Comments Add Comment

नेपालको भारु सटहीमा समस्या, भारत अझै बोलेन

स्रोत नखुलेको भारु २५ हजारभन्दा बढी नसाटिने संकेत

ic-varu-indian-currency२३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भारु ५ सय र १ हजारको नोट सटहिमा रोक लगाएको झन्डै एक महिना बितिसककेको छ तर, प्रतिवन्धित भारुको सटही कहिलेबाट सुरु हुन्छ भन्ने अझै केहि टुङ्गो लागेको छैन ।

नेपालीहरुले भारु ५ सय र हजारको नोट कति रकमसम्म साट्न पाउने भन्ने बारेमा पनि तय हुन सकेको छैन । भारु नसाटिने होकि भन्ने डरले केहि नेपालीहरु अत्तालिएर ५ सयको भारु नोटलाई ६ सय रुपैयाँमा बेचिरहेका छन् ।

नेपाल राष्ट्र बैंक र सरकारले आ–आफ्नो तबरबाट नेपालमा रहेका भारु सटहीको व्यवस्था मिलाउन आग्रह गर्दा समेत भारतले अहिलेसम्म केही बोलेको छैन ।

राष्ट्र बैंक स्रोतका अनुसार  एक नेपालीको २५ हजार भन्दा बढि रकम सट्ने  नपाउने देखाएको छ । नेपालीले यसअघि राष्ट्र बैंकसँग भारतीय २५ हजारसम्म रकम साट्न पाउँथे ।

समितिको प्रगति शून्य

भारतले १ हजार र ५ सयका नोटमा प्रतिवन्ध लगाएपछि भारु सटही व्यवस्था मिलाउन राष्ट्र बैंकले एक समिति पनि गठन गरेको छ ।

व्यवस्थापन समिति गठन गरेको पनि २० दिनभन्दा बढि भयो तर, यसको कार्य प्रगति शुन्य छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको संयोजकत्वमा समिति गठन भएको समितिमा अर्थ मन्त्रालय, विदेशी विनिमय विभाग, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ लगायतको सहभागिता रहेको छ ।

विभिन्न निकायका पदाधिकारीहरुको संलग्नता रहेको यस समितिले रिजर्भ बैंक अफ इन्डीया (आरबिआइ) को  निर्णय कुरेर बसेको छ ।

नेपालस्थित भारतीय राजदूतावासले भारु सटहीको मोडालीटी बनाउन राष्ट्र बैंकलाई आग्रह गरेको थियो । जसका लागि पनि समितिको निर्माण भएको हो ।

समितिका सदस्य भीष्म ढुङ्गानाका अनुसार यो समितिले अहिले आन्तरिक काम सकेर आरबिआईको निर्णय कुरेर बसेको छ । आरबिआई भने भारत सरकारको निर्णय पर्खिएको छ ।

भारत सरकारले नेपालसँगै भुटान तथा अन्य छिमेकी राष्ट्रहरुमा रहेको यस्तो रकम के कसरी साट्ने वा के गर्ने भन्ने बारेमा अध्ययन गर्न एक समिति गठन गरेको थियो । यो समितिले अध्ययन  रिपोर्ट बुझाएको छ । तर,  भारत सरकारले केही निर्णय लिएको छैन । छिमेकी राष्ट्रहरुमा रहेको यस्तो रकम साट्ने भन्दा पनि भारत सरकारले पहिले आफ्नै देशमा रहेको ५ सय र हजारको सटही समस्या सल्टाउन लागेको छ ।

कालोधन निर्मूल गर्ने भन्दै नरेन्द्र मोदी सरकारले आकस्मिक रुपमा कात्तिक २३ गते राति १२ बजे ५ सय र १ हजारको चलनचल्तीमा रहेको नोटको कारोबार बन्द गर्ने घोषणा गरेका थिए ।

तत्काल १ हजार र ५ सयको नयाँ नोट छाप्न नसकेपछि भारत सरकारले २ हजारको नोट छाप्ने निर्णय गरेको थियो । छापेर बजारमा आएको उक्त नोटले एटिएम मेसीनमा भने काम गरेन । अहिले बल्लतल्त एटीएम मेसिनमा चल्ने बनाएको छ ।

यसरी भारत सरकार आन्तरीक समस्या मात्रै सल्टाउन लाग्दा छिमेकी राष्ट्रको सिमा क्षेत्रमा बसेर भारुलाई नै आफ्नो कारोबारको माध्यम बनाएकाहरुको भने दैनिक जिवन नै कष्टकर भएको छ ।

मंसिर २४ गते नेपाल सरकारले यसको सटहीमा रोक लगाएपछि सीमाक्षेत्रमा भारु ५ सय र १ हजारको नोटबाट कारोबार गर्न निकै कठिन भयो ।

जसका कारण नै कम मूल्यमा भारु बेचेर नेपाली रुपैयाँ खरिद गर्दै सीमाक्षेत्रका नेपालीहरुले दैनिक उपभोग्य वस्तुका सामानहरु किन्ने गरेका छन्। समितिका सदस्य ढुंगानाले भने ‘हामीले यहाँको सबै तयारी गरेका छौ, आरबीआईको निर्णय कुरिरहेका छौं ।’ अर्थमन्त्रालयका सचिव शान्तराज सुबेदीले भारु सटहीका लागि पहल गरिरहेको बताउँछन् । उनले भने ‘पहल गरिरहेका छौं, नगरेको होइन तर, नतिजा भने निस्केको छैन । ’

केही समयअघि नेपालका प्रधानमन्त्री  पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिबिच भारु सटहीको व्यवस्थापनको विषयमा छलफल भएको थियो । त्यसैगरी  अर्थमन्त्री कृष्णवहादुर महराले भारतीय समकक्षी अरुण जेट्लीसँग कुराकानी गरेका थिए। पछिल्ला दिनमा भने दुई देशका मन्त्रीवीच खासै यसबारे छलफल नभएको मन्त्रालय स्रोत बताउँछ ।
अर्थ मन्त्रालयले भारु सटहीको टुङ्गो लगाउन राष्ट्र बैंकले गठन गरेको समिति र यसको काममा सघाउन भारतस्थित राजदुतावासलाई जिम्मा दिएको छ ।

सचिव सुबेदीले भने ‘समितिले पनि भारतको आरबीआईसँग नियमित छलफल गरिरहेको छ भने भारतस्थित राजदुताबासले पनि नियमितरुपमा यसलाई सल्टाउन प्रयास गरिरहेको छ ।

भारतीय नागरिकले पनि बैंकबाट साट्न पाउने अन्तिम मिति सकिन पनि २२ दिन मात्रै बाँकी छ । तर, नेपालमा भने यसका बारेमा हालसम्म कुनै काम नै अघि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment