२७ मंसिर, काठमाडौं । बाबुआमासँगै जेल जीवन बिताउन बाध्य बालबालिकाहरुलाई उद्धार गरी तिनीहरुको शिक्षादीक्षा दिने काममा सक्रिय पुष्पा बस्नेत ‘सीएनएन सुपर हिरो’बाट सम्मानित भएकी छन् । बस्नेत यसअघि सन् २०१२ मा सीएनएन हिरोबाट सम्मानित भएकी थिइन् ।
सीएनएन हिरो भएपछि पुष्पा र उनको समाज सेवाले नेपालमा मात्र होइन, विश्वमा नै चर्चा पायो । यसले उनलाई नेम, फेम सबै दियो । पुष्पालाई समाज सेवाको काम गर्न पनि सहज भयो ।
उनलाई यो राम्रोसँग थाहा छ कि आज जुन ठाउँमा आइपुग्न १० वर्ष लाग्यो, त्यो ठाउँबाट र्झन १० सकेण्ड पनि लाग्दैन । त्यसैले उनी भन्छिन्, ‘मैले मेरो प्लेटमा जति खान सक्छु, त्यतिमात्र खान्छु । धेरै खाएर वान्ता गर्न चाहन्न ।’
सीएनएन सुपर हिरो बन्न सफल पुष्पा को हुन् ? किन उनी पुरस्कृत भइन् ? आउनुहोस् उनलाई नजिकबाट चिनौं ।
१.जेलबाट बालबालिकाको उद्धार
जेलमा बस्न बाध्य बालबालिकालाई उद्धार गरेर शिक्षा दीक्षा दिने कार्यमा उनी सक्रिय छिन् । उद्धार गरिएका बालबालिकाहरुलाई राख्न उनले १० वर्षअघि प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर स्थापना गरिन् । बाबु-आमासँगै जेल जीबन बिताउन बाध्य बालबालिकाहरुलाई उद्धार गरेर उनले त्यहीँ राख्दथिन् । घर र कार्यालय भाडामा चलाउँथिन् ।
तर, भाडामा लिएका घरमा बच्चाहरु खेल्ने खुल्ला ठाउँको अभाव हुन्थ्यो भने कहीँ शौचालयको समस्या पनि भयो ।
२. अविवाहित आमा
पुष्पा बस्नेत अविवाहित छिन् । तर, उनले जेलबाट उद्धार गरेका बालबालिकाहरुलाई छोरा-छोरी सरह माया ममतामा हुर्कारहेकी छन् । बालबालिकाहरु उनलाई मामू (आमा) भनेर बोलाउँछन् ।
सपनाको राजकुमार भने उनले फेला पारेकी छैनन् । आखिर जीबनसाथी कस्तो होस् भन्ने चाहान्छिन् त उनी ? पुष्पा भन्छिन्, ‘मैले विवाह गर्ने भनेको केटा कस्तो होस् भने मलाई मेरो काम गर्न दिनुपर्छ । मेरो लाइफ आफ्नो तरिकाले बिताउन दिनुपर्छ । भोलि मेरो पखेटा काट्न नपरोस् ।’
उनले अघि भनिन्, ‘भोलि विवाह गरेपछि मैले गर्नुपर्ने भूमिकाहरु होलान्, तर अरुलाई खसी बनाउन म मेरो यो लाइफ त्याग्न सक्दिँन ।’
३. बिजनेस म्यानकी छोरी
पुष्पा बस्नेतको बुवाको हाइड्रो बिजनेश छ । बुबाले स्वतन्त्र छाडिदिएकाले नै समाजसेवामा सक्रिय हुन सकेको र यो ठाउँसम्म आउन सफल भएको उनी बताउँछिन् ।
उनले एक समय अनलाइनखबरसँग कुरा गर्दै समाजसेवाको काममा नेतृत्व हस्तान्तरण गर्ने र बुवाको बिजनेश सम्हाल्ने योजना सुनाएकी थिइन् । ‘बाबुआमाको उमेर ढल्किँदै गएकाले पनि मलाई त्यो जिम्मेवारी सम्हाल्नुपर्ने दबाव छ,’ उनले भनेकी थिइन्, ‘बुवाको बिजनेश सम्हाल्न पाए मसँगै बस्दै आएका छोराछोरीलाई पनि सहयोग पुग्ने थियो । मेरा केही छोरीहरु बिजनेश गर्न चाहन्छन् । अरु ठाउँमा पठाउँदा उनीहरु सुरक्षित छन् कि छैनन् भनेर हेर्नुपर्छ । भोलि उनीहरुलाई केही भयो भने मैले जीन्दगीमा आफूलाई माफ गर्न सक्दिँन ।’
४. सफलताको श्रेय बालबालिकालाई
बस्नेत १० वर्षसम्म आफूले पाएको सफलता र गरेको समाजसेवाको श्रेय तिनै बालबालिकाहरुलाई दिन्छिन् । ‘पुष्पा बस्नेत भनेको केही पनि होइन, उनीहरु छन् र पो म भएँ । उनीहरु नभएको भए म हुँदै हुने थिइँन,’ उनी भन्छिन् ।
५. जेलमा ‘डे केयर’
पुष्पाले काठमाडौंको सुन्धारा जेलमा ‘डे केयर’ चलाउँछिन् । बालबालिकाहरु विहान जेलबाट निस्किएर पढ्छन् र फेरि जेलमा जान्छन् । जो जेलबाट रिहा भएर घर फर्किएका छन् तिनीहरुको छात्रवृत्तिमा सहयोग गर्छिन् । ग्लास वाटर फाउण्डेसन र शिक्षा फाउण्डेसन नेपालले पुष्पालाई सहयोग गर्दै आएका छन् ।
अहिलेसम्म बुबाआमा जेलबाट छुटेपछि १०० भन्दा बढी बालबालिका पुष्पासँग छुट्टएिर गइसके । आमाबुबा जेलबाट छुटेपछि उनीहरुले नयाँ जीवन सुरुवात गर्न चाहन्छन् र जसलाई पुष्पा सम्मान गर्छिन् । ‘म भेट्न जान पनि गाह्रो हुन्छ । भेट्न जाँदा मान्छेहरुले चिन्छन् । पुष्पा बस्नेत आएकी रहिछन् के जेल परेको हो भन्न सक्छन्,’ उनी भन्छिन्, ‘लामो समय आफूले हुर्काएको छोराछोरीलाई भेट्न नपाउँदा उनलाई नमीठो लाग्छ ।’
६. चपलीमा सपनाको घर
प्रारम्भिक बाल बिकास केन्द्र र पुतली घरमा ठाउँ अभाव हुने भएकाले जेलबाट उद्धार गरिएका बालबालिकाहरुको संरक्षणमा बिभिन्न समस्या थियो । उनलाई आफ्नै घरको आवश्यकता महसुस भयो । तर रकम थिएन । सन् २०१२ मा सीएनएन हिरोको उपाधि जितेपछि पाएको रकमबाट ५ रोपनी छ आना जग्गा किनिन् । र आफ्नो जीबनबारे बनेको वृत्तचित्रबाट उठेको रकम उनले नमूना घर बनाउन खर्चिन् । नमूना घर काठमाडौंको चपलीहाइटमा छ । एक समय थियो, पुष्पा बस्नेतलाई ७ हजार भाडा तिर्न पनि हम्मेहम्मे हुन्थ्यो । अहिले ६ करोड खर्च लागतमा सपनाको घर तयार भएको छ ।
७. र, ‘वेटिङ फर मामु’
सीएनएन हिरो बन्नुअघि नै पुष्पा र उनको समाजसेवाबारे ‘वेटिङ फर मामु’ नामको वृत्तचित्र बनेको थियो । पुष्पा सीएनएन हिरो बनेपछि यो वृत्तचित्रले आधा दर्जन अन्तराष्ट्रिय पुस्कार जितिसकेको छ । ‘आजसम्म जति पैसा उठेको छ, त्यो वृत्तचित्रले गर्दा उठेको छ,’ उनी भन्छिन्, ‘निर्देशक थोमस मोर्गनले वृत्तचित्र बनाएर संस्थाको लाइफ नै चेन्ज गरिदिए ।’
वृत्तचित्रको रकम पनि उनले सपनाको घर बनाउन खर्चिइन् । सीएनएन हिरो भएपछि धेरै परिवर्तन भए । तर, देखिने गरी भएको एउटा परिर्वतन हो, पुष्पाको सपनाको घर । हाल उनले त्यही सपनाको घरमा बालबालिकाहरुलाई राख्ने गरेकी छन् । उनले बालकहरुलाई ‘छोरा’ र बालिकाहरुलाई ‘छोरी’ भन्छिन् ।
बालबालिकाहरुले पनि पुष्पालाई ‘मामु’ (आमा) भनेर बोलाउँछन् । छोरा र छोरीहरुलाई अलग-अलग स्थानमा राख्ने प्रवन्ध मिलाइएको छ ।
प्रतिक्रिया 4