+
+
Shares

भारतीय नोटको असरः गोरु बेच्नेदेखि गहना किन्नेसमेत थुनिए

राजश्व अनुसन्धान विभागमै थन्कियो दुइ करोड भारु

रमेश धमला रमेश धमला
२०७३ मंसिर २४ गते १९:०९

ic-notes

भारतले लगाएको एक हजार र ५ सयका नोट प्रतिबन्धको असर नेपालमा गहना बनाउनेदेखि गोरु बेच्ने सम्मका व्यवसायीलाई परेको छ । नेपाल सरकार र राष्ट्र बैंकले पटक पटक आग्रह गर्दा पनि भारतले नेपालीहरुसँग भएको पाँच सय र हजारका नोट कसरी साट्ने भन्ने निर्णय दिन नसक्दा त्यसको असर देखिएको हो ।

राजश्व अनुसन्धानमा दुइ करोड भारु

राजश्व छलीदेखि अवैध रुपमा विदेशी मुद्रा अपचलन गर्नेहरु माथि कार्वाही गर्ने निकाय हो राजश्व अनुसन्धान विभाग । त्यसमा पनि भारतीय नोटको अवैध कारोवार नेपालको लागि टाउको दुखाई बन्ने गरेको छ ।

अवैध भारु नियन्त्रणका लागि सरकारले एक जनाले २५ हजार सम्म भारु बोक्न पाउने व्यस्था गरेको छ । २५ हजार भन्दा बढी भारु बोक्नेहरु विदेशी मुद्रा अपचलनको कार्वाहीमा पर्छन ।

तर हिजोआज तिनै अवैध भन्दै जफत भएका पाँच सय र हजारका नोट राजश्व अनुसन्धान विभागकै लागि गलपासो बनेका छन् । विभिन्न अभियोगमा बरामद भएका एक करोड ८९ लाख पाँच र हजार दरका भारु नोट अहिले विभागमा थन्किएको छ ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक निर्मलहरी अधिकारीका अनुसार राजश्व अनुसन्धान विभागले प्रायःजसो नेपालको नियम विपरित प्रयोगमा आएका भारु नोटहरु जफत गरेको छ ।

तर भारतीय सरकारले अचानक पाँच सय र हजारका भारुमा प्रतिबन्ध लगाए पछि राजश्व अनुसन्धान विभागमा भएका पाँच सय हजारका भारु पनि अलपत्र परेको हो ।

‘हामीले हामीसंग भएको भारुको बारेमा अर्थ मन्त्रालय,राष्ट्र बैंक लगायतलाई पटक पटक पत्राचार गरिसकेका छौं । समयमै निर्णय नआउँदा पैसा थन्किएर बसेको छ ‘महानिर्देशक अधिकारीले भने ।

भारतीय सरकारले प्रतिबन्ध लगाउनु भन्दा अघि मुद्धा टुंगिन बाँकी भएको मात्रै एक करोड ६२ लाख पाँच र हजारका भारु नोट विभागमा थियो । प्रतिबन्ध लागे पछि पनि २५ हजार भन्दा बढी भारु बोकेको आरोपमा पक्राउ परेकाहरुको साथबाट ३६ लाख पाँच सय हजार दरका भारु बरामद भएका छन ।

गोरु बेच्नेदेखि गहना किन्नेसम्म

भारत सरकारले अचानक लगाएको प्रतिबन्धका कारण नेपाली मात्रै समस्यामा परेका छैनन भारतबाट भारु बोकेर नेपाल आएका भारतीयहरु समेत पक्राउ परेका छन ।

नोभेम्बर महिना सुरु नहुँदै भारतकी सुसन्ना पुर्तेल छोरीको विवाहको लागि गहना खरिद गर्न नेपाल आइन् । नेपाली डिजाइनको गहना राम्रो हुन्छ भन्दै छोरीको लागि गहना खरिद गर्न पुर्तेल नेपाल आइपुगेकी थिइन ।

उनले न्युरोड क्षेत्रका एक कालीगढलाई नपाली डिजाइनका गहना बनाउन अर्डर पनि दिइन । तर भोलीपल्टै अर्थात नोभेम्बर ९ मा भारतीय सरकारले पाँच सय र हजारका भारुमा प्रतिबन्ध लगायो ।

नोभेम्बर १० मै उनलाई कालीगढले बोलाए । पूर्तेल हतारिँदै पुगिन् । कालीगडले भने-तपाइँ संग नेपाली नोट अथवा भारु सयका नोट छन् भने मात्रै गहना बनाउन सक्छौं ।

उनलाई अपत पर्‍यो । किनकी पाँच लाख भारु त पूर्तेलको साथमा थियो तर पाँच सय र हजार दरका मात्रै । उनी निराश भएर साटन पाउने आशमा सडक बाटो हुँदै भारत फर्किएकी थिइन । कांकडभिट्टाबाट उता जान सकिनन ।

उनलाई सिमामा खटिएका नेपाली सुरक्षाकर्मीले नियन्त्रणमा लिए । नेपालको कानुनले तोकेको भन्दा बढी भारु बाकेर सिमा पार गर्दै गर्दा उनी समातिएकी हुन् र अहिलेसम्म मुद्दा टुंगिएको छैन ।

गोरु बेचेको पैसा पनि गयो

राजश्व अनुसन्धान विभागको काननु शाखामा बिहीबार केही व्यक्तिहरु टहलिरहेका थिए । कानुन शाखाका अधिकृतहरु उनीहरुको बयान लिन व्यस्त थिए ।

बयान दिइरहेकाहरु बुधबार मात्रै पक्राउ परेका हुन ।

उनीहरुलाई दुख दिने पनि त्यही भारु नै थियो । ताप्लेजुङमा गोरु तथा चौपायाको व्यपार गरिरहेका टासी शेर्पा (नाम परिर्वतन ) को कारोवार भारतीय नागरिक संग पनि थियो ।

गोरु, भेँडा, खच्चर लगाएका चौपाय खरिद गर्न भारतीयहरु आउँथे । त्यसरी आउने भारतीयहरु प्रायले भारतीय नोटनै दिएर जान्थे । केही दिन अघि पनि त्यसरी टासीले केही गोरु भारतीय नागरिकलाई विक्रि गरे त्यसबापत आएको २ लाख रुपैंया उनीसंग थियो ।

पाँच सय र हजार दरका नोट बोकेर टासी पैसा साट्न इलाम झरे । इलामको एक पैसा सटही केन्द्रमा भारु साट्न मात्रै के लागेका थिए प्रहरीको फन्दामा परे ।

उनी अहिले राजश्व अनुसन्धान विभागको नियन्त्रणमा छन ।

टासीको बयान लिइरहेका एक अधिकृतले भने-यिनलाई एक त पाँच सय हजारको भारुमा प्रतिबन्ध लागेको पनि थाहा रहेनछ , अर्को २५ हजार भन्दा बढी भारु बोक्न पाइँदैन । पैसा र गोरु मात्रै गएन कार्वाहीमा पर्ने भए ‘।

प्रतिबन्ध पछि मात्रै १० जना समातिए

भारतीय सरकारले पाँच सय हजारको भारुमा रोक लगाए पछि मात्रै तोकिएको भन्दा बढी भारु बोकेको अरोपमा १० जना पक्राउ परिसकेका छन ।

विभागका एक अनुसन्धान अधिकृतले भने-कति सोझा नेपालीहरुलाई भारुमा प्रतिबन्ध लागेको नै थाहा छैन । उनीहरुनै फसेका छन् ।

नेपालमा आउने कतिपय भारतीय नागरिकहरुलाई नेपालमा कति सम्म भारु बोक्न पाइन्छ भन्ने थाहा नभएको विभागका अधिकृतहरु बताउँछन । कतिपय फटाहाहरुले सोझा नेपालीहरुलाई व्यापारको नाममा रोक लगाएको पाँच सय र हजारका भारु भिडाएर जाने गरेको पनि भेटिएका छन । तिनै नेपालीहरु नियम भन्दा बढी भारु बोकेको अरोपमा पक्राउ पर्ने गरेका छन ।

त्यसरी पक्राउ परेकाहरुलाई विदेशी मुद्रा अपचलनको अरोपमा कार्वाही हुने गरेको छ । अवैध रुपमा प्रयोग भैरहेको विदेशी मुद्रा सहित पक्राउ परेकाहरुलाई विगो बमोजिमको जरिवाना अथवा तिन गुणा सम्म थप जरिवाना गराउन सकिने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?