
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गृहबाट सक्रिय राजनीतिमा आउने सन्देश दिने तयारी गरेकी छन्।
- एमालेले शनिबार कार्यक्रमलाई कमजोर पार्ने प्रयास गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ।
- महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीलाई रोक्न विधानमा व्यवस्था गर्न प्रस्ताव गरे, तर विमति भएपछि असफल भयो।
१३ असार, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गृहबाट भोलि, (शनिबार) सक्रिय राजनीतिमा आउने सन्देश दिने तयारी गरेकी छन् ।
मदन भण्डारीको ७४औं जन्मजयन्ती मनाउन सभा गृहमा कार्यक्रम राखिएको छ । त्यही कार्यक्रमबाट पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउने सन्देश दिने तयारी गरेकी हुन् ।
निकटस्थहरूले पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गर्नेगरी पोष्टर सहित प्रचार गरिरहेका छन् । उनीहरूले मदन भण्डारी र जबज जोडेर विद्या भण्डारीलाई एमालेको भावी अध्यक्षका रूपमा प्रचार गरिरहेका छन् ।
तर पूर्वराष्ट्रपति भण्डारीको सम्भावित कार्यक्रमलाई कमजोर बनाउनेगरी एमाले संस्थापन तर्फका नेता–कार्यकर्ता सक्रिय देखिन्छन् । पार्टीका विभिन्न ब्यानर प्रयोग गरी मदन भण्डारीमाथि विमर्श, बैठक, प्रभातफेरी, वृक्षारोपण जस्ता कार्यक्रम शनिबार नै राखिएको छ ।
‘सभा गृहको कार्यक्रमलाई बिथोल्नेगरी कार्यक्रमहरू राखिएका छन् । संस्थापनको जोड विद्या भण्डारीको कार्यक्रममा सकेसम्म कम कार्यकर्ता जाओस् भन्ने देखिन्छ’, भण्डारी निकट एक नेता भन्छन्, ‘तर हामी भोलिको कार्यक्रममा सहभागिता कमजोर हुन दिन्नौं ।’
विशेषगरी सम्पर्क मञ्चहरूको ब्यानरमा भोलि धेरै वटा कार्यक्रम निर्धारण गरिएका छन् । अनेरास्ववियुको बैठक धुलिखेलमा राखिएको छ ।
नेताहरूका अनुसार पार्टीकै अरू कमिटीहरू पनि सक्रिय पारिएको छ । उपत्यका विशेष कमिटीको आयोजनामा शुक्रबार अन्तरसम्वाद राखियो ।
‘३ जेठमा पार्टीको ब्यानरमा मदन भण्डारी र जिवराज आश्रितको स्मृति कार्यक्रम हुने र १४ असारमा मदनको जन्मजयन्ती मदन भण्डारी फाउण्डेसनको ब्यानरमा हुने परम्परा नै हो’ भण्डारी निकट ती नेता भन्छन्, ‘तर यसपटक पार्टीकै ब्यानरमा कार्यक्रमको ओइरो लगाएर नयाँ सन्देश दिन खोजियो ।’
यसरी शनिबार हुने कार्यक्रमलाई कमजोर पार्ने प्रयास मात्र भएको छैन । पार्टीको सचिबालय बैठकमै विद्या भण्डारीलाई रोक्नेबारे प्रस्ताव गएको छ ।
बुधबार बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपति भण्डारीलाई रोक्ने प्रस्ताव राखेका थिए ।
‘गणतन्त्रमाथि प्रश्न उठिरहेको छ, यस्तो बेला पार्टीले विधानमै व्यवस्था गरेर जानुपर्छ’ पोखरेलको प्रस्ताव थियो । तर उपाध्यक्ष सुरेन्द्र पाण्डेले महासचिवको कुरा प्रष्ट नभएकाले थप व्याख्या मागे ।
‘के खोज्नुभएको हो, अलिक प्रष्ट भएन’ उपाध्यक्ष पाण्डेले भनेका थिए । यसपछि महासचिव पोखरेलले अलिक व्याख्या सहित पूर्वराष्ट्रपति भण्डारीलाई रोक्नुपर्ने तर्क गरेका थिए ।
‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउँदा गणतन्त्रमाथि प्रश्न उठ्छ । राष्ट्रपति भइसकेको मान्छे पार्टीको नेतृत्वमा आउँदा गणतन्त्र पनि राजतन्त्र जस्तै रहेछ भन्ने पर्छ’ महासचिव पोखरेलले व्याख्या सहित भनेका थिए ।
त्यसैपनि गणतन्त्रमाथि प्रश्न उठेकाले विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपति भण्डारीलाई एमाले अध्यक्ष हुने बाटो छेक्नुपर्ने महासचिव पोखरेलको प्रस्ताव थियो । तर अरू नेताहरूले विमति जनाए ।
‘महासचिवले कसैको पनि साथ पाउनु भएन । नेताहरूले विधानमा त्यस्तो व्यवस्था गर्न नहुने मत राख्नुभयो’, बैठक स्रोतले भन्यो । सचिवहरू गोकर्ण बिष्ट र छबिलाल विश्वकर्माले महासचिवको प्रस्तावमा विमति जनाएका थिए ।
विमति जनाउने पक्षमै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि बोले । ‘व्यक्तिलाई लक्षित गरेर पार्टीको विधानहरू चलाउने काम नगरौं । यसरी त हामी कतैपनि पुग्दैनौं’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भनेका थिए ।
महासचिवको पक्षमा कसैको मत नआएको देखेपछि अध्यक्ष केपी ओलीले पनि विधानमा व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई रोक्न नहुने बताए ।
‘पूर्वराष्ट्रपतिले राजनीतिमा सक्रिय हुन्छु भन्नु भएको छ, तर फलानो पदमा आउँछु भनेको मैले सुनेको छैन’ ओलीले भने, ‘सक्रिय राजनीतिमा आउनलाई त कुनै विधान र कानुनले छेक्दैन । आउन सक्नु हुन्छ ।’ तर पार्टीको नेतृत्व चयनको प्रक्रिया हुने र त्यसबाट अनुमोदन भएर आउनुपर्ने तर्क ओलीले गरेका थिए ।
स्रोतका अनुसार पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने वक्तव्य दिइरहेका उपमहासचिव प्रदीप ज्ञवाली र प्रधानमन्त्रीकै प्रमुख राजनीतिक सल्लाहकारको भूमिकामा रहेका उपमहासचिव विष्णु रिमाललाई साथमा लिएर महासचिव पोखरेलले यस्तो प्रस्ताव ल्याएका थिए । जुन, प्रस्ताव अरु पदाधिकारीको चर्को विमतिले अगाडि बढ्न सकेन ।
प्रतिक्रिया 4