमालेकै कार्यक्रममा ओली विशेष अतिथि बन्नु परेको संभवतः यो पहिलो कार्यक्रम हो ।

भेलाको आयोजना एमाले जनसंगठन समन्वय संयन्त्रले गरेको हो । भानुभक्त ढकाल इन्चार्ज रहेको यो संयन्त्रले एमालेका २३ वटै जनसंगठनहरुको समन्वय र नेतृत्व गर्छ । भेलामा पनि २३ वटै जनसंगठनका महिला नेताहरुलाई बोलाइएको छ ।

जनसंगठनका महिला नेताहरु बाहेक पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश र जिल्ला कमिटीका महिला पदाधिकारी, स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियुबाट निर्वाचित महिला प्रतिनिधि लगायत ५ हजार सहभागी रहेको केन्द्रीय सदस्य रचना खड्काले बताइन् ।

एमाले नेताहरुले नेपालको महिला आन्दोलनमा पूर्वराष्ट्रपति भण्डारीको भूमिकाका कारण प्रमुख अतिथि बनाइएको बताएका छन् ।

पुनर्स्थापित प्रतिनिधिसभामा २०६३ साल जेठ १६ गते एमालेका तत्कालीन उपाध्यक्षका हैसियतमा भण्डारीकै नेतृत्वमा महिलाको अधिकार सम्बन्धी संकल्प प्रस्ताव पारित भएको थियो । उक्त संकल्प प्रस्तावमा आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुन खारेजी, महिला हिंसाको अन्त्य लगायत विषय समेटिएको थियो ।

त्यो दिनको उपलब्धिको सम्झना समेत गर्न पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएर पार्टी कार्यक्रम आयोजना गरिएको प्रष्टोक्ति नेताहरुले दिएका छन् । तर पार्टीको औपचारिक कार्यक्रममा प्रमुख वक्ता बनेर पूर्वराष्ट्रपति भण्डारी सहभागी हुनुलाई चासोका साथ हेरिएको छ ।

किनकि दुईपटक राष्ट्रपति बनेकी भण्डारीले सक्रिय राजनीतिमा फर्कने संभावनाबारे एमालेभित्र चर्चा हुदै आएको छ । तर गत वर्ष २९ फागुनमा राष्ट्रपतिको कार्यकाल सकिएपछि सरकारी निवासमा नबस्ने निर्णय गरेर पूर्वराष्ट्रपति भण्डारी आफैंले पनि सक्रिय राजनीतिमा फर्कने अनुमानलाई बल दिएकी थिइन् । तर पार्टीको औपचारिक गतिविधिमा सहभागी भएकी थिइनन् ।

मदन भण्डारी फाउण्डेसनमार्फत भने उनी राजनीतिक गतिविधिमा सक्रिय थिइन् । गत वर्ष १४ असारबाटै फाउण्डेसनको ब्यानरमा हुने गतिविधिमा सहभागी हुन थालेकी थिइन् । मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा त्यसदिन आयोजित कार्यक्रममा पनि ओलीलाई विशेष अतिथि बनाएर पूर्वराष्ट्रपति भण्डारी प्रमुख वक्ता बनेकी थिइन् ।

त्यो कार्यक्रम फाउण्डेसनको भएकाले स्वभाविक मानिएको थियो । तर झण्डै नौ वर्षपछि आज पूर्वराष्ट्रपति भण्डारी एमालेको औपचारिक कार्यक्रमको प्रमुख वक्ता बनेकी छन् ।

३ असोज २०७२ मा संविधान जारी भएपछि ११ कात्तिक २०७२ मा भण्डारी राष्ट्रपति निर्वाचित भएकी थिइन् । त्यसअघि उनी एमालेको उपाध्यक्ष थिइन् । दोहोरिएर एमाले उपाध्यक्ष जितेकी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि पार्टीबाट अलग भएकी थिइन् ।

२०७४ सालको चुनावपछि पनि राष्ट्रपति निर्वाचित भण्डारी सात वर्षपछि शितलनिवासबाट बाहिरिएकी थिइन् । शितलनिवासबाट बाहिरिएपछि उनी पार्टीको सक्रिय राजनीतिमा फर्कनेबारे आँकलन गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?