Comments Add Comment

एमालेलाई सहमतिमा नआई सुख्खै छैनः प्रचण्ड

'आयोगको प्रतिवेदन ढिला बने पुरानै संरचनाअनुसार निर्वाचन'

prachanda

२३ मंसिर, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै स्थानीय तहको निर्वाचनको कार्यक्रम र मिति घोषणा हुने बताएका छन् ।

संविधान संशोधन प्रस्ताव दर्तासँगै निर्वाचनको वातावरण बनाएको दाबी गर्दै उनले अहिले विरोधमा रहेको नेकपा एमाले लगायतका सबै दल पनि निर्वाचनमा आउने विश्वास व्यक्त गरे ।

सात नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलाई बिहीबार बिहान कैलालीको धनगढीमा सम्बोधन गर्दै ओलीले निर्वाचनको मिति घोषणापछि देश अनिर्णयको बन्दीबाट मुक्त हुने उनले धारणा राखे ।

‘म काठमाडौं फर्किएको केही दिनभित्र निर्वाचन कार्यक्रम र मिति घोषणा हुन्छ’ उनले भने, ‘त्यसपछि देश कुद्छ । सिंगो राष्ट नयाँ गतिमा अघि बढ्छ । माओवादी पार्टी र सरकार दुबैले देशलाई नयाँ गति दिनेछ ।’

उनले अघि भने, ‘संविधान संशोधन प्रस्तावको रणनीतिक महत्व छ । यो एक प्रकारको राजनीतिक एक्सन हो । हिमाल, पहाड तराईलाई एकताबद्ध गरेर राष्ट्रिय एकता कायम गर्ने एक्सन,’ उनले भने, ‘यो एक्सनबाट आउने रियक्सनले मुलुकलाई नयाँ दिशामा लैजान्छ । तिनै पार्टी मिलेर निर्वाचनमा आउनुपर्छ । नआई सुख्खै छैन ।’

माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले असन्तुष्टिलाई थाति राखेर निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन पनि दिए ।

दुई नम्बर प्रदेशसहित रोल्पाको थवाङ, बझाङको काँडा, नुवाकोट र झापाको केही गाविसबाट विशेष प्रस्ताव आएकाले पुनर्संरचनाको आयोगको प्रतिवेदन आउन ढीला भएको भन्दै उनले विवाद समाधान नभए पुरानै सरचनाअनुसार पनि चुनाव हुनसक्ने बताए ।

‘गाविसलाई गाउँपालिका भनेर नामाकरण गरौं भन्ने धेरै पार्टीको मत देखिएको छ । म भने अझै केही दिन आयोगको प्रतिवेदन अनुसार नै गर्नुपर्छ भन्ने जोडमा छु’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यदि त्यसो हुनै नसक्ने परिस्थिति भए हामी त्यसलाई पनि मान्न तयार छौं । तर के कुरा सत्य हो भने अब गाविसको चुनाव भने हुनेछैन ।’

को राष्ट्रघाती, को राष्ट्रवादी ?

प्रधानमन्त्री प्रचण्डले अहिले संविधान संशोधन प्रस्तावको विषयलाई लिएर नेकपा एमालेले सरकारले राष्ट्रघात गरेको भनेर आरोप लगाउने गरेकोमा आपत्ती जनाए ।

आफूले कांग्रेस-एमालेले ल्याएको विगतको प्रस्ताव अनुुसार नै पहाड र तराईलाई छुट्याएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘पाँच नम्बर प्रदेशमा पहाडी जिल्ला पहाडमै राख्ने र तराईको जिल्ला तराईमै राख्ने प्रस्ताव कांग्रेस एमालेकै थियो ।

६-७ पानाको त्यस प्रस्तावमा केपी ओली जीले हस्ताक्षर गर्नुभएको छ । सुशील कोइरालाले एक ठाउँमा हस्ताक्षर गर्नुभएको छ,’ ‘प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यही प्रस्तावलाई हल्का संशोधन गर्दा राष्ट्रघाती हुने तर। उहाँहरु चाहीँ राष्ट्रवादी हुने । बडो बिचित्रको स्थिति देखिरहेको छु मैले ।’

प्रधानमन्त्रीद्वारा चमेलिया आयोजनाको स्थलगत अनुगमन

prachanda-chilime

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमन गरेका छन् । उनले सुरुङभित्रै छिरेर आयोजनाको अनुगमन गरे ।

चमेलियाको सुरुङ साढे चार हजार मिटरभन्दा बढी लामो छ । बीचमा सुरुङ भासिएकाले काम रोकिएको छ । तर, त्यसको मर्मत गरी १० महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने तयारी अनुसार कामलाई तिव्रता दिइएको छ ।

प्रधानमन्त्री प्रचण्डसहितको टोलीमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसमेत थिए । आयोजना प्रमुख अजय दाहालले हालसम्म भइरहेको कामबारे जानकारी गराएका थिए ।

सुरुङमार्गको अवलोकन गरेपछि प्रधानमन्त्री प्रचण्डले सकेसम्म छिटो काम सम्पन्न गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए । तोकिएको समय अवधिभन्दा अघि नै काम सम्पन्न गरेमा आयोजनाका कर्मचारीहरुलाई पुरस्कृत गर्ने उनले बचन दिए ।

आयोजनाको कूल स्वीकृत लागत १५ अर्ब ६ करोड रुपैयाँ छ । यो आयोजना २०१७ डिसेम्बर ३० तारिखमा सम्पन्न गर्ने लक्ष्य छ । त्यसअघि उनले शिखर गाविसको बलाँचस्थित आयोजनाको कार्यालय परिसरमा कर्मचारी र स्थानीय जनसमुदायलाई सम्बोधन गरेका थिए ।

दार्चुलाबाट प्रधानमन्त्री प्रचण्डसहितको टोली अपरान्ह पौने चार बजे सुर्खेत आइपुगेको छ । प्रधानमन्त्री प्रचण्डले सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली एक्स्पोको उदघाटन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment