छोरा जन्मिएको एक वर्ष भएको थियो । जीवा लामिछाने घर-परिवारभन्दा आफ्नो व्यवसायमै एकोहोरिएर लागेका थिए । मस्को (रुस) मा उनले थालेको इलेक्ट्रोनिक्स सामानको होलसेल डिस्ट्रिब्युसन सातै दिन सञ्चालन हुन्थ्यो । एक हिसाबले सास फेर्न फुर्सद नभए झैं अवस्था थियो ।
उनी घरबाट बिहान आठै बजे निस्किन्थे र राति १२/१ नबजी फर्किदैनथे ।
एकदिन श्रीमतीले भनिन्, ‘हजुरले छोरालाई नबोलाएको, ऊसँग नखेलेको कति दिन भयो, भन्नुस् त ?’
उनी झसंग भए । त्यसबारे उनले कहिल्यै ख्यालै गरेका थिएनन् । बालख छोराको मुख राम्ररी हेर्न नभ्याएको पनि हप्तौं भइसकेको रहेछ । घरबाट बिहानै निस्किँदा र राति अबेर फर्किँदा जहिल्यै छोरा सुतिरहेकै अवस्थामा हुन्थ्यो ।
उनलाई एकाएक महसुस भयो, पारिवारिक खुसी समेत बिर्सेर आफू भागदौडमा हराएछु ।
त्यसअघि पनि बिजनेसकै धपेडीका कारण एकमात्र भाइको बिहेमा नेपाल जान नभ्याएको परिबन्दले चिमोटिरहेकै थियो जीवालाई ।
श्रीमतीको कुराले झस्को लागेपछि उनले तत्वबोध गरे, यसरी नै गर्ने हो भने बिजनेस धेरै समय चल्दैन र सफल पनि हुन सकिँदैन । व्यक्तिगत प्रयासमा थालेको बिजनेस उत्कर्षमा पुगेर राम्रो फल दिइरहेको समय थियो त्यो ।
उनी १६ वर्षअघिको आफ्नो निर्णय सम्भिmन्छन्, ‘रुख रोपेर आँप फलिरहेको बेलामा टिपेर आधा-आधा खाऔं भने जस्तो गरी साथीहरुलाई ५० प्रतिशत सेयर दिएँ । कार्यकारी भूमिकामा रहेर अब बिजनेस चलाउँदिनँ भनेर काम पनि जिम्मा लगाएँ ।’
त्यही निर्णय उनको लागि अझ फलिफाप सिद्ध भयो । नेपाली साथीहरुसँगै मिलेर बनाएको सानिमा ग्रुपको हिसाबले बिजनेस पनि विस्तार हुँदै गयो, विविध क्षेत्रमा लगानी पनि बढ्दै गयो । संसारभरि छरिएर रहेका नेपालीहरुलाई एउटै छातामा समेट्ने गरी गैरआवासीय नेपाली संघ (एनआरएन) को अभियान पनि अघि बढ्यो । उपेन्द्र महतो, जुगल भुर्तेल, भीम उदास, उनी लगायतका केही साथी मिलेर बनाएको अवधारणामा अरु साथी मिसिएपछि त्यसले संस्थागत रुपमा व्यापकता पाउँदै गयो ।
आज संघको शाखा ७५ वटा मुलुकमा विस्तार भइसकेको छ । संघको उनी तेस्रो अध्यक्ष भएका थिए ।
अक्सर बिजनेसम्यानहरु पैसाको पछि मात्र दगुर्छन् भनिन्छ । जीवा भने कर्म र फललाई दार्शनिक कोणबाट हेर्छन् । भन्छन्, ‘पैसा कमाउने चाह अनन्त रै’छ, यसको कुनै सीमा हुँदैन । कति भए हुने र कतिसम्म गर्ने भनेर आफूले कहीँ न कहीँ रियलाइज गर्नुपर्छ ।’
यसको मतलब अब पुग्यो भनेर गतिहीन भएर बस्ने पनि उनको जीवनदर्शन हैन । गतिशील पनि भइराख्ने र आफ्नो रुचि, परिवार, सामाजिक उत्तरदायित्व लगायत जीवनका विविध पाटोहरुमा समेत सजग हुने यात्रालाई उनले बाटो बनाएका छन् ।
उनको अनुभवले भन्छ, ती सबै चिजलाई सँगसँगै डोर्याएर हिँड्यो भने मात्र जीवन सफल हुन्छ ।
ठट्टैमा कोरिएकोे सपना
आज सफल व्यवसायीका रुपमा स्थापित जीवालेयत्रो फड्को मार्नुमा उनले जगैदेखि ठूलै तयारी गरेका होलान् भन्ने लाग्न सक्छ ।
हुन पनि नेपाल जस्तो सानो देशबाट विदेशको ठाउँमा गएर व्यापार-व्यवसाय गर्न पुँजी, व्यवस्थापन लगायत सबै कुरामा ध्यान दिनु चानचुने काम हैन । तर, उनीव्यापार गर्ने उद्देश्यले नभई तत्कालीन सोभियत संघ (रुस) मा विद्यार्थीका रुपमा गएका थिए ।
काठमाडौंमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट ओभरसियर गरेपछि सिभिल इञ्जिनियर पढ्ने सरकारी छात्रवृत्ति पाएपछि सन् १९८६ (२०४३ साल)मा त्यता हान्निएका थिए । २० वर्षको उमेरमा गएका उनले त्यतिबेला साथमा बोकेका थिए, जम्मा एक सय ५० डलर ।
त्यही पैसालाई अन्ततः उनले आफ्नो भाग्य र कर्मको ढोका खोल्ने चाबी बनाए । पढ्दै गर्दा नजानिँदो रुपमा व्यवसायको जग खडा गर्ने मात्र होइन, सरसर्ती संसार विचरण गरेर अनुभव सँगाल्न पनि त्यसबाटै बल मिल्यो उनलाई ।
युनिभर्सिटीमा गर्मीयाममा दुई महिने र जाडोमा दुईहप्ते छुट्टी हुन्थ्यो । त्यो छुट्टीमा विद्यार्थी विभिन्न देशमा घुम्न निस्किन्थे । उनी पनि सिनियरको देखासिकी र साथीभाइको रामरमाइलोमा घुम्न निस्किन थाले ।
उमेर नै ठिटौले, टपक्क एउटा रुकस्याक बोकेर हिँड्न पनि सजिलै थियो । फेरि जर्मनीबाहेक कतिपय देशमा जान त भीसा नै लिनुपर्थेन । त्यसबाहेक अरु देशले पनि सोभियत संघमा पढिरहेका विद्यार्थी भनेपछि सजिलैसँग भीसा दिन्थे । अर्कोतिर, युरोपभरि नै रेलको राम्रो सञ्जाल भइसकेको त्यो समयमा विद्यार्थीलाई सहुलियत दरमा टिकटहरु उपलब्धहुन्थ्यो ।
घुमेर र्फकँदा विद्यार्थीले रसियन बजारमा नपाइने विभिन्न इलेक्ट्रोनिक्स सामान निजी प्रयोजनका लागि भनेर ल्याउने गर्थे । त्यो सामान व्यक्तिगत रुपमा बेच्थे । त्यसरी सामान ल्याउनु गैरकानुनी भए पनि गरिब मुलुकका विद्यार्थीले दुई-चार पैसा कमाऊन् भनेर सरकारी अधिकारीले आँखा चिम्लिदिन्थे ।
त्यो बेलामा सोभियत संघले अमेरिका लगायत पश्चिमा देशहरुसँग अन्तरिक्ष अभियान, सैनिक अभियानमा प्रतिस्पर्धा गरे पनि आफ्ना जनतालाई भने गाँस, बास, कपासभन्दा बढीको सुविधामा प्राथमिकता दिएको थिएन । यसैले सर्वसाधारणमा खासगरी जापानिज टीभी, क्यामेरा, भिडियो डेक, म्युजिकल सिस्टम, कम्प्युटर विदेशका इलेक्ट्रोनिक्स सामानको धेरै माग थियो ।
‘हामीले पटकपटक घुम्न जाँदा त्यस्तै सामान ल्याएर बेच्दै अलिअलि बचत गथ्र्यौं’, जीवा सम्भिmन्छन्, ‘त्यही पैसाले अर्को पटक घुमघाम र किनमेल गथ्र्यौं । बिजनेस गर्छु र पैसा कमाउँछु भनेर त्यो काम नगरे पनि हरेक छुट्टीमा त्यो सुविधा प्रयोग गर्दा विद्यार्थीकालमै केही पैसा जम्मा भइसकेको थियो ।’
विद्यार्थीलाई बस्न, खान र पढ्नलाई युनिभर्सिटीले पुग्ने गरेरै दिने भएकोले त्यतातिर खर्च लाग्ने कुनै चिन्तै थिएन ।
सन् १९८५ मा मिखाइल गोर्वाचोभ कम्युनिष्ट पार्टी अफ सोभियत युनियनका महासचिव भएर आएपछि बिस्तारै उनले खुलापन र सुधारका काम थाले । गोर्वाचोभले आर्थिकसँगै राजनीतिक खुलापनमा ध्यान दिँदै गर्दा ७० वर्षदेखि एउटै पार्टीको दमनमा रहेका जनसाधारणले उन्मुक्त आवाज उठाए । जातीय रुपमा विभाजित १५ राज्यले आ-आफ्नो आत्मनिर्णयको अधिकार खोज्दै १९९१ मा छुट्टै राज्यको घोषणा गरेपछि महाशक्ति राष्ट्र विखण्डन भयो ।
त्यो सँगै राज्य नियन्त्रित अर्थतन्त्रलाई त्यागेर खुला बजार अर्थनीति अपनाएपछि बजार अझ बढ्यो । उनले सम्भावना देखेर त्यो अवसरलाई सदुपयोग गर्नेबारे सोचे ।
युनिभर्सिटी पढाइ पूरा भएर एकेडेमिक डिग्रीले उनी सिभिल इञ्जिनियर बने । तर, व्यवसायलाई व्यवस्थित रुपमै अघि बढाउने सुरले उनी कस्सिए । इलेक्ट्रोनिक्स सामानको सप्लाई गर्ने आफ्नै कम्पनी खोले । उनी भन्छन्, ‘नेपाल गएर पनि आखिर काम गर्ने नै हो भन्ने सोचेर त्यहीँको अवसरलाई उपयोग गर्दै व्यवसाय थालेँ ।’
आज संस्थागत रुपमा गैरआवासीय नेपालीहरुको अग्रसरता बढेसँगै उनीहरुले नेपालमा पनि लगानी बढाएका छन् । साढे दुई दशकको व्यावसायिक जीवन अघि बढाइसकेका जीवा नेपालमा सानिमा बैंक, सानिमा माई हाइड्रो लगायत जलविद्युत्, मेडिकेयर अस्पताल लगायत क्षेत्रसँग जोडिएका छन् ।
एनआरएनहरुको चाहनाबारे उनी भन्छन्, ‘एनआरएनसँग धेरै ठूलो कायापलट नै गर्ने गरी लगानी गर्ने हैसियत नहोला, तर केही गर्दा सबभन्दा पहिले नेपालमै गर्नुपर्छ भनेर सोच्छ । लगानी गर्दा भोलि राम्रोसँग नाफा नै नदिए पनि कमसेकम मातृऋण चुक्ता हुन्छ र यहाँ केही मान्छेले रोजगारी पाउलान् भन्ने अधिकांशको सोचाइ देखिन्छ ।’
यायावर जिन्दगी र सरसर्ती संसार
विद्यार्थीकालमा जीवाले युरोप, अमेरिका, एसिया लगायतका धेरै मुलुक घुमे । स्विट्जरल्यान्ड जाँदा उनले त्यहाँको प्रकृति र भौगोलिक अवस्था नेपालको जस्तै देखे, आम नेपालीले जस्तै नेपालमा पनि यस्तै भइदिए हुन्थ्यो भन्ने कामना गरे ।
ताजकिस्तान पुगे, काठमाडौंको धुवाँ-धूलो र अस्तव्यस्ततालाई बिर्सिदिने हो भने दुरुस्तै आफ्नो देशको राजधानी त्यहाँ पाए ।
अरेबियन मुलुक जाँदा त्यहाँ जमिन खन्दा निस्किने तेल र समुद्र बाहेक आफ्नो मुलुकमा त्यसलाई माथ गर्न सक्ने अरु थुप्रै स्रोत-साधन के-के छन् भनेर तुलना गरे ।
यात्राको क्रममा टिपोट गर्ने बानी उनको पहिल्यैदेखि हो । दिनभरि घुमेका ठाउँहरुबारे बेलुका डायरी पनि लेख्थे । यसरी ठाउँहरु घुम्दा नेपालको प्रसंगमा पनि तुलना गर्थे उनी । तर, त्यो सबै औचित्यहीन तुलना जस्तो भए पनि हरेक नेपालीले आफ्नो देश समृद्ध भएको सपना सजाए जस्तो विकसित देशहरु पुग्दा उनको मनमा पनि त्यो लहर धेरै पटक उठ्यो ।
घुमफिरमा उनीभित्र स्कूले बेलादेखि रहेको साहित्यिक व्यक्तित्व पनि प्रकट भइरहन्थ्यो । उनी चंगा भएर यायावर जस्तो रमाउन रुचाउँथे । जुनसुकै ठाउँ जाँदा त्यो ठाउँको विशेष ‘एडभेन्चर’ केही हदसम्म जोखिम मोल्दै अनुभव गर्थे ।
तिनै विविध अनुभव र अनुभूतिलाई यात्रा-साहित्यमा बुन्दै गए उनले । फलस्वरूप पाँच महादेशका २९ देश घुम्दाको अनुभव समेटेर नियात्रा कृति ‘सरसर्ती संसार’ लिएर आएका छन् ।
घुमघाम र व्यवसायका लागि देश-विदेश सयर गर्ने क्रममा किताब लेख्ने सोच कसरी आयो त ?
साहित्य पढ्ने र फाट्टफुट्ट लेख्ने स्कूले बेलादेखिकै रुचि थियो उनको । तर, सोभियत संघ गएपछि र बीचमा व्यवसायका कारणले लेखपढको कामले निरन्तरता पाउन नसक्दा उनी गुम्सिरहेका रहेछन् । घुमेको ठाउँबारे केही रोचक किस्सा पछिल्लो समय फेसबुकमा लेख्न थाल्दा साथीहरुले उकासेपछि उनलाई अझ विस्तारमा लेख्ने हुटहुटी पलायो । नतिजा हो, ‘सरसर्ती संसार’ ।
जीवाले पुस्तकमा पहिलो पटक देश बाहिर गएको सानो प्रसंग समेत छुटाएका छैनन् । चार कक्षा पढ्दा भारतको रक्सौल गएको देखि एक वर्षअघि गि्रस जाँदाको यात्रा-अनुभूतिसम्मलाई उनले समेटेका छन् ।
संसारका विभिन्न कुना गएर अनगिन्ती कुरा खोतले पनि पुस्तकबारे जीवालाई डर पनि त्यत्तिकै रहेछ । त्यो डर हो, एनआरएन मुभमेन्टमा आबद्ध भएको नाताले आफूबाट पाठकहरुले विदेशका नेपाली र वैदेशिक रोजगारीबारे बढी अपेक्षा राखेका होलान् भन्ने ।
उनी भन्छन्, ‘एनआरएन मुभमेन्ट कसरी थालियो र अघि बढाइयो भन्ने कुरा पुस्तकमा आए पनि यो विशुद्ध यात्रा-साहित्य भएकाले अरु कुरामा म गएको छैन ।’
ड्रिम रुट
जीवामा पढ्ने सौख पनि त्यत्तिकै छ । त्योभन्दा बढी भोक छ, घुमफिरकै । संसार नियाल्ने भोक कहिले पूरा होला जस्तो पनि लाग्दैन उनलाई । हुन पनि संसारमा यति धेरै हेर्न लायकका ठाउँहरु छन्, एउटा जीवनकालमा घुमेर साध्य नै छैन ।
तर, जीवा सम्भव हुने ठाउँहरु आफ्नो जीवनकालमा घुमिसक्ने सोचमा छन् । कतिपय यात्राका योजना अधुरै छन् । त्यसमध्ये उनको एउटा धोको छ, साइबेरियादेखि सुरु भई रुसको सुदूर पूर्वमा अन्त्य हुने बैकाल-अमुर मेनलाइन ब्रोडगेज रेलको लामो सफर गर्ने । सात दिन सात रात लाग्ने त्यो यात्रा कुनै बेला गर्ने उनको योजना छ ।
अर्को धोको छ, क्यारेबियन क्षेत्रतिर पसेर पनामा, बोलिभिया, कोलम्बिया हुँदै अर्जेन्टिना, ब्राजिल, चिलीसम्म पुग्ने । त्यसको लागि कम्तीमा पनि एक महिना छुट्याउनुपर्ने देखेका छन् ।
नेपालका पनि धेरै ठाउँ उनको घुमघामको सूचीमा छन् । तराई भेग एकसरो घुमे पनि पहाडका धेरै ठाउँ पुगेका छैनन् । सगरमाथाको फेदीमा रहेको नाम्चे बजार, मुस्ताङ, जुम्ला, हुम्ला र रारा जाने चाहना छ ।
अतिथि देवो भवः को संस्कार रहेको देशबाट संसार घुम्न जाँदा जीवालाई शंका थियो, बाहिरका मान्छे कत्तिको सहृदयी होलान् ! तर, घुम्न निस्किएपछि अनुभव गरे, बहुसंख्यक मान्छेहरू त सहयोगी र सहृदयी नै हुँदा रहेछन् ।
सरसर्ती संसार घुम्दा अनुभव गरेको कुरा उनले सुनाए, ‘हरेक ठाउँमा राम्रा र नराम्रा मान्छे हुन्छन् । देश, जाति र सम्प्रदायकै आधारमा कतै पनि एउटै प्रकृतिका मान्छे हुन्छन् जस्तो लाग्दैन ।’
प्रतिक्रिया 4