Comments Add Comment

चारबुँदे सहमतिसँगै विकास तिवारीले अनसन तोडे

२५  मंसिर, सप्तरी । राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल सुधारको माग राख्दै १८ दिनदेखि अनसनरत विकास तिवारीले अनसन तोडेका छन् ।

स्वास्थ्य मन्त्री गगन थापाले सबै माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि तिवारीले अनसन तोडेका हुन् । उनलाई पोषण पुर्नस्थापना केन्द्रमा भर्ना भएकी सप्तरीको कोचाबखारी गाविस ५ लोखरम टोल निवासी १४ बषर्ीया कुपोषित बालिका निलमकुमारी मण्डलले जुस खुवाएकी थिइन् ।

त्यसअघि स्वास्थ्यमन्त्री थापाको उपस्थितिमा भएको वार्तामा चारबुँदे सहमति भएको छ । सहमतिमा स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेल र तिबारीको वार्ता टोली सदस्यले हस्ताक्षर गरेका छन् ।

के-के भयो सहमति ?

स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र तिबारीका वार्ता टोलीबीच चारबुँदे सहमति भएको छ । अस्पताल प्राङ्गणमा विगतदेखि निर्माणाधीन अवस्थामा रहेको प्रसुति गृह लापरबाहीपूर्ण रुपमा रहकाले यसको निर्माण कार्य अबिलम्ब पूरा गरी सेवा प्रवाह गर्ने सहमति भएको छ ।

यसका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गरी १५ दिनभित्र कार्य प्रारम्भ गराउनेछ । यस्तै अस्पतालमा बाल रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ लगायत सम्पूर्ण विशेषज्ञ चिकित्सकको पूर्ती एक महिनाभित्र गरिने, अस्पतालका लागि खरीद गर्नुपर्ने डाइलासिस, सर्जरीका उपकरण, डिजिटल एक्सरे, एनालाइजर लगायतका सबै उपकरणहरु खरीद गरिने कार्यमा मन्त्रालयबाट सहजीकरण गरी अबिलम्ब सुविधा सम्पन्न बनाउने सहमति भएको छ ।

आर्थिक बर्ष २०७२/०७३ को विकास र साधारण शिर्षकको बजेट तथा जिन्सी सामग्रीहरुको विवरण सूचना उपलब्ध गराउने -स्वास्थ्य सेवा विभाग सम्बन्धनको) मागको सम्बन्धमा सात दिनभित्र कार्यान्वयन गर्ने, अस्पतालमा भएको भ्रष्टाचार लगायत अस्पतालको स्तरोन्नती र विशेषज्ञ अस्पतालको प्याकेजको रुपमा विकास गर्न सात दिनभित्र प्रमुख विशेषज्ञको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको छ ।

समितिले एक महिनामा जाँचबुझ कार्य पूरा गरी दिएको प्रतिवेदन अनुसारको आवश्यक कार्वाही र तत्कालै गर्नुपर्ने कार्यको कार्यान्वयन गर्ने र दिर्घकालिन रुपमा गर्नुपर्ने कार्यहरुलाई योजना बनाई कार्यान्वयन गरिनेछ ।

अस्पतालको सरसफाई, बेड, बिरामीको खाना, कर्मचारीको उपस्थिति, बिरामीले पाउने औषधी र अस्पतालले प्रदान गर्ने अन्य सेवा, सुविधाहरुको बारेमा जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृतस्तरको कर्मचारीले हप्तामा एक पटक अनुगमन गरी मन्त्रालयलाई प्रतिवेदन पठाउने र त्यस अनुसार मन्त्रालयले समस्याको समाधान गर्न सकृय भूमिका निर्वाह गर्ने सहमति पनि भएको छ ।

अस्पतालका तर्फबाट प्रदान गरिने बिरामीको खाना, नास्ता, फलफूल तथा बिरामीले पाउने औषधिहरुको विवरण लगायतका सेवा सम्बन्धमा पाँच वटा नागरिक वडा पत्र बनाएर अस्पताल परिसरमा सबैले देख्ने ठाउँमा राख्ने सहमति पनि भएको छ ।

चिकित्सक १५ दिनमा आउँछ: मन्त्री थापा

तिबारीको अनसन तोडिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री थापाले १५ दिनभित्र यस अस्पतालमा चिकित्सक पठाउने प्रतिबद्वता व्यक्त गरेका छन् ।

उनले मुलुकभरमै चिकित्सक दरबन्दीको अभाव रहेको बताउँदै करारमा भएपनि १ सय ८० जना चिकित्सकको चयन भइसकेको बताउँदै यहाँ पहिले चिकित्सक पठाउने बताए । उनले आफू गएको अस्पतालमध्ये राजविराजको अञ्चल अस्पतालको अवस्था एकदमै दयनीय रहेको पाइएको बताउँदै आफूले यो अस्पतालका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

चिकित्सकहरु काठमाडौं बाहिर जान नचाहेको उल्लेख गर्दै्र उनले भने, ‘जसरी पनि चिकित्सकलाई यहाँ पठाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment